कस्ती निर्दय आमा,आफ्नै नावालक छोराको हत्या

September 06, 2018

उर्लाबारी (मोरङ)

आमाले आफ्नै सन्तानको हत्या गर्छिन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ, तर मोरङमा यस्तै घटना भएको छ । मोरङको कानेपोखरी गाउँपालिका – ५ की २३ वर्षीय कल्पना दर्जीले आफ्नै नावालक छोराको हत्या गरेकी छिन् । कल्पनाले आफ्नै ६ बर्षीय छोरा रेशमको खोलामा धकेलेर हत्या गरेकी हुन् । कल्पना आइतबार बिहान माइत जान भन्दै ६ वर्षीय छोरा रेशमलाई लिएर निस्केकी थिइन् । रमाइलोस्थित उनको माइती घर पुग्न त्यहाँको चिसाङ खोला तर्नै पर्छ । अलिकति हिँड्दा खोला तर्नलाई पुल भेटिन्छ । तर, मन भित्र पाप चिताएकी उनले नाबालक छोरालाई पुलको बाटो प्रयोग नगरिकन खोलाबाटै लिएर गइन् ।

खोला तरिसकेपछि उनले छोरा रेशमलाई बाढी आउँदै गरेको सानो चिसाङ खोलामै धकेलिदिइन् । बालकलाई खोलाले बगायो । त्यसपछि माइत पुगेर छोरालाई तर्ने क्रममा खोलाले बगाएको सुनाइन् । नाबालकको खोजीमा निस्किएका माइती पक्षले शंका गरेर केरकार गरे । अन्तत कल्पना आफैँले छोरालाई खोलामा धकेलेको स्वीकार गरिन् ।

खोलाले बगाएर मृत्यु भएका बालकको शव घटनास्थलबाट एक सय मिटर तल अल्झिएको अवस्थामा इलाका प्रहरी कार्यालय पथरीको टोलीले थियो । पति श्याम दर्जीले किटानी जाहेरी दिएपछि प्रहरीले कल्पनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए । कल्पनाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन जिल्ला अदालत मोरङबाट म्याद थप भएको छ । अदालतबाट म्याद थप भएसँगै कल्पनामाथि अनुसन्धान अगाडि बढाएको प्रहरी जनाएको छ ।