यस्ता छन्, मिस उर्लाबारीका प्रतिष्पर्धी

August 30, 2018

कला र संस्कृतिको माध्यमबाट उर्लाबारी नगरलाई परिचित गराउने उद्देश्यले सेन्ट्रल फेशन हब र अलराउण्ड डान्स सेन्टर उर्लाबारीको संयुक्त आयोजनामा ‘मिस उर्लाबारी’ दोस्रो संस्करण गरिएको छ । उर्लाबारी नगरपालिकाको सहयोगमा गरिने उक्त प्रतियोगितामा उर्लाबारी क्षेत्रका १२ जना युवतीहरु छनौट भई बन्द प्रशिक्षणमा रहेको छन् । बन्द प्रशिक्षणमा रहेका युवतीहरुलाई कोरियोग्राफर प्रमिशा बज्रचार्यले सहजीकरण गरिरहेकी छन् ।

व्यक्तित्व विकास र युवतीहरुमा लुकेर रहेको प्रतिभाको प्रस्फुटन गर्नका लागि मिस उर्लाबारी दोस्रो संस्करण आयोजकका सह–संयोजक राजीव दियालीले बताए । भदौं २३ गते शनिबार उर्लाबारी पार्टी प्यालेसमा बृहत कार्यक्रमका बीच फाइनल राउण्ड हुने जनाएको छ । प्रतियोगिताको विजेतालाई नगद ५० हजार, विभिन्न छात्रवृत्तिसहित आकर्षण पुरस्कार प्रदान गरिने छ । त्यस्तै, फष्ट रनरअप र सेकेन्ड रनरअपलाई क्रमशः नगद ३० र २० हजारसहित छात्रवृत्ति र आकर्षण पुरस्कार प्रदान गरिने छ । साथै मिस उर्लाबारीलाई मिस पूर्वाञ्चलमा स्वतः सहभागिता गराइने छ ।