कोशी ब्यारेज उच्च जोखिममा, प्राविधिक जाँच र मर्मत सम्भार भएन

September 06, 2018

सुनसरी (इटहरी), २१ भदौ

कोशी ब्यारेज पुलको आयु सकिएको भएपनि प्राविधिक जाँच र मर्मत सम्भार नहुँदा उच्च जोखिम बढेको छ । 

५६ वर्ष अघि निर्माण भएको कोशी ब्यारेजको आयु सकिएको छ । नेपालको सुनसरी र सप्तरी जिल्लामा पर्ने यो ब्यारेज पूर्णतया भारतको नियन्त्रणमा छ । भारततर्फ पानी लगिएको च्यानलको नियमित सरसफाइ गरिन्छ । तर, यो ब्यारेजको जीर्णाेदार र सफाइमा भने खासै वास्ता गरिदैन । हाल ब्यारेजका विभिन्न ढोका छेउमा बर, पिपिल र अन्य रूखविरूवा र झारपात उम्रिएका छन् । यि झार जंगलले ब्यारेज कमजोर बनाइरहँदा पनि जिम्मेवार पक्षले ध्यान दिएको पाइएको छैन् । भूकम्पले समेत असर गरेपनि अझै प्राविधिक जाँच र मर्मतमा ध्यान नदिएकोमा स्थानीय आक्रोसित समेत छन् ।

सप्तकोशी ब्यारेज पुल भारतको कोलकतास्थित जोसेफ एण्ड कम्पनी लिमिटेडले १० बर्ष लगाएर सन् १९६२ मा निर्माण सम्पन्न गरेको हो । ५० बर्ष तोकिएको पुलको आयु सकिएको केही बर्ष वितिसकेको छ । कोसी ब्यारेजको रेखदेखसँगै मर्मत सहितका सम्पुर्ण जिम्मेवारी भारत सरकारको भएपनि सिमा क्षेत्रमा भारतले अर्काे पुल निर्माण गरिरहेकाले कोशी पुलको मर्मतमा चासो नदिएको आरोप छ । आयु पनि सकिएको र भूकम्पले समेत असर गरेको हुनाले पुलको प्राविधिक जाँच हुनुपर्ने भएपनि हालसम्म नभएको स्थानिय ओमप्रकाश माझीले बताएका छन् ।

भारतिय प्राविधिकहरुले कहिलेकाँहि कोसी ब्यारेजको माथिल्लो संरचनामा सामान्य मर्मत गर्ने गरेपनि तल्लो संरचनाको मर्मत हालसम्म गरिएको छैन । भूकम्पपछि कोशी पुलको पिल्लरहरुमा सामान्य चिरा देखिएको छ भने भित्री भागमा पनि समस्या रहेको अनुमान गरीएको छ । तर मर्मत संभारमा ध्यान नदिदा पूल जीर्ण बन्दै गएको छ भने एक हजार एक सय ४९ मिटर लम्बाई रहेको पुलको तल्लो भागमा वारीदेखि पारीसम्म पिपलका बिरुवाहरु उम्रिएका छन् । पिपलको बोट अत्यधिक मजबुत हुने भएकाकोले त्यसका शिराहरुले संरचनामा असर गर्ने जानकारहरु बताउछन् । पूर्व पश्चिम राजमार्गको एक मात्र विकल्प कोशी पुलमा कुनै समस्या आए पूर्वपश्चिम यातायात पूर्ण रुपमा अबरुद्ध हुन्छ । यसले ठूलो क्षति हुने भएकाले समयमै अनुगमन गरी मर्मतमा ध्यान दिन आवश्यक रहेको स्थानिय राजाराम मण्डलले बताएका छन् छ ।

सन् १९६४ देखि पूर्ण रुपमा सुरु भएको कोसी ब्यारेज पुलमा सुनसरीतर्फ २८ र सप्तरीतर्फ २८ गरी कुल ५६ वटा ढोका छन् । नौ लाख ५० हजार क्यूसेक पानीको बहाब धान्न सक्ने क्षमता भएपनि पछिल्लो समय नदिको सतहमा बालुका थुप्रिएका तीन लाख भन्दा बढी पानीको बहाब खतरा हुने प्राविधिकहरुले बताएका छन् । वि.स. २०६५ साल भदौ २ गते सप्तकोशी नदिले पुर्वी तटबन्ध भत्काउदा समेत पूर्व पश्चिम राजमार्ग लामो समय अवरुद्ध भएको थियो । कोशी पुलमै असर गरे अवस्था अझ भयावय हुनसक्छ । त्यसैले नेपाल सरकारले पुलको जोखिमप्रति गम्भीर बन्दै भारतलाई समयमै जिम्मेवार बनाएर पुलको प्राविधिक जाँच र मर्मत संभारमा ध्यान दिन आवश्यक देखिएको छ ।