बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न सडक सुशासन अभियान

September 14, 2018

विराटनगर । प्रदेश सरकारले ६ वटा जिल्लामा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न सडक सुशासन अभियान सञ्चालन गर्ने भएको छ । ६ वटा जिल्लामा राजमार्गको १०–१० किलोमिटर क्षेत्रमा सडक सुशासन अभियान सञ्चालन गर्ने भएको हो । प्रदेश १ मा करिब ६ हजार किलोमिटर सडक छ । कुल सडकको १ प्रतिशत क्षेत्रमा प्रदेश सरकारले पहिलो पटक नमूना सडक सशासन अभियान लागू गर्ने तयारी थालेको हो ।


अभियान अन्तरगत मोरङ–सुनसरी सीमा बुढीखोलापूर्व सुन्दरहरैंचादेखि खोर्साने चोकसम्म, सुनसरीको इटहरी बूढीखोला चोकदेखि पश्चिममा झुम्कासम्म, झापा बिर्तामोडको मुक्ति चोकदेखि पश्चिम सुरूङ्गा माईखोला पुलसम्मको क्षेत्रलाई नमूना सडक सुशासन अभियान सञ्चालन गरिने छ ।


त्यस्तै इलामको किटेनी जोरकलसदेखि हर्कटेसम्म, धनुकटाको पात्लेखोलादेखि कागते चोकसम्म र उदयपुर गाईघाट बजारदेखि जलजले ढाटसम्को १०–१० किलोमिटर क्षेत्रमा नमूना सडक सुशासन कार्यक्रम सञ्चालन गरिने भएको हो ।


प्रदेश सरकारले सडक सुशासन अभियान सञ्चालन गर्दा १० किलोमिटरभित्र पर्ने बजारलाई नमूना शहर पनि गर्ने भएको छ । सुनसरीको इटहरी, मोरङको विराटनगर र विराटचोक, झापाको लक्ष्मीपुर र बिर्तामोड, इलामको इलाम बजार, धनकुटाको भेडेटार र उदयपुरको गाइघाट बजारलाई नमूना शहर निर्माण गर्ने योजना अघि सारेको हो ।


प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई केन्द्र सरकारमा रहेका बेला सडक सुशासन अभियान सञ्चालन गर्ने योजना अघि सारेका थिए । केन्द्र सरकारमा रहँदा अघि सारेको योजनालाई प्रदेश सरकारले नमूना कार्यक्रम अन्तर अभियान सञ्चालन गर्न लागेको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए । तीन महिनाभित्र कार्ययोजना तयार पारेर सुशासन अभियानको कार्यको प्रारम्भ हुने बताउँदै उनले सुशासन अभियान निरन्तर बिस्तार गर्दै लैजाने बताए ।


नमूना सडक सुशासन अभियान सञ्चालनका लागि २३ वटा सूचकहरू तोकिएका छन् । सडक अतिक्रमण हटाउने, पार्किङ व्यावस्थापन गर्ने, छाडा चौपायको नियन्त्रण, फोहोरमैला व्यवस्थापन, जेब्राक्रस निर्माण, ट्राफिक संकेत बोर्ड निर्माण, सीसीटीभीको ब्यवस्था, फुटपाथको निर्माण आकाशेपूल निर्माण लगायतका सूचकहरू छन् ।


बिहीबार आयोजित सडक सुशाशन अभियान तथा सुरक्षा बिषयक प्रदेशस्तरीय एक दिवसीय अभिमुखीकरणको उद्घाटन गर्दै मुख्यमन्त्री शेरधन राईले सडक सशासन अभियानलाई जनताले महशुस गर्ने गरी सञ्चालन हुने बताए ।


सडक दुर्घटनामा मृत्युहुनेहरूको संख्या बढेप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री राईले सडक दुर्घटना न्यूनीकरण गर्दै जनतालाई सुशासनको अनुभति दिनेगरी अभियानमा केन्द्रित हुन सबै क्षेत्रसँग सहकार्य गरिने बताए । सडक सुशासन अभियान आफ्नो चासोको बिषय रहेको बताउँदै मुख्यमन्त्री राईले अभियान जनताले सुशासनको अनुभूति गर्ने गरी सञ्चालन हुने बताए ।


कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव केदार न्यैपानेले बढ्दो दुर्घटना न्यूनीकरणका लागि पनि नमूना सडक सुशासन अभियान सञ्चालन गरिएको बताए । कार्यपत्र प्रस्तुत गर्दै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार कोइरालाले सडक सुशासन कायम राख्न सबैको सहयोग आवश्यक रहेको बताएका थिए ।


 


प्रदेशसभा सदस्यको अघोषित बहिस्कार


प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको सडक सुशासन सम्बन्धी अभिमुखीकरणमा कार्यक्रम सञ्चालन हुने स्थानीय तहका प्रमुख तथा प्रदेश सभासदहरूलाई बोलाइएको थियो ।


कार्यक्रम सञ्चालन हुँदा पाँच जना प्रदेशसभा सदस्यहरू पनि पुगेका थिए । कार्यक्रम सञ्चालकले प्रदेश सांसदहरूलाई मञ्चमा बोलाएनन् । तर विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलाई भने बोलाए ।


मेयरलाई मञ्चमा बोलाएपछि प्रदेशसभा सदस्यहरू रूष्ट बनेर कार्यक्रम छाडेर निस्किएका थिए । कार्यक्रममा सहभागिता जनाएका प्रदेशसभा सदस्य निरन राई, राजकुमार ओझा, एकराज कार्की, बुद्धिकुमार राजभण्डारी र हिराकुमार थापाले कार्यक्रम सञ्चालन भैरहेको बेला बाहिरिएका थिए । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको कार्यक्रम बहिस्कार गर्ने पाँच सांसद सत्तापक्षकै हुन् ।


अभिमुखीकरण कार्यक्रमको अध्यक्षता समेत गरेका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेशसभा सदस्यहरूले छाडेपछि समापन मन्तब्य राख्ने बेला प्राविधिक त्रुटी भएको भन्दै क्षमा मागेका थिए ।