मासिक करोडको निगुरो काठमाडौं निर्यात

September 04, 2018

मोरङ, १९ भदौ

 मोरङको चारकोसे जंगलबाट मासिक १ करोड रुपैयाँ भन्दा बढी मूल्य बराबरको निगुरो काठमाण्डौ निर्यात हुने गरेको छ । 

निगुरो उत्पादनको दृष्टिले अफ सिजन सुरु भइसके पनि अहिले मोरङको विभिन्न जङ्गल खण्डबाट नियमित चार देखि पाँच गाडी काठमाण्डौ निर्यात भइरहेको छ । यतिबेला दैनिक ३ लाख रुपैयाँको निगुरो काठमाण्डौ गइरहेको छ । मुख्य सिजनमा दैनिक १० गाडीसम्म निगुरो निर्यात हुने गरेको छ । मोरङको जाँते, पथरी, कानेपोखरी र लेटाङबाट अहिले पनि नियमित रुपमा एक एक गाडि निगुरो निर्यात भइरहेको निर्यातकर्ता बलराम राईले जानकारी दिए । राई पछिल्लो समय निगुरो काठमाण्डौ निर्यात गर्ने व्यवसायमा संलग्न हुँदै आएका छन् ।

प्रत्येक दिन विहान स्थानीय महिलाहरु जङ्गलमाा निगुरो टिप्न जान्छन् र १० बजेसम्म टिपेको निगुरो ठेकेदारलाई बिक्री गर्छन् । ठेकेदारले प्रतिमुठा १५ रुपियाँको दरले जंगलमै खरिद गर्ने गरेको स्थानीय सरिमाया बिश्वकर्माले बताइन् । मुठाको १५ मा किनेको निगुरो पिकअप भ्यानमा राखेर ठेकेदारले दिउँसो सिन्धुलीको बाटो हुँदै काठमाण्डौ लैजाने गरेको छ । जंगलमा टिपेको ताजा निगुरो १८ घण्टा भित्रै काठमाण्डौको थोक बजारमा बिक्री गर्ने गरेको अर्का व्यापारी रामकुमार खत्री बताउँछन् । ‘एउटा पिकअपमा ५ हजार मुठासम्म लैजान सकिन्छ’ रामकुमारले भने, ‘मोरङबाट काठमाण्डौ पुर्याउँदा एक मुठामा ५ रुपियाँसम्म खर्च पर्छ मुठा थोरै भयो भने ८ रुपियाँसम्म खर्च आउँछ ।’ त्यसरी काठमाण्डौ पुर्याएको निगुरो थोक व्यापारिलाई २५ रुपियाँमा बिक्री गर्ने गरेको व्यवसायि बलराम राईले जानकारी दिए । राईका अनुसार अहिले पनि दैनिक २० देखि २५ हजार मुठा निगुरो काठमाण्डौ लगिने गरेको छ । जंगलमा यत्रतत्र पाइने निगुरो चैत्र महिनादेखि टिप्न थालिन्छ । यो क्रम असोज महिनासम्म चल्छ । वर्ष सात महिना जंगलको निगुरो टिपेर आफ्नो गुजारा गर्नेहरु प्रसस्ती छन् । त्यसबाट राम्रो आर्थिक कारोवार पनि हुने गरेको छ । निगुरो टिपेर गुजारा चलाउँदै आएकी मोरङ लेटाङ नगरपालिका फडानीका फुलमाया विश्वकर्मा एक विहान निगुरो टिपेर ७ सय ५० रुपियाँसम्म कमाएको बताउँछिन् । ‘मैले र मेरा साथिहरुले सिजनमा ७ सय ५० सम्मको निगुरो टिपेरे बेच्यौं, अहिले त निगुरो कम भइसक्यो २ सय ५० , ३ सय सम्म कमाउँछौं ।’ जेठ र असार महिनामा निगुरो बढी उत्पादन हुन्छ । त्यतिबेला एउटा संकलन स्थलबाट ३ गाडीसम्म निगुरो काठमाण्डौ जाने गरेको थियो ।

 दैनिक १० गाडी निगुरो त्यतिबेला काठमाण्डौ गएको स्थानीय अर्जुन लिम्बुले जानकारी दिए । मुख्य सिजनमा भने मुठाको १२ रुपियाँले मात्र बिक्री भएको सरिमायाले बताइन् । जङ्गलको अग्र्यानिक उत्पादन भएको र स्वादिष्ट तथा लाभदायक तरकारी भएकोले काठमाण्डौमा निगुरोको प्रयाप्त माग रहेको व्यवसायिहरु बताउँछन् । अत्याधिक गर्मिको समयमा भने निगुरो लैजाँदालैजादै बाटैमा बिग्रने समस्याले कतिपयले नोक्सानी पनि व्यहोर्नु परेको छ । यो वर्ष जेठ महिनामा केही व्यवसायिहरुले घाटा पनि सहनु परेको थियो । सुरुसुरुमा जङ्गलबाट निगुरो टिपेर बिक्री गर्दा स्थानीय सामुदायिक वन तथा नगरपालिकाले प्रतिमुठा ५० पैसा कर लिने गरेका थिए । पछि जंगलको निगुरो टिपेर बिक्री गरेवापत कर तिर्दैनौं भनेर विरोध भएपछि अहिले बन्द भएको छ । ढुवानी ठेकेदारसंग प्रतिगाडी ५ सय रुपियाँ लिने गरेकोमा अहिले त्यो पनि छोडिएको रामकुमार खत्रीले जानकारी दिए । अहिले जंगलबाट काठमाण्डौ पुर्याउँदा इटहरीमा जिल्ला निकासी गरे वापत एक गाडीको ४ सय बाहेक राज्यलाई कुनै शुल्क तिर्न नपरेको उनले बताए । 

मोरङको जंगलबाट मासिक सरदर एक करोड मूल्य बराबरको निगुरो काठमाण्डौमा मात्र निर्यात हुने गरेको छ । स्थानीय बजारमा पनि निगुरोको खपत उतिकै छ । विराटनगर, धरान, झापाका विभिन्न बजारहरुमा दैनिक हजारौं मुठा निगुरो बिक्री हुने गरेको छ । त्यसबाट राम्रो आर्थिक गतिविधि भएको र सयौंले त्यसलाई जीवनयापनको माध्यमको रुपमा पनि उपयोग गरिरहेका छन् ।