मेरो साथी हो, लोकबहादुर

उसको पूरा नाउँ नै मेरो लागि लोकबहादुर हो। तर स्कुलको हाजिर कापीमा नाम लेख्ने क्रममा मैले रोल नम्बर १ देखि रोल नम्बर ११९ सम्मको नाउँ लेख्ने क्रममा एकजना नयाँ साथीको नाम देखेँ , लोकबहादुर क्षेत्री।

उसको पूरा नाउँ लोकबहादुर क्षेत्री भनेर मैले पछि थाहा पाएँ। स्कुलको रोल नम्बर एक भएको कारणले म क्लासको क्याप्टेन थिएँ। ह्यान्डराइटिङ राम्रो भएको कारणले स्कुलका सबै हाजिरकापीमा नाम लेख्ने जिम्मेवारी मलाई पर्थ्यो। नयाँ सेसन शुरु नहुँदै जाडो महिना स्कुलको आँगनमा तातो घाम ताप्दै सारा स्कुलका शिक्षकका बीचमा बसेर म हाजिरकापीमा नाम लेख्थेँ। ह्रस्वदीर्घ, थर छोटो सानो , रेफ, हलन्त सबै ध्यान राखी म लेख्न बस्थेँ।

त्यही क्रममा एकदिन मैले स्कुलको हाजिर कापीमा नयाँ नाम लेखेँ , ुलोकबहादुर क्षेत्री।

ऊ मेरो लागि नयाँ नाम थियो। उसको लागि पनि म नयाँ नै थिएँ होला । तर बोलीचालीमा स्थानीय विद्यार्थी भन्दा म राम्रो नेपाली वा भनौँ खस भाषा बोल्ने हुँदा उसित मेरो ‘साइकल भेट’ भयो।

‘साइकल भेट’ कसरी भनेँ , स्कुलबाट फर्कँदा ऊ पनि साइकल चढेर जान्थ्यो, म पनि साइकल चढेर जान्थेँ।

लोकबहादुर नेपालको कुनै गाउँबाट काठमान्डौँ आएका थिए– पढ्न वा काम गर्न, मलाई पक्का थाह थिएन। उसित मेरो  पहिलो भेट ललितपुरको श्री चण्डी विद्याश्रमकै आँगनमा भयो। ऊ गाउँथ्यो भन्ने मलाई थाहा थिएन वा अरु धेरैलाई पनि थाहा थिएन।

कुराकानीको क्रममा एकदिन उसले मलाई भन्यो, ‘साथी, स्कुलमा कुनै सांस्कृतिक कार्यक्रम भयो भने मलाई सम्झिनु है, बाजा बजाउन , गाउन वा अरु केही गर्न परे!’

श्री चण्डी विद्याश्रमका प्रधानाध्यापक रामभक्त अमात्यको निर्देशनमा एकदिन एउटा नाटक तैयार पार्न भनियो। यसका लागि निर्देशकका रुपमा नेपालीका शिक्षक अनि हाम्रो स्कुलको संगीत शिक्षक छानिए। नाटक मैले लेखेँ , ‘देशको रगत।’

‘देशको रगत’ को रिहर्सल ट्वाइलेट छेउको एउटा गोप्य कोठामा शुरु भयो। नाटकमा एउटा ‘फिरङ्गी’ को रोल थियो। कसलाई दिने भन्ने विषयमा छलफल भइरहँदा मैले लोकबहादुरलाई सम्झेँ।

मैले उसलाई आग्रह गरेँ, उसले अलिकति नाइँ नास्ति गर्यो। तर मैले विनम्रतापूर्वक तीनचार पटक भनेपछि ऊ तयार भयो।

संगीत पढाउने शिक्षक दिलबहादुर श्रेष्ठ र उनका साथी युक्त गुरुङ आएर हामीलाई सिकाउन थाले।

मैले लोकबहादुरलाई अभिनय सिकाउन थालेँ। म आफैँ पनि अभिनय जान्ने मान्छे होइन। तर लोकबहादुरले पो उल्टा मलाई अलि–अलि सिकायो।

नाटक तयार भयो। हामी मञ्चनको तैयारीमा थियौँ। अचानक देशमा ०३६ सालको विद्यार्थी आन्दोलन शुरु भयो। हामी त्यता मोडियौँ। म सक्रिय रुपमा स्कुल हडताल , गिरफ्तारीतिर लागेँ।

०३६ सालमा हुने हरेक गतिविधिमा भाग लिन थालेँ। राजनीति मेरो रगतमा मिस्सिँदै थियो।

साथी लोकबहादुर कता हरायो, हरायो मलाई थाहै भएन।

त्यसैबेला एसएलसी परीक्षाको तयारी शुरु भयो। त्यतिबेला ट्यूशन कक्षा भन्दा कोचिङ क्लासको जगजगी थियो। ललितपुरस्थित चक्रबहिलको प्रभात स्कुलमा केबी सर र उहाँका साथीहरुले सञ्चालन गरेको ‘ललितपुर कोचिङ’ मा दाखिला भएँ।

त्यहाँ एकदिन अचानक साथी लोकबहादुरसित पुनः जम्काभेट भयो। यसपालिको भेटपनि ‘साइकल भेट’ नै थियो।

‘कहाँ थियौ, यार!’ मैले सोधेँ।

उसले हाँस्दै भन्यो, ‘म जागीर खानतिर लागेँ।’

मैले चकित हुँदै सोधेँ, ‘पढाई नि!’

उसले गम्भीर भएर भन्यो , ‘त्यसैले त कोचिङ पढ्न आएको प्रेम । अब एसएलसी पास गरेर रेडियो नेपाल पस्नु छ, गायक भएर।’

म छक्क परेँ , उसमा गायनको नशा अझै रहेछ। ऊ गजबले दुईजना गायकको गीत गाउँथ्यो– झलकमान र नारायणगोपालको।

बडा गज्जबको आवाज र शैली थियो उसको!

कोचिङ क्लास सकेर म उसित गासबहालस्थित उसको डेरा पुगेँ। त्यहाँ उसले सावधानीपूर्वक भन्यो , ‘यहाँ अरु साथीहरु नल्याऊ है प्रेम! तिम्रो राजनीतिक साथी धेरै छन्।!

ऊ मलाई कि ‘प्रेम’ भन्थ्यो, कि त साथी।

एसएलसी सकियो, रिजल्ट निस्कियो। मैले चिन्ने मेरा सबै साथीहरु पास भए। सुदीप श्रेष्ठ, बाबुराजा शाक्य, सरिता महर्जन, रीता महर्जन , सञ्जीब श्रेष्ठ , सजनी बज्राचार्य , निर्मला बज्राचार्य आदि सुनील राजकर्णिकार , शंकर जोन्छ्ये, विद्या जोशी, प्रभा खड्गी, राजेश राजकर्णिककार को–को के–के भए, त्यो चाहिँ  थाहा भएन।

म एसएलसीको सर्टिफिकेट बोकेर अस्कल क्याम्पसको फिजिक्स ग्रुपमा भर्ना भएँ। मेरो स्कुलबाट म एक्लै नै थिएँ।

त्यही कलेजमा प्रिन्सिपल एम के सिंहले मलाई भर्ना गरेर बधाई दिए।

फिजिक्स पढाउने सर जीपी एस के (गोविन्दप्रसाद शर्मा काफ्ले) ले तर्साए, ‘पढ्ने विषय यो होइन भने आजै क्लास छोडे हुन्छ।’

काफ्ले सरको मन्तव्य मनमै पर्यो। म त्यसपछि अस्कल पढ्दापढ्दै रात्रिकलेज पढ्न आर. आर. कलेज गएँ ।

अस्कलमा पार लागिनँ भने आर. आर. बाट पत्रकारितामा डिप्लोमा गर्छु भन्ने योजना थियो।

आर. आर. मा आउँदा–जाँदा एकदिन एकजना साथीले भन्यो , ‘ए, तिमीले प्रज्ञा प्रतिष्ठानमा कलाकार तालिममा अप्लाई गरेका थियौ, तिम्रो नाम निस्केको रहेछ।’

म छक्क परेँ। सोधेँ, ‘कसरी थाह पायौ तिमीले?’

उसले भन्यो, ‘तिमो नाम काठमाडौँ जिल्लाबाट छनोटमा परेको भनेर गोरखापत्रमा निस्केको रहेछ।’

तुरुन्तै गोरखापत्र किनेर पढेँ। अभिनयमा पाँच जनाको नाम निस्केको रहेछ। त्यसमध्ये काठमान्डौँबाट म एक्लै रहेछु। अरु मकवानपुर, मोरङ, रुपन्देहीका साथीहरु थिए।

मोरङबाट रमेश बुढाथोकीको नाम देखेँ। मकवानपुरबाट रामकुमार थापा, अनि रुपन्देहीबाट अल्ताफ अहमद थिए।

गोरखापत्र किनेर घर ल्याएँ। अरु विषयमा को को रहेछन्, हेरेँ। सङ्गीतमा पनि पाँचजना रहेछन्दो। लखाबाट शक्तिवल्लभ श्रेष्ठ,  इलामबाट नीलम श्रेष्ठ लगायत थिए।

नवलपरासीबाट परेका एकजना चिनेकै मान्छेको नाम देखेँ। उनी थिए, लोकबहादुर क्षेत्री।

‘यो हाम्रै साथी लोकबहादुर होला कि क्या हो’ भन्ने लाग्यो। तर त्यो भ्न्दापनि बढी खुसी चाहिँ लोकबहादुरले पनि एसएलसी पार गरेछ भन्ने कुरामा लाग्यो।

काठमाडौँमा रहेकालाई नाम निस्केको सात दिनमा र जिल्लामा रहेका प्रतियोगीलाई नौ दिनमा सम्पर्कमा आउनू’ भन्ने लेखिएको थियो। त्यसैले,  म सातौँ दिनमा अन्तर्वार्ता दिन पुगेँ।

प्रज्ञा प्रतिष्ठानको विशाल प्राङ्गण, बीचमा पानीको फ्लोरा, चारैतिर कलाकारको भीड! सबै उत्साही र भावप्रवणशील भएर एकअर्कालाई भेट्दै थिए।

प्रज्ञा भवनको मूलद्घारमा भेटिए– लेखक विजय मल्ल, भर्याङमा भेटिए– लैनसिंह बाङ्देल, माधव घिमिरे, चूडानाथ भटराय।

सबै चिने–चिनेका जस्ता, तर कोहीसित पनि परिचय थिएन।

सङ्गीत कक्षमा गएर उभिएँ। भित्र अम्बर गुरुङ सबैसँग अन्तर्वार्ता गर्दै थिए। बाहिर लाइन थियो।  लाइनमा देखेँ , बीचमा उभिरहेको मेरो साथी लोकबहादुर।

‘साथी! मैले उसलाई बोलाएँ।

उ त मलाई देखेर चकित!  म उसलाई देखेर झन चकित!

अलि अलि दाह्री पालेको , लामो कपाल पालेको, अनि कोट र भित्री स्वेटरमा कुनै अफिसको हाकिम जस्तो!

‘तिमी पनि छौ यहाँ प्रेम!’, उसले मलाई सोध्यो।

मैले ठट्टा गर्दै भनें, ‘गोरखापत्रले बोलाएपछि आउन परेन, तिमीले गोरखापत्रमा मेरो नाउँ पढेनौ!’

उसले गम्भीर हुँदै भन्यो, ‘फुर्सदै छैन साथी, दिनभरिको भागदौड, जागीर– यस्तै यस्तैमा अल्झेको छु, यो खबर पनि मैले आजै पाएको।’

चाहिँदो भन्दा गम्भीर थियो ऊ, यद्यपि अरु बेला पनि गम्भीर नै हुन्थ्यो। अझै भनूँ भावुक नै हुन्थ्यो।

ऊ सङ्गीतमा, म अभिनयमा! एकवर्ष  हाम्रो फेरि घनिष्ठता बढ्यो।

काठमाडौँ नाटक हुन्थ्यो। नाटकमा पनि उसित भेट हुन थाल्यो।

रेडियो नेपालमा गीत–सङ्गीतको प्रतियोगिता, रसरङ, इन्द्रेणी , झरना र झङ्कार सबै कार्यक्रममा मेरो लोकसित भेट हुन्थ्यो। ऊ लोकगीतमा एक प्रसिद्ध नाम भइसकेको थियो।

आमा रूँदै गाउँवेशी मेलैमा’– यो गीतमार्फत् ऊ एक किसिमले हामीले भेट्नै नसकिने गरी प्रसिद्धीको शिखरमा पुगिसकेको थियो।

उसका हरेक लोकगीत मौलिक हुन्थे अनि चर्चितपनि।

पाँच फिट नौ इन्च भन्दा अग्ला मेरा साथीले हामीले भन्दा धेरै अग्लाई (उचाई) पाइसकेको थियो।

ऊ रेडियो नेपालभित्र पहिचान पाइसकेको नाउँ बनिसकेको थियो। नाचघर, नारायणगोपाल, साङ्गीतिक प्रतियोगिता , होटलको गायन सबैतिर ऊ व्यस्त थियो।

श्री चण्डी विद्याश्रमको स्कुलको साँघुरो कोठामा भेटेको मेरो क्लासको नयाँ विद्यार्थी नेपाली सङ्गीत अनि विशेष लोकगीत र लोक गीत सङ्कलनमा ख्यातनामा भइरहेको थियो।

प्रज्ञा प्रतिष्ठानको एकबर्षे तालिमको बीचमा उसलाई एकदिन सांस्कृतिक संस्थानका महाप्रबन्धक नारायणगोपालले बोलाए भन्ने सुनियो। त्यसपछि ऊ उतै लागेछ ।

चर्चा परिचर्चा, उसको ख्याति बढ्दै थियो।

एकदिन एउटा अनौठो खबर आयो , लोकबहादुरको दुर्घटनामा मृत्यु!

खबर सुनेर म स्तब्ध भएँ। त्यही राति खबर सुनाउन म गुरु अम्बर गुरुङको घर ज्ञानेश्वर पुगेँ।

‘सर!’ मैले थप जानकारी दिन पाएकै थिइनँ, शान्त स्वभावका अम्बर सर आफैले भन्नु भयो, ‘मैले त्यो खबर सुनिसकेँ, साह्रै दुःख लाग्यो, यो हाम्रो लागि ठूलो क्षति हो।’

आजसम्म पनि मलाई लाग्छ, ‘लोकगीतमा मात्र होइन, आज लोकबहादुरलाई पनि क्षति गरेर मान्छे खाइरहेका छन् उनका गीतको मौलिकता , उनको गीतको रोयल्टी!’

अनि के मा आनन्द छ त मान्छेलाई!

प्रिय साथी लोकबहादुर! तिमी माथि कहिले न्याय भएन, यही कुरामा सार्‍है दुःख लाग्छ।

(यो सामाग्री लेखक सायमीको २०८२ साउन २१ गतेको फेसबुक पोष्टबाट साभार गरिएको हो)