सङ्ख्या बढाउन मात्रै फिल्ममा साइन गर्दिनँ-अभिनेत्रीको सिर्जना सुब्बा

September 05, 2018

काठमाडौं । मेनस्ट्रिमका अन्य ग्ल्यामरस अभिनेत्रीहरूलाई छायाँमा पार्दै कामना फिल्मस् अवार्डले हरेक वर्ष प्रदान गर्दै आएको सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् सिर्जना सुब्बाले । उनलाई देख्नेले अचम्म मान्न सक्छन् कि यिनै हुन् त यसपालिको सर्वोत्कृष्ट अभिनेत्री ? हुन पनि हो, उनीसँग एउटा नायिका हुनुपर्ने वा सामान्य मान्छेले एउटी नायिकामा खोज्ने कुनै गुणहरू नै देख्दैनन् । न त अरू नायिका जत्तिको सुन्दर नै छिन् । भनेपछि एउटा प्रश्न उब्जिन्छ – के नायिका हुनलाई सेक्सी फिगर र उत्तेजक हाउभाउ नै चाहिन्छ त ? यी सब प्रश्नको एउटा सग्लो उत्तर बनेकी छन्, सृजना सुब्बा । र नेपाली चलचित्रमा स्थापित मानक पनि भात्काइरहेकी छन् ।


अवार्ड जित्दाको अनुभव

उनी कार्यक्रम भएको बेला बाहिर थिइन् । हाङकङमा ‘डाइङ क्यान्डल’ स्क्रिनिङमा रहेका बेला निर्देशक र उनी स्वयंलाई कार्यक्रम हुन्छ भनेर थाहा थिएन । जब थाहा पाइन् कि उनले अवार्ड पाइन्, उनी भन्छिन्, ‘अत्यान्तै खुशी भएँ । तर अवर्ड नै नपाए पनि खुशी चाहिँ नहुने भन्ने होइन ।’ उनले किन पाइन् र किन दिइयो भन्दा पनि उनले गरेको मिहेनतकोे मुल्यांकन भने अवश्य भएको हो । ‘वास्तवमा मलाई नयाँ जिम्मेवारीको अनुभूति पाएको छु,’ उनले खुसी प्रकट गर्दै भनिन्, ‘हुन त मैलै जीवनमा ६/७ ओटा सिनेमामा काम गरेँ होला ।’ अरू नायिकाको लेखाजोखा खासै गर्दिनन् उनी । सबैले उत्तिकै राम्रो गरेका छन् ,जस्तो लाग्छ उनलाई । तर अचम्म के भने नि अन्य नायिकाहरूले वर्षकै ६/६ ओटा चलचित्र खेल्छन् । तर उनले अहिलेसम्म ६/७ वटा चलचित्रमा काम गरेकी छिन् , झनै मुख्य भूमिका त एकदमै कम । यसले यो पनि पुष्टि गर्छ कि उनी एकदमै मिहेन तगर्ने अभिनेत्री हुन् । लजसले सौन्दर्य भन्दा ज्यादा अभिनय कौशलता बेच्ने गर्छिन् । ‘अवार्ड पाउनुमा मुख्य रूपमा  मेरो कामले होला जस्तो लाग्छ,’ उनी थप्छिन्, ’यो मानेमा अरू नायिकाहरूले पनि काम नगरेको भन्नु त मिल्दैन । उहाँहरूले पनि काम त गरिराख्नु भएको छ ।’ 

नेपाली सिनेमालाई के दिइन् त ?


‘मैले के कुरा दिएँ भन्दा पनि मेरा कामको मुल्याकन हो जस्तो लाग्छ । मेरो कामको क्षमतालाई निखार ल्याउनमा कोसिस गर्ने छु । अझै म आफ्नो कामलाई निरन्तरता दिएर आउने पुस्ताको लागि यो क्षेत्रलाई झनै फराकिलो बनाउने कोसिस गर्ने छु÷गरिरहनेछु ।’



उनको करियरलाई जुन कुराले राम्रो गर्छ त्यसैमा केन्द्रित भएर काम गर्ने सोच छ उनको । तर नाटक चाहिँ चटक्कै छोड्ने सोचमा छैनन् उनी । आखेरी कसरी पो छाड्न सक्थिन् र ! जहाँबाट उनले अभिनयको यत्रो लामो यात्राको दौरान पहिलो पाइला चालेकी थिइन् । सायद, नाटक घरमा पहिलो पाइला नचालेकी भए कतै हुन्थिन् जहाँ उनी अन्जान हुन्थिन् । कसैले चिन्दैनथे । ‘नाटकै मात्रै गर्छु या सिनेमा मात्रै गर्छु भन्ने सोच गरेको छैन,’ उनी जिम्मेवारपूर्ण तर्क गर्छिन्, ‘सिने नगरीलाई आफ्नो काम र क्षमतालाई अभिवृद्धि गर्दै लैजाने छु । मेरो चलचित्र होस् या नाटक होस् अभिनय नै हो ।’ अभिनयमा अझै निखार ल्याउँदै भविष्यमा राम्रो चलचित्र नेपाली चलचित्र उद्योगलाई दिने सोच छ उनको । राम्रो जस्तो पायो त्यस्तै चलचित्रमा काम गर्र्ने गर्दिनन् उनी । उनले अभिनय गरेका चलचित्रले केही हदसम्म भए पनि समाजका राम्रो म्यासेज छोडोस् भन्ने लाग्छ उनलाई । 



सिर्जनाले अहिलेसम्म लुट, लुट २, आवाज, डाइङ क्याण्डल, नतिजा, दिपशिखा र चक्करमा अभिनय गरिसकेकी छन् भने मिस्टर भर्जिन, पञ्चेबाजा, धुलोलगायतका चलचित्र रिलिजको तयारीमा छन् ।


 


कसरी यो क्षेत्रमा आइपुगिन् त उनी ?


फिल्मको हिरोइन बन्ने सपना रहेछ सिर्जनाको । हिरोइन हुनका लागि लाज, डर सबै त्याग्नुपर्छ भन्ने कुरा त्यतिबेलाका हिरोइनहरूले दिएका अन्र्तवार्ता पढेकी रहिछन् । त्यसकारण पनि आफूलाई जबरजस्ती यो क्षेत्रमा उभ्याउन सबै लाज डर त्याग्ने प्रयास गरेको बताउँछिन् सिर्जना ।



खासमा उनलाई नाटक भन्ने थाहा नै थिएन । ‘त्यतिबेला काका फुपूहरूले नाटकको रिहर्सल गरेका बेला हो मैले नाटक के हो भन्ने थाहा पाएको,’ मुसुक्क मुस्कुराउँदै भनिन्, ‘हिरोइन बन्ने मन थियो, एकाएक नाट्यकर्मी पो भइयो । र पछि त हिरोइन् पनि भएँ ।’



चलचित्र ‘लुट’मा पुतलीको भूमिकामा देखिएकी सिर्जनाले अहिलेसम्म १० वटा चलचित्रमा काम गरिसकेकी छन् । तर, उनले अहिलेसम्म ३० वटा नाटकमा अभिनय गरेकी छन्, एउटा नाटक ‘युमा’को निर्देशनसमेत गरेकी छन् । एक हिसाबले भन्ने हो भने नाटकमा उनी जमिसकेकी छन् । तर हिरोइन बनेर फिल्ममा काम गर्न पनि अफर आइरहेका छन् । ‘नाटक र फिल्म दुवैलाई मिलाएर बढाउने कोसिस गरिरहेकी छु,’ सिर्जना यी दुई क्षेत्रको तालमेलबारे भन्छिन्, ‘नाटक गरिरहन्छु, फिल्म राम्रो स्क्रिप्टको पाएँ भने गर्छु ।’



स्कुल पढ्दा उनले कहिल्यै अभिनय गरिनन् । न कुनै सांगीतिक कार्यक्रममा भाग लिने अवसर नै पाइन् । तर हिरोइन बन्ने हुटहुटीले उनलाई काठमाडौं ल्याइपुर्यायो । ‘त्यतिबेला चल्ने फिल्म टिभीमा आए भने हेर्न छुट्दैन थियो’, उनले भनिन् ।



प्लस टु सकाएपछि उनी काठमाडौं छिरिन्, २०६२ मा । सुरुमा गाउँकै काका पर्नेको एउटा कन्सल्टेन्सी रहेछ, रिसेप्सनको जागिर खाइन् । काठमाडौं बस्ने बहाना मात्रै थियो त्यो । रिसेप्सनको जागिर खाँदै उनी काठमाडौंको रंगिन दुनियाँबारे बुझ्दै गइन् । यतै बस्ने गाउँतिरको एकजना दिदीले ‘सुन्दरी प्रतियोगीता हुँदैछ, जाऊ न एकपटक ट्राई गर’ भनिन् । उनको रंगिन दुनियाँमा आफ्नो इन्ट्रीबारे भनिन्, ‘त्यो प्रतियोगीतामा सेकेण्ड रनरअप भएँ ।’ यो प्रतियोगीतापछि धेरैको नोटिसमा परेकी उनलाई ‘मैना’ नाटकमा अभिनय गर्न त्यो नाटकका निर्देशक लोकेन्द्र लेखकले अफर गरे । नाटकमा अभिनयपश्चात काठमाडौंका ठूलाठूला पत्रिकामा समाचार बनेर छापिइन् उनी । बद्रि अधिकारीको निर्देशनमा बन्न लागेको चलचित्र ‘आवाज’को लागि हिरोइन बन्ने अफर आयो । माओवादी क्यारेक्टरमा अभिनय गर्नुपर्ने रहेछ, उनले नाइँ भनिनन् । त्यो फिल्ममा उनले दमदार अभिनय गरिन् । र उनको दमदार अभिनयले अझै पनि निरन्तरता पाइरहेको छ । त्यसको गतिलो उदाहरण हो, कामना ल्फिम सर्वाेत्कृष्ट अभिनेत्री अवार्ड ।



चौतर्फी प्रशंसा पाइरहेकी उनले त्यसपछि आफ्नो अभिनय निखार्न अनुप बरालको एक्टर्स स्टुडियोमा भर्ना भइन् । नाटक सिक्दै, फिल्म र नाटक गर्दै अघि बढिन् सिर्जना । उनले इनास फिल्म अवार्डमा ‘डाइङ क्याण्डल’बाट उत्कृष्ट अभिनेत्रीको अवार्डसमेत पाइसकेकी छन् । ‘एक वर्षमा दुईवटासम्म फिल्ममा काम गर्छु’, उनले भनिन्, ‘नोटिस हुने रोल पाएँ भने नाइँ भन्दिनँ, सङ्ख्या बढाउन मात्रै फिल्ममा साइन गर्दिनँ ।’