मेघा फेशनमा सुनिए सोताङ दम्पति

September 02, 2018

हरेक समयको कालखण्डमा नयाँ नयाँ युगको शुरुवात नयाँ चिजबाटै सुरु हुने गर्दछ । यसै सिलसिलामा फेशन शो पनि एउटा अभिन्न अंगको रुपमा विस्तारित हुँदैछ । युगको आवश्यकता अनुरुप झन् झन् अपरिहार्य बन्दै गइरहको छ ।

यसै परिस्थितिलाई मध्ये नजर गर्दै उर्लाबारी क्लबले शनिबार साँझ स्थानीय पार्टी प्यालेसमा मेगा फेशन शो तथा साँगीतिक कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । दम्पतिसमेत रहेका चर्चित गायक÷गायिका उदय सोताङ र मनिला सोताङको प्रेमिल गीतसँगै पूर्वका मोडल र्याम्पमा उत्रिएका थिए । मोडलहरुले र्याम्पमा धुवाँधार फेशन–शो प्रतिभा छोडेका थिए । फेशन शो मोडलहरुले पहिरिएका फेशनेवल पहिरनहरु भने उर्लाबारीको अबिस बुटिकका सञ्चालिका उर्मिला राईले तयार पारेकी हुन् । सिल्क, पार्टीवेयर, क्याजुयल, समर मोहक डिजाइनमा मोडलहरुले दर्शकहरुको सामु रोमाञ्चक ढंगले आक्रामक क्याटवाक फेशन–शो प्रस्तुति दिएका थिए । कार्यक्रममा 

रैथाने युवायुवती र वयस्कले भरपुर कर्णप्रिय गीतमा झुम्न भ्याए, उदय सोताङ र मनिला सोताङका साथमा । उदय–मनिला र उर्लाबारीका स्रोताबीच सम्बन्ध गासिदिएको थियो, उर्लाबारी क्लबले । फेशन शोको उन्मादिलो स्वागतमा उदय र मनिलाले आफ्ना चर्चित गीतहरुले आगन्तुकलाई लठ्याउन भ्याए । ‘आधि बाटो हिंडेपछि, तिमी संग भेट भयो’, ‘तिमी विना बाँच्नै गाह्रो भो’, ‘उकाली चढौला, ओराली झरौला, तिम्रै लागि हो भने’,लगायत गीतमा उदयले भाका हालेर गाइरहँदा मनिलाले साथ दिइरहिन् मन्द मन्द मुस्कान छर्दै, घरि घरि नजर जुदाउँदै । भर्खर प्रेमको दुनियाँमा प्रबेश गर्ने जोडि जस्तै भएर उनीहरुले आगन्तुकलाई आकर्षित गरिरहे । यस्तै, नेपालीजनमा धेरै सुनिएका ‘छिन् छिन्मा हाँस्न मन लाग्छ’, ‘माया नमार’, ‘आज तिम्रो कुरा चल्यो’, ‘भिज्यो सिरानी रातमा’ जस्ता गीतहरुले पनि धेरैलाई लोभ्यायो । कार्यक्रममा स्थानीय अलराउण्डर र फेन्सिप डान्स सेन्टरका दर्जन कलाकारहरुले आकर्षक नृत्य प्रदर्शन गरेका थिए । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा क्लबका अध्यक्ष दिनेश श्रेष्ठको सभापतित्व रहेको थियो ।