नेपाललाई विश्वसामु चिनाउने बडिविल्डर

October 09, 2018

पथरीशनिश्चरे । उनी सानैदेखि जोसिला थिए । खेलकुदमा रुची राख्थे । जव उनी रोजगारीको शिलशिलामा चिनको मकाउ वस्न थाले तव उनले आफ्नो रुचीको कामबाट आफुलाई चिनाउन पाए । उनी हुन् सुसंगठित ज्यानका प्रकाश राई । मोरङको पथरीशनिश्चरे १ पथरी बजार निवासी उनी यसबेला नेपालमा मात्र नभएर विदेशमा समेत बडिविल्डिङका अब्बल खेलाडीका रुपमा ख्याती कमाएका छन् । मकाउमा सुरक्षागार्डका रुपमा काम गर्दै बडिविल्डिङ सम्वन्धी अन्तरराष्ट्रिय तौर तरिका, नियम सिके र तालिम पनि लिन पाए । विगत १३ वर्षदेखि त्यहाँ जागिरे बनेपनि त्यसभन्दा अघिदेखि बडिविल्डिङप्रति रुची थियो र पूर्वाञ्चलमा त चिनिइसकेका थिए । उनी १८ वर्षअघिदेखि यस क्षेत्रमा लागेका थिए । ‘म त्यहाँ पुगेर काम पनि गर्दै बडिविल्डिङलाई अघि बढाउने अवसर मिल्यो । त्यहाँ मैले यस विषयमा धेरै सिक्न पाएँ, प्रोत्साहन पाएँ ।’– उनले भने ‘त्यहाँ पोसिलो अर्थात सन्तुलित खानेकुरा खाने प्रणाली भएकाले पनि मैले त्यो खानेकुरा खाने सहज वातावरण पनि मिल्यो ।’

उनको जागिरे कमाई राम्रै छ । त्यसबाट सन्तुलित खानाका लागि मासिक नेपाली ४० हजार जति उनी खर्चिन्छन् । यो खेल महंगो नै पर्ने उनी सम्झिन्छन् । दैनिक व्यामशालामा व्यायाम गर्दै शरीरलाई सुगठित गर्दै लाने प्रक्रिया हुन्छ । शरीरको शक्ति पनि बढ्दै जान्छ । जसले शरीर निरोगी वनी स्वास्थ्य र आकर्षक स्वरुप तयार हुन्छ । उनी सुरुका दिनमा दैनिक ३ घण्टाजति व्यायाम गर्थे । अहिले डेढ घण्टाजति व्यायाम गरेर आफ्नो भीमकाय शरीरलाई सन्तुलित राखिरहन्छन् । ३९ वर्षीया उनको अहिले ८५ किलोग्राम तौलको सुगठित शरीर छ । ‘मेरो ठूलो ज्यान देखेर डराउँदैनन्, बरु कस्तो राम्रो ज्यान बनाएछ भनेर आकर्षित हुन्छन् ।’– मान्छे डराउँछन् कि भन्ने प्रश्नमा उनको जवाफ छ ।

पहिले मानिसको संख्या थोरै र दौडने ठाउँ र वातावरण सवैतिर थियो । तर दिनदिनै शहरीकरण भएर जताततै यातायातका साधनहरुले वातावरण नै शान्त हुँदैन । अर्थात दौडने ठाउँ समेत मासिदैछ । खेलमैदानमा गएर दौडनु भन्दा पनि व्यायामशालामा गएर विभिन्नखाले व्यायाम गर्दा अर्कै रमाइलो वातावरण हुने उनी सुनाउँछन् । उनी अथ्र्याउँछन् ‘स्वस्थ रहन बडिविल्डिङ क्षेत्रमै लाग्नुपर्छ भन्ने त हुँदै होइन तर अरु खेल खेल्दा भन्दा पनि व्यायामशालामा विभिन्न खाले व्यायाम गर्दा समय गएको र गलेको थाहा हुँदैन भन्ने चाँही मलाई लाग्छ ।’ उनले सरकारले खेलकुद क्षेत्रलाई केही मात्रामा हेर्न र प्रोत्साहन गर्न थालेको भएपनि नेपालका लागि केही नयाँखाले ठानिएको बडिविल्डिङ क्षेत्रमा भनें प्रोत्साहित गर्न नथालेको टिप्पणी गरे । उनी मकाउ नेप्लिज बडिविल्डिङ एशोशियसनमा आवद्ध छन् । आफुलाई देश र विदेशमा चिनाउने इराधा राखेर लागि परेका उनी सन् २०११ मा नेपालमा भएको ओपन नेशनल बडिविल्डिङ च्याम्पियनशिपको ८० केजी तौलमाथिमा तेस्रो भएपछि उनमा थप हौसला मिल्यो । २०१४ मा हङकङमा भएको हङकङ ओपन बडिविल्डिङमा उत्कृष्ठ १० मा छानिए । २०१६ मा नेपालको नेशनल ओपन बडिविल्डिङ धर्मश्रीमा ८० केजी बढी तौलमा दोस्रो स्थान हाँसिल गरेका थिए । प्रतिष्पर्धाका भिड्दै जाँदा उनले २०१८ मा पोखरामा भएको ओपन नेशनल बुल्स मेन च्याम्पियनशिपमा प्रथम भएर आफ्नो नाम चम्काउन पाए । सागर नेपालीले पथरीमा सञ्चालन गरेको पथरी फिटनेश क्लबकातर्फबाट सहभागी भएर सो प्रतियोगितामा गोल्डमेडल पाए । पथरी फिटनेश क्लबले बडिविल्डिङका क्षेत्रमा तालिम प्रदान गरिरहेको छ । जहाँ जिमका लागि पुरुष र महिलाहरु सराबर आउने गरेका छन् । जुम्बा डान्स पनि हुन्छ । जसबाट स्वस्थ्य शरीर बनाएर बडिविल्डिङ क्षेत्रका खेलाडी उत्पादन गर्नमा प्रोत्साहित गरिरहेको छ । २ वर्ष अघि खुलेको सो क्लबमा दैनिक ५० जना पुरुष महिला जीम र जुम्बाका लागि आउँछन् ।