फुटशलको उपाधि निर्मल सिद्धार्थको पोल्टामा

September 04, 2018

उर्लाबारीः मोरङको उर्लाबारी फुटसलमा मंगलबार सम्पन्न विद्यालय स्तरीय फुटशल प्रतियोगिताको उपाधि निर्मल सिद्धार्थ बोर्डिङ स्कुल, मधुमल्लाले हात पारेकोे छ । न्यू अलस्टार फुटबल क्लब उर्लाबारीको आयोजनामा भएको उक्त प्रतियोगिताको फाइनलमा उर्लाबारीको पशुपति आमाबिलाई १०–१ गोल अन्तरले पराजित गर्दै निर्मल सिदार्थले उपाधि जितेको हो । उपाधिसँगै निर्मल सिद्धार्थले १० हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र हात पार्यो भने उपविजेता पशुपतिले ५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझायो । त्यस्तै, तेस्रो भने सनसाइन बोर्डिङ स्कुल भयो । खेलको सर्वोत्कृष्ट खेलाडी निर्मल सिद्धार्थका रोहन चौधरी भए । त्यस्तै सोही विद्यालयका सागर बस्नेत उत्कृष्ट गोलकिपर घोषित भए । त्यस्तै, पशुपतिका अर्जुन लुईटेल हाईस्कोर भए भने सोही विद्यालयका रविन मगर म्यान अफ दी म्याच भए । उर्लाबारी–४ स्थित उर्लाबारी फुटशलमा भएको उक्त प्रतियोगितामा पूर्वी मोरङका १२ वटा विद्यालयहरुको सहभागिता रहेको आयोजकका अध्यक्ष रविनकुमार थापा मगरले बताए । फाइनलका विजेताहरुलाई नगरपालिकाका मेयर खड्ग फागो, महिला नेतृ सीता कार्की, उर्लाबारी वडा नं. ५ का वडाध्यक्ष भानु पराजुली लगायतले पुरस्कार वितरण गरेका थिए ।