एसियाली खेलकुद : फुटबलमा नेपाल पाकिस्तानसँग पनि पराजित

August 19, 2018

१८ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत फुटबल खेलमा नेपालको २३ वर्षमुनिको टिम पाकिस्तानको २३ वर्षमुनिको टिमसँग २(१ ले पराजित भएको छ ।

इन्डोनेसियाको प्याट्रिओट चन्दबागा रंगशालामा खेलको १२ औं मिनेटमा नै आत्मघाती गोल उपहार पाएर अग्रता बनाएको नेपालले दोस्रो हाफमा अग्रता जोगाउन सकेन । पाकिस्तानका लागि खेलको ५४ औं मिनेटमा बिलाल मुहम्मदले गोल गरेर बराबरी बनाएका थिए । ७२ औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै सद्दाम हुसैनले विजयी गोल गरे ।

पहिलो हाफमा पाकिस्तानलाई दबावमा राखेको नेपालले दोस्रो हाफमा सामान्य गल्ती गर्दा पराजित हुनुपर्‍यो ।

६८ प्रतिशत समय बलमा नियन्त्रण राखेपनि नेपालले गोल गर्न सकेन । खेलमा नेपालले १५ प्रहार गरेकोमा ४ प्रहार पोस्टको दिशामा थियो । पाकिस्तानले प्रहार गरेका १२ प्रहारमा ५ प्रहार पोस्टको दिशामा रहेको थियो ।

आइतबार नेपालको गोलको खडेरी ३६ वर्षपछि तोडिए पनि नेपाली खेलाडीले आफ्नै नाममा गोल लेखाउन भने सकेनन् ।

सन् १९८२ को एसियाली खेलकुदका बेला गोल गरेपछि नेपालले गोल गर्न सकेको छैन । त्यसबेला पहिलो खेलमा वाईबी घलेले कुवेतविरुद्ध गोल गरेका थिए । अहिलेसम्म एसियाली खेलकुदमा नेपालले खेलेका १८ खेलमा ७० गोल खाइसकेको छ ।

यसअघि पहिलो खेलमा जापानसँग १(० ले हारेको नेपाल दोस्रो खेलमा भियतनामसँग २(० ले हारेको थियो ।

पाकिस्तानसँगको हारपछि समूह ‘डी’ मा रहेको नेपाल अंक तालिकाको पुछारमा रहेको छ ।