सुविदार बीबी गुरुङले ओख्रेको बौद्ध गुम्बालाई बुद्धको मुर्ति प्रदान गर्ने

October 05, 2018

उर्लाबारी । मोरङ, उर्लाबारी–६ का सुविदार बीबी गुरुङले आफू जन्मे हुर्केको गाउँ संखुवासभा, मुढेशनिश्चरे–३ ओख्रेस्थित बौद्ध गुम्बामा बुद्धको मुर्ति प्रदान गर्ने भएका छन् ।

८५ बर्षिय सुविदार गुरुङले आफ्नो बुबा स्व.लालबहादुर गुरुङ, आमा स्व.पुर्णमाया गुरुङ र पत्नी स्व.बिमाया गुरुङको स्मृतिमा उक्त मुर्ति प्रदान गर्न लागेका हुन् । उनले मुर्तिसहित बत्ती, लत्ताकपडालगायत गरी करिब ७५ हजार रुपैयाँ मुल्य बराबरको सामग्री गुम्बालाई प्रदान गर्न लागेको बताए ।

गुरुङले यसअघि पनि झापाको केरखास्थित बौद्ध गुम्बामा मुर्ति प्रदान गरेका थिए । पूर्व भारतीय सैनिक सुविदार गुरुङले गुम्बा निर्माणतर्फ पनि आर्थिक सहयोग प्रदान गर्दै आएका छन् । यसबाहेक उनले बिभिन्न सामाजिक क्षेत्रमा पनि सहयोग पुर्याउँदै आएका छन् ।