नेपाली मूलका क्यानडेली व्यवसायी। ‘अर्डर अफ क्यानडा’ प्राप्त सफल उद्यमी। डिजी मार्केट इन्टरनेसनलका संस्थापक। महोत्तरी जिल्लाको सीमावर्ती क्षेत्र मधवा गाउँमा जन्मिनुभएको हो, आदित्य झा। उनी नेपालमा उद्यमशीलता विकास गर्नका लागि लोभलाग्दा अवसर रहेको बताउँछन्।
झाको दाबी छ, ‘नेपालमा काम गर्ने मौका दिइयो भने म परिणाम पनि दिन सक्छु।’
प्रश्न गर्छन् उनी, ‘कसरी जम्मा एक जनाले सिंगापुर बनाउन सक्छ? किन नेपालमा त्यस्तो दूरदर्शी नेता छैन?’
थुप्रै नेपाली विदेश गएर उद्यम व्यवसायीमा जमेका छन्। लोभलाग्दा सफलता छन्। उनीहरूले नेपाललाई साँच्चिकै माया गर्छन् र फर्किएर यहीँ काम गर्न चाहन्छन्।
त्यसका लागि के गर्नुपर्ने हो?
उनी भन्छन्, ‘पलायन नेपालमा सामाजिक रोग बनेको छ । किनभने यहाँका धेरैजसो युवाले सोच्छन्– हामी गरिब छौँ, हाम्रो जीवन राम्रो छैन। सरकारी जागिर खोज्ने वा विदेश जानुलाई जीवनको ठूलो उपलब्धि ठान्छन्। तर उनीहरूलाई साना व्यवसायमार्फत आत्मनिर्भर बनाउन सकिन्छ। रु ५० हजारदेखि १० लाखसम्मको पुँजी दिएर क्रमिक रूपमा सशक्त उद्यमी बनाउन सकिन्छ।’
सन् २०१८ देखि २०२३ सम्म झा नेपाल सरकारको सार्वजनिक खरिद अनुगमन कार्यालयअन्तर्गत खरिद व्यवस्थापनमा जोडिएको सफ्टवेयर प्रणाली सञ्चालनसँग संलग्न थिए।
‘मेरो कम्पनीले त्यहाँ पाँच वर्षसम्म काम गर्यो, ठूलो टोली थियो तर पछि अर्को कम्पनीलाई काम दिइयो’ उनले भने, ‘अहिले सुनिरहेको छु– खरिदसँग सम्बन्धित अनलाइन प्रणाली फेरि अस्तव्यस्त छ।’
नेपालको खरिद प्रक्रियालाई ‘ग्लोबल सेन्टर अफ एक्सिलेन्स’ बनाउने योजनाले काम गरेको उनी सुनाउछन्।
तर अस्थिरता र भ्रष्टाचारको कोपभाजनमा पर्यो झाको योजना।
‘नेपालमा न काम हुन्छ, न भ्रष्टाचार रोकिन्छ। अरू देशमा पनि भ्रष्टाचार हुन्छ, तर कम्तीमा काम त हुन्छ।’ आफ्नो कटु अनुभव उनले यसरी सुनाए, ‘यहाँ त केवल भ्रष्टाचार हुन्छ, काम नै हुँदैन।’
‘सबैभन्दा पहिले खराब कर्मचारी र विचौलियाबाट बचाइदेऊ’ उनले भने ‘किनभने अहिले भइरहेका धेरै काममा आसेपासेहरूले फाइदा उठाइरहेका छन्।’
०००
नेपालमा झाका अनुभवहरु खासै सुखद रहेनन।
उनलाई लाग्छ, आलोचनात्मक राजनीतिक सोच राखेर इमान्दारीपूर्वक काम गर्ने र योग्य मान्छेहरू ल्याएर जिम्मेवारी दिने हैसियत अहिले नेपालको राजनीतिमा छैन। नेपाल त्यसका लागि तयार पनि छैन। सूचना प्रविधि र कृत्रिम बौद्धिकताको क्षेत्रमा नेपालले धेरै गर्न सक्छ। तर त्यसका लागि व्यवसायीलाई कुनै हस्तक्षेप नगरी काम गर्न दिनुपर्छ।
‘बीस वर्षअघि भियतनाम कहाँ थियो र नेपाल कहाँ थियो! तर अहिले भियतनाम कहाँ पुग्यो, नेपाल किन रोकियो भन्ने कसैले प्रश्न गर्दैन।’ उनी भन्छन्, ‘राजनीतिक दूरदर्शिता भएको नेतृत्व पाउन नसक्दा यस्तो भयो। नागरिकमा पनि ‘यो मेरो देश हो’ भन्ने भावना नहुनु र देशलाई माया गर्ने भावना हराउनु पनि नेपालको समस्या हो।’
राष्ट्रको समृद्धिमा राजनीतिज्ञको ठूलो भूमिका देख्छन् उनी।
‘कस्तो भूमिका?’
झाको जवाफ थियो, ‘मुलुकको समृद्धि भनेको दियोजस्तो हो। दियो आफैँ बल्छ, तर हावा चल्दा निभ्न नदिन केही चाहिन्छ। राजनीति भनेको त्यही हावा लाग्दा दियो निभ्न नदिने छेकबार हो।’
आन्ध्र प्रदेश (भारत) का मुख्यमन्त्री चन्द्रबाबु नायडुलाई उदाहरण दिन्छन् उनी, ‘एक नेताको भिजनले हैदरावादलाई आइटी हब बनायो। जब उनले हैदरावादलाई सूचना प्रविधिमा लैजान सुरू गरे, त्यसबेला कसैले हैदरावाद चिनेका थिएनन्। भारतमा बैङ्गलोर, चेन्नई, दिल्ली र मुम्बई मात्र चर्चामा थिए। तर अहिले हैदरावाद कहाँ पुग्यो!’
उनलाई लाग्छ, यस्तै केही राजनीतिक दृष्टिकोण भएका नेताहरू र केही उद्यमीहरू मिलेर अघि बढ्न सके सकारात्मक नतिजा देखिन्छ।
झाको उत्साही निष्कर्ष थियो, ‘नेपालले सूचना प्रविधि, कृत्रिम बौद्धिकताजस्ता क्षेत्रलाई प्राथमिकता दिएर पाँच–दश उद्यमी पहिचान गरेर भन्नुपर्छ– हामी तिमीहरूलाई छुँदैनौँ, जाऊ, संसार जितेर आऊ, नेपालबाट केही बनाऊ, त्यसपछि हेरौँ, कस्तो नतिजा आउँछ!’
नेपाल अहिले सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिइरहेको छ। झाको विज्ञताको क्षेत्र पनि आईटी भएकाले यस क्षेत्रमा किन नजाने?
जवाफमा उनले अर्को तीतो अनुभव सुनाए।
‘तपाई नेपालको आइटी क्षेत्रमा काम गर्नुहुन्छ भने तपाईँको सफलता फरक हुन्छ’ आइटीमा आफूले पाएको सफलताको अनुभव सुनाउँदै उनी भन्छन्, ‘त्यही व्यक्ति पटना (भारत) मा आइटी पेसामा भए अर्कै हुन्छ।’
अहिले झा विद्युतीय सार्वजनिक खरिद (इ–प्रोक्युरमेन्ट) र बोलपत्र व्यवस्थापन गर्ने विश्वकै पुरानो र ठूलो कम्पनीमध्ये कम्पनी डिजिमार्केट इन्टरनेसनल इन्कको नेतृत्व गरिरहेका छन्। यो कम्पनीका नौ देशमा कार्यालय छन्। कतै एक जना मात्र कर्मचारी छन्, कतै तीन जना। भारतमा सबैभन्दा धेरै ८० हाराहारी कर्मचारी छन्।
झाको सपना भने नेपालमै यसलाई विशाल बनाउने थियो।
किन यस्तो सफलता नेपालमै सम्भव भएन? क्यानडा नै किन जानुपर्यो? किन यस्तो सफलता नेपालमै बन्न सक्दैन? किन मानिसहरू विदेश गएर मात्रै राम्रो गर्छन्? यहाँ यो किन सम्भव भएको छैन? अनि विदेश गएर सफल भएका नेपालीहरूले फर्केर यहाँ आएर यस्तो बनाउन सक्छन् कि सक्दैनन्?
उनलाई लाग्छ, नेपालको राजनीतिक अस्थिरता, प्रशासनीक उल्झन, भनसुनको प्रवृत्ति मुख्य समस्याहरू हुन्।
‘म टोरन्टोमा बसेको मान्छे, मलाई थाहा छैन, त्यहाँको प्रहरी कमिस्नर को हुन्! मलाई थाहा हुनु पनि पर्दैन।’ उनी सुनाउँछन्, ‘तर नेपालमा मानिसहरू गर्वका साथ म फलानो डिएसपीलाई चिन्छु, फलानो मन्त्री, फलानो जिल्लाको सिडिओलाई चिन्छु।’
भनसुन प्रवृत्ति नेपालको समस्या हो। अरु देशमा नागरिकलाई सबै नेताको नाम थाहा नहुन सक्छ। किनभने उनीहरूलाई थाहा हुनुपर्ने नै हुँदैन।
उनी भन्छन्, ‘तपाईं आफ्नो काम गर्नुहोस्, त्यसैमा महत्व छ। यो नै सभ्य समाजको चिनारी हो।’
उनले थपे, ‘हामी नेपाल सानो देश भन्छौँ। तर सिङ्गापुर पनि त सानो नै हो। युरोपका धेरै देश त नेपालभन्दा पनि साना छन्। तर तिनको विकासमा भूगोलले कहिले रोक लगाएन। समस्या हाम्रो सोचाइ र संरचनामा छ।’
सन् २००३ ताका झालाई व्यावसायिक सफलता मिलिरहेको बेला मनमा एउटा सपना पलायो, ‘नेपालमा पनि आइआइटीजस्तो संस्था कसरी सुरू गर्न सकिएला!’
त्यो बेला भारतमा जम्मा चाररपाँच वटा मात्र आइआइटी थिए। अहिले त्यो सङ्ख्या बढेर निकै पुगिसकेको छ।
‘इतिहास हेर्यौँ भने अक्सफोर्ड, क्याम्ब्रिज, हार्वर्डजस्ता विश्वविद्यालयहरू पनि व्यापारीहरूको आर्थिक सहयोगबाट नै राम्रो बनेका हुन्’ उनले सुनाए, ‘तर ती विश्वविद्यालय स्वतन्त्र थिए। व्यवसायीहरूले पैसा त दिए, तर चलाउने उनीहरूले होइन।’
झाले नेपालका विद्यालयहरूलाई पनि सहयोग गर्ने चाहना राखेका थिए। तर नेपालमा अवस्था फरक रहेको उनले देखे।
‘कुनै ट्रस्ट बनाइयो भने नाफारहित त भनिन्छ, तर नाफा चाहिँ व्यक्तिको खल्तीमा जान्छ। अस्पताल ट्रस्टको नाममा खोलिन्छ, तर पैसा घुमाएर उनीहरूकै खल्तीमा पुग्छ।’ उनले थपे, ‘यो प्रवृत्ति नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्कामा उस्तै–उस्तै छ।’
नेपालमा काम गर्ने सिलसिलामा झाले हासिल गरेको अनुभव खासै सकारात्मक रहेन।
०००
‘जब राम्रो पैसा कमाएँ, मलाई लाग्यो, किन काठमाडौँ वा नेपालमा एउटा आइआइटीजस्तो संस्था हुँदैन?’ उनले दुई दशक अघिको प्रयास सम्झे।
नेपालमा करिब १०० करोड लगानी गरेर एउटा इन्स्टिच्युट अफ टेक्नोलोजी खोल्ने योजना बनाए। व्यवसाय वा नाफाका लागि होइन, सरकारी मापदण्डमा चल्ने हार्वर्ड, एमआइटीजस्तै तर प्राइभेट संस्था बनाउने उनको योजना थियो।
‘म करिब एक वर्षसम्म त्यसमा लागेँ, क्यानडाबाट मान्छे झिकाएँ’ झाले भने, ‘तर म असफल भएँ। त्यो बेला म अलि अनुभवहीन थिएँ। आजको दिनमा गर्ने भए अर्कै शैलीमा गर्थेँ। किनकि अहिले मैले नेपाललाई धेरै बुझिसकेको छु।’
झालाई त्यो प्रोजेक्ट व्यावसायिक फाइदाको लागि थिएन भन्ने बुझाउन सकिएन कि जस्तो लाग्छ।
०००
उनको दोस्रो अनुभव पनि उस्तै थियो।
अमेरिकामा बस्ने झाका एकजना प्रोफेसर साथीले भने, ‘आदित्यजी, तपाईंले काठमाडौँका स्कुलमा कम्प्युटर बाँड्नका लागि पैसा दिनुपर्छ।’
झाले सोधे, ‘कति चाहिन्छ?’
साथीले भने, ‘१० वटा स्कुलका लागि डेस्कटप।’
झाले करिब १० हजार डलर दिए।
केही महिनापछि थाहा भयो, कम्प्युटर स्कुलमा त पुगेछन्, तर चल्दैनन्।
भएछ के भने, झाले विश्वास गरेको व्यक्ति नेपालका एक मन्त्रीका भतिजा रहेछन्। उनीहरूले नयाँ कम्प्युटर किन्नुपर्नेमा पुराना किने। ढुवानीमा धेरै पैसा खर्च गरे। अनि ती कम्प्युटर स्कुलमा राखिदिए।
यो कुरा झालाई थाहा भएपछि झाले आफ्नो साथीलाई त्यो प्रोजेक्टबाट आफ्नो नाम हटाउन भने । यो प्रयास पनि असफल भयो ।
०००
तेस्रो, कसैले उनलाई सुनाए, “तपाईं त तराईको मान्छे, जनकपुरका स्कुललाई सहयोग गर्नुस्।’
त्यसबेला अमेरिकामा ‘वन ल्यापटप पर चाइल्ड’ नामको प्रोजेक्ट चलिरहेको थियो । त्यो अवधारणा नेपालमा पनि लागू गर्न सकिने सोच बनाएर एक सय थान कम्प्युटर किनेर उनले जनकपुर पठाए।
धेरै दुःख गरेर रेलमा सीतामढी हुँदै ल्याएर भन्सार तिरी ती कम्युटर जनकपुर आइपुगे। तर स्कुलमा कम्युटर ल्याब बनाउन अझै पूर्वाधार तयार थिएन। केही समयका लागि ती कम्प्युटर जिल्ला प्रशासनको रोहवरमा एउटा कोठामा राखियो, ताला लगाइयो, सिल गरियो।
तर केही महिनापछि झालाई फोन आयो, ‘आधा कम्प्युटर हरायो।’
झाले सोधे, ‘तपाईंले सिल गर्नुभएको थिएन?’
जवाफ आयो, ‘सिल छ, ताला छ, तर ल्यापटप छैन।’
त्यसपछि बाँकी कम्प्युटर स्कुललाई दिइयो। केही समयपछि फेरि फोन आयो– “स्कुलबाट फेरि २५ वटा कम्प्युटर हरायो। अब के गर्ने?’
उनले भने,‘अब मलाई मतलब छैन, जेसुकै गर।’
नेपालमा यति धेरै असफलता भोगेपछि झाले आफ्नो परोपकारी कामलाई क्यानडामै केन्द्रित गरे। अहिले उनको नामबाट तीन विश्वविद्यालय र दुई कलेजमा १४ वटा अक्षयकोष स्थापना छन्। टोरन्टो मेट्रोपोलिसन युनिभर्सिटी, योर्क युनिभर्सिटी, ट्रेन्ट युनिभर्सिटी, जर्ज ब्राउन कलेज, सेन्टेनियल कलेजमा झाका अक्षयकोषबाट करिब ७० हजार क्यानाडियन डलर बराबरको छात्रवृत्ति हरेक वर्ष वितरण हुन्छ। बीसभन्दा बढी विद्यार्थी लाभान्वित हुन्छन्।
उनको लक्ष्य यो बढाएर डेढ करोड क्यानाडियन डलरसम्म पुर्याउने छ। साथै उहाँ क्यानाडाका आदिवासी (अबोरिजिनल) समुदायलाई पनि उद्यमशील बनाउन खटिरहेका छन्।
यद्यपि अहिले पनि झाका मनमा एउटा ठूलो सपना बाँकी छ, नेपाल र बिहारका साना उद्यमीलाई सहयोग गर्ने। यस पटक भने उनको ध्यान ‘आइटी’ वा शिक्षा क्षेत्रमा छैन, उद्यमशीलतामा छ।
उनी भन्छन्, ‘नेपालमा झण्डै एक हजारदेखि पाँच हजारसम्म र त्यति नै सङ्ख्यामा विहारमा पनि साना उद्यम सिर्जना गर्न चाहन्छु।’
गाईपालन, बाख्रापालन, कुखुरापालन, तरकारी पसल, सैलुनजस्ता साना स्वरोजगारमूलक व्यवसायमा मानिसहरूलाई कसरी लगानी गर्ने, व्यवसाय चलाउने र पुँजी जोगाउने भनेर सिकाउने झाको मुख्य ध्येय हो ।
‘मैले ५० जिल्लामा पुगेर हरेक जिल्लामा कम्तीमा २०–२५ जनालाई व्यवसाय गराउन सक्छु भने त्यसको प्रभाव निश्चित रूपमा देखिनेछ। मेरो टोलीले उनीहरूलाई उद्यम कसरी गर्ने र नाफामा कसरी लैजाने भनेर सिकाउनेछ।’ उनी भन्छन्, ‘यही मेरो अन्तिम सपना परियोजना हुनेछ । यही मेरो पूजा हुनेछ। यही पशुपति, काशी र केदारनाथ हुनेछ।’
झालाई लाग्छ, नेपालमा शिक्षाभन्दा उद्यमशीलता अझ धेरै प्राथमिकताको विषय हो।
