किन गरिन् भारतकी पहिलो महिला माओवादी ‘मिलिट्री कमान्डर’ ले आत्मसमर्पण?

शम्बला देवीले मलाई आफ्नो एउटा पुरानो तस्बिर देखाइन्। त्यसमा उनले गाढा हरियो रंगको शर्ट र पाइन्ट लगाएकी छन्। हातमा एके–४७ राइफल छ। नाडीमा घडी र कम्मरमा वाकी–टकी लर्किएको छ।

उनको हातमा यस्ता केवल दुईवटा तस्बिर मात्र छन्। ती तस्बिरहरू २५ वर्ष पहिले खिचिएका हुन्। त्यो समयको तस्बिर हो, जतिबेला भारतीय सशस्त्र माओवादी विद्रोहीहरुको पहिलो महिला ’मिलिट्री’ कमान्डर थिइन्।

जङ्गलमा पच्चीस वर्ष बिताएपछि उनले सन् २०१४ मा हतियार छोडिन्, सरकारसमक्ष आत्मसमर्पण गरिन्।

यसबीच उनीले अनेकपटक आफ्नो नाम परिवर्तन गरिन्। बिद्रोही समूहमा सामेल हुँदा उनको सुरुवाती नाम ‘देवक्का’ थियो। त्यसअघि उनी ‘वट्टी अडिमे’ नामले चिनिन्थिन्।

देवीकी श्रीमान् रविन्दर पनि माओवादी कमान्डर थिए। उनका अनुभव दर्जनौँ तस्बिर र भिडियोहरूमा कैद छन्। देवीबारे भने धेरै कम जानकारी उपलब्ध छ।

हामीले उनी कसरी हतियारबन्द माओवादी कमान्डर बनिन् र अन्ततः आत्मसमर्पण गरिन् भन्ने कहानी जान्न चाह्यौं।

सुरुमा उनी आफ्नो जीवन–कथा हामीलाई सुनाउन हिचकिचाइन्। तर हामीले जोड गरेपछि आफ्नै गाउँमा भेट गर्न राजी भइन्। हामी देवीसँग भेट्न उनको गाउँ गयौं।

सामान्य जीवनमा शम्बाला देवी

देवी अहिले लगभग पचास वर्ष पुगिन्। जतिबेला हामीले उनीसँग भेट्यौं, उनले साडी लगाएकी थिइन्। उनले साडी माथि उठाएर बाँधेकी थिइन्, ताकि काम गर्दा त्यो नभिजोस्।

हाम्रा लागि उनले चिया बनाइन्। हामीबीच पटक–पटक कुराकानी भयो। यसबीच उनी हसिया लिएर खेतमा काम गर्न पनि गइन्। हामी त्यहाँ पनि उनीसँगै गयौं र कुरा गर्यौं।

माओवादी आन्दोलनमा देवी
यो त्यो समयको कुरा हो, जब हतियार बन्द माओवादी टोलीमा महिलाहरुको संख्या निकै कम थियो। देवीले भने सामान्य घरेलु गाउँले जीवन छोडेर विद्रोही राजनीति र ’गरिल्ला युद्ध’ को बाटो रोजिन्।

‘हामी भूमिहीन थियौं। गरिब थियौं र प्रायः भोकै बस्ने गर्दथ्यौँ, हामीलाई आधारभूत स्वास्थ्य सुविधा पनि प्राप्त हुँदैनथ्यो’ उनले सुनाइन्, ‘जब हामी जङ्गलको जमिन जोतेर खेती गर्न खोज्थ्यौं, त्यहीबेला वन अधिकारीहरू आउँथे र हामीलाई पिट्थे। उनीहरू प्रहरीसँग मिलेका हुन्थे।’

जङ्गलमा रहेको जमिनमा खेती गर्नुलाई गैरकानुनी मानिन्थ्यो। स्थानीयहरुको भनाईमा त्यो जमिनमा खेति गर्ने गाउँलेलाई रोक्नु र जबर्जस्ती बेदखल गर्नु सामान्य कुरा थियो।

देवीका भनाईमा, उनी १३ वर्षकी हुँदा उनले आफ्नो बाबुलाई वन अधिकारीले पटक–पटक पिटेको देखेकी थिइन्।

प्रहरीले उनका पितालाई जेलमा समेत कोचेको थियो।

यो अत्याचार देखेकी देवीले अन्ततः घर छोडिन् र हिंसात्मक बाटो रोजिन्। उनी भन्छिन्, ‘आफ्नो कुरा सुनाउनको एकमात्र उपाय बन्दुकको नाल थियो।’

जंगलमा शम्बाला देवी

गाउँलेहरूले वनका अधिकारीहरूबारे किन प्रहरीलाई उजुरी गरेनन् भन्ने कुरा देवीसँग सोध्यौं। उनको भनाईमा, प्रहरीले कहिल्यै उनीहरुको कुरा सुन्दैनथ्यो, वन अधिकारीहरू त्यतिबेला मात्र डराउँथे, जब माओवादी गाउँमा आएका हुन्थे।

देवी सन् १९८८ मा माओवादी हतियारबन्द दस्तामा आवद्ध भएकी थिइन्।

२००० को दशकमा माओवादी विद्रोह चरम उत्कर्षमा थियो। यसको विस्तार भारतका दश राज्यहरुमा थियो। हजारौं नागरिकहरु माओवादी विद्रोहमा सहभागी भएका थिए।
माओवादी आन्दोलनको गढ़ मध्य र पूर्वी भारतका दुर्गम जङ्गलहरूलाई मानिन्थ्यो।

छापामार आक्रमणहरुको सम्झना
सन् १९८० ताकाका दाबी स्वतन्त्र रूपमा पुष्टि गर्नु हाम्रो लागि सम्भव भएन। उनका भनाईमा, त्यस अवधिमा उनले तीसजना रहने प्लाटुनको नेतृत्व गरेकी थिइन्। नेतृत्वमा उनी कहिल्यै एकै स्थानमा रोकिनु परेको पनि थिएन।
सुरक्षा बलमाथि आक्रमणका लागि विभिन्न राज्यहरूमा पुग्थिन्।

‘मलाई सम्झना छ, जब मैले पहिलो पटक घात लगाएर आक्रमण गरेको थिएँ, पैंतालीस किलोको ल्यान्डमाइन राखेर एउटा माइन–प्रुफ गाडी उडाएको थिएँ’ उनी भन्छिन्, ‘त्यसमा केही सुरक्षाकर्मीहरु मारिएका थिए।’

त्यस्ता आक्रमणहरुको नेतृत्व गर्न पाएकोमा उनी गर्व गर्छिन्। यसको अर्थ हो, ती आक्रमणमा सुरक्षाकर्मीहरु मारिएकोमा उनलाई कुनै पछुतो छैन।

यद्यपि हामीले बारम्बार उनलाई उनको हातबाट मारिएका मानिसहरूबारे कडा प्रश्नहरू सोध्यौं।

उनी सामान्य नागरिकहरूको मृत्युमा दुःख व्यक्त गर्छिन्, जसलाई उनको समूहले भूलवस प्रहरीको सुराकी ठानेर हत्या गरेका थिए। जो सुरक्षा बलमाथि आक्रमण गर्दा गल्तीवस मारिएकाहरुप्रति पनि उनले दुख प्रकट गरिन्।

उनका अनुुसार, यस्तो गल्तीका कारण कहिलेकाही माओवादीलाई समर्थन गर्नेहरु पनि मारिन्थे। आफ्नै मानिसहरू मारिँदा उनीहरु गाउँमा गएर परिवारसँग माफी माग्थे।

उनलाई एउटा घटनाको सम्झना अहिलेपनि छ। उनको प्लाटुनले सुरक्षाकर्मीहरुलाई छक्याएर आक्रमण गरेको थियो। एकजना सामान्य नागरिक सुरक्षाकर्मीको मोटरसाइकलमा थिए। माओवादी आक्रमणमा ती व्यक्तिपनि मारिए।

देवीको टोली मारिएका ती व्यक्तिको घर पुगे। मृतककी आमा निकै रिसाएकी थिइन्, रोइरहेकी थिइन् र सोध्दै थिइन् कि, ‘उनीहरुको प्लाटूनले रातमा किन आक्रमण गर्‍यो?’

देवीका भनाईमा, रातमा हुने आक्रमण बढी प्रभावकारी हुन्थे। त्यस्तो बेला को सामान्य नागरिक हो र को सुरक्षाकर्मी हो, पत्ता लगाउन कठिन हुन्थ्यो।

शम्बाला देवीका पति शम्बाला रविन्दर, उनीपनि भारतीय माओवादी छापामार दस्ताका कमाण्डर थिए

आफू संलग्न टोलीले गरेको आक्रमणमा कति मानिसहरु मारिए भन्ने देवीलाई जानकारी छैन।

सुरक्षा बल र माओवादीबीचको हिंसात्मक झडपमा हजारौं मानिसहरू मारिए। तिनमा धेरैजसो आदिवासी समुदायका थिए।

छापामार जीवन : चुनौति र स्वतन्त्रता
दक्षिण एसियामा आतंकवाद र ’लो इन्टेन्सिटी वारफेयर’ को सबैभन्दा ठूलो डेटाबेस ‘साउथ एशिया टेरोरिज्म पोर्टल’ का अनुसार, यो संघर्षमा सन् २००० देखि २०२५ सम्म लगभग १२ हजार मानिसहरूको मृत्यु भएको छ।

त्यसमध्ये करिव ४९०० माओवादी, ४००० सामान्य नागरिक र २७०० सुरक्षाकर्मी छन्।

हिंसा भोग्न र आफन्त गुमाउन बाध्य मानिसहरूले आलोचना गरेपनि स्थानीय गाउँलेहरु प्रायः माओवादीको समर्थन गर्थे। तिनीहरूलाई खाना र अन्य आवश्यक सामग्री दिन्थे।

उनको भनाइअनुसार, धेरै आदिवासी समुदायहरूले माओवादीहरूलाई आफ्नो उद्धारकर्ता ठानेका थिए।

जुन इलाका माओवादी नियन्त्रणमा थियो, त्यहाँको जङ्गलको जमिन उनीहरुले सामान्य मानिसहरूलाई बाँडेका थिए। माओवादीहरुले गाउँलेहरुलाई पानी र स्वास्थ्य सेवा दिलाउन पनि सहयोग गरेका थिए।

हामीले केही ग्रामीणहरूसँग देवीले गरेका दावीबारे जिज्ञाशा राख्यौँ। उनीहरूले देवीले गरेका दाबीहरूलाई पुष्टि गरे।

गुरिल्ला युद्धका शारिरिक र मानसिक चुनौतीहरू देवीका लागि नयाँ थिए।

त्यसअघि उनले सार्वजनिक रूपमा पुरुषहरुसँग कहिल्यै कुरा गरेकी थिइनन्।

जब उनले नेतृत्व पाइन्, नेतृत्वकला र आदेश कसरी दिने भन्ने तरिकाबारे सिक्नुपर्‍यो।

महिला भएपनि आफ्नो समूहको नेतृत्व गर्न उनलाई खासै कठिन चाहिँ भएन। किनकी उनी तल्लो तहदेखि काम गर्दै आएकी थिइन्। लामो समय छापामार दस्तामा रहेकाले पुरुषहरु पनि उनलाई सम्मान गर्थे।

माओवादी संगठनमा दैनिक पानी ल्याउने जिम्मेवारी महिलाहरूलाई थियो। छापामार शिविरहरू पानीको स्रोतबाट टाढा बनाइन्थे। किनकी सुरक्षा बलहरू माओवादीको खोजी पानीको स्रोत रहेको ठाउँ वरपर गर्थे।

माओवादी प्लाटून लगातार जङ्गल र ढुङ्ग्यान भएका ठाउँहरूमा घुमिरहनु पथ्र्याे। महिनावारीका कठिन दिनहरूमा पनि महिलाहरूलाई छुट्टी पाउँदैनथे।

यसका बाबजुद देवी त्यो कालखण्डको ‘स्वतन्त्रता’ को अनुभव पनि सुनाउँछिन्। त्यो ‘स्वतन्त्रता’ उनले आफूलाई प्रमाणित गरेर, आफ्नो पहिचान निर्माणका क्रममा महसुस गरिन्।

आदिवासी समाजमा महिलाहरूलाई पाइताला जस्तो मानिन्थ्यो। पत्नी वा आमा बाहेक उनीहरूको कुनै पहिचान हुँदैनथ्यो।

छोरी र पतिका साथ शम्बाला देवी

‘तर माओवादी संगठनमा हाम्रो चिनारी कामका आधारमा हुन्थ्यो’ उनले भनिन्, ‘मेरो चिनारी कमान्डर थियो र यो जिम्मेवारी मैले कामका आधारमा पाएको थिएँ।’

देवीको दावी छ कि, यदि उनी आफ्नो गाउँमै बसेकी हुन्थिन् भने कम उमेरमै जबर्जस्ती विवाहका बाध्य हुन्थिन्। तर, माओवादी बन्ने बित्तिकै उनले आफ्नो रोजाइको व्यक्तिसँगै विवाह गर्न सकिन्।

तर माओवादी र सुरक्षा बलले आक्रमणहरू बढाउन थाले। त्यसक्रममा हताहतीको संख्या पनि बढ्न थाल्यो। त्यसपछि देवीले आफ्नो जीवनबारे पुनर्विचार गर्न थालिन्।

उनलाई लाग्न थाल्यो, जुन क्रान्तिको वाचा गरिएको थियो, त्यो दुर क्षितिमा कहीँ–कतै देखिँदैन।

उनले भनिन्, ‘एकतर्फ सुरक्षा बलहरूले माओवादीको खोजी अभियान तीव्र पारेका थिए, अर्कोतर्फ हामीले पनि आक्रमण र हत्याको श्रृङ्खला बढाउन थाल्यौँ।

देवीले छापामार जीवन छोड्नको अर्को कारण बिग्रँदो स्वास्थ्यअवस्था पनि थियो। उनलाई हड्डीको क्षयरोग (टीबी) लागेको थियो।

उपचारका लागि बारम्बार जङ्गलबाट शहरका अस्पतालसम्म लुकिछिपी जानुपथ्र्यो।

‘हामीले खोजेको परिवर्तन माओवादी आन्दोलनको विस्तार राष्ट्रिय स्तरमा विस्तार हुँदामात्र सम्भव थियो’ उनले भनिन्, ‘तर हामी थाकेका थियौं। हाम्रो प्रभावमा पनि ह्रास भइरहेको थियो। हामीलाई समर्थन गर्ने जनताको संख्या घटिरहेको थियो।’

उनका अनुसार, संगठनको आन्तरिक रिपोर्टमा पनि सदस्य संख्यामा गिरावट आएको देखिएको थियो।

दुर्गम क्षेत्रमा बसोबास गर्ने समुदायका मानिसहरु एक समय सहयोगका लागि माओवादीहरूको आश्रय लिन्थे।

तर अब उनीहरूको जीवनमा परिवर्तन आइरहेको थियो। मोबाइल फोन र सामाजिक सञ्जालको माध्यमले माओवादीहरु बाह्य संसारको सम्पर्कमा थिए।

सुरक्षा बलले ड्रोनलगायतका आधुनिक उपकरण प्रयोग गरी हतियारबन्द माओवादी दस्ताहरुलाई गाउँबाट टाढा जङ्गलमा धकेलिरहेका थिए। यसले भारतीय माओवादीलाई अझ अलगथलग बनाएको थियो।

अन्ततः आत्मसमर्पण
२५ वर्ष जङ्गलमा जीवन व्यति गरेपछि देवीले सन् २०१४ मा हतियार छोडेर आत्मसमर्पण गरिन्। त्यो बेला सरकारले आत्मसमर्पण सम्बन्धी नीति ल्याएको थियो।

यो नीतिअनुसार माओवादीहरू फेरि हतियार नउठाउने ग्यारेन्टीसहित आत्मसमर्पण गर्छन्। बदलामा सरकारले उनीहरुको पुनर्वासका लागि रकम, जमिन र जनावर दिने गर्छ।

गाउँलेहरुसँग शम्बाला देवी

देवी पनि छापामार जीवनबाट फेरि ग्रामीण घरेलु जीवनमा फर्किइन्।

आत्मसमर्पण गरेपछि देवी र उनका श्रीमान् शम्बाला रविन्दरले सरकारबाट जमिनको सानो टुक्रा, नगद रकम र सस्तो मूल्यमा २१ वटा भेडा प्राप्त गरे।

आत्मसमर्पण नीतिले स्पष्ट रूपमा माओवादीहरूबाट भएका अपराधमा माफी दिने भनेको छैन। हरेक ‘केस’ बारेको निर्णय व्यक्तिगत रूपमा हेरेर निर्णय गरिने र कोहीविरुद्ध मुद्दा चलाउने वा नचलाउने त्यसैक्रममा निर्णय गर्ने उल्लेख गरेको छ।

यो दम्पतीका भनाईमा, उनीहरूविरुद्ध हिंसासँग सम्बन्धित कुनै कानुनी मुद्दा छैन। हामीलाई प्राप्त आधिकारिक रिपोर्टहरूमा पनि उनीहरुविरुद्ध त्यस्तो कुनै मुद्दा दर्ता भएको देखिदैन।

आत्मसमर्पणपछि देवीले गाउँपालिकामा वार्ड सदस्यको चुनाव लडिन् र विजय पनि हासिल गरिन्।

वार्ड सदस्यलाई जनताका गुनासा गाउँको प्रमुखसम्म पुर्याउने र सरकारी योजनाहरू लागु गराउने जिम्मेवारी हुन्छ। उनी यो काम गर्छिन्। उनी सरकारसँग काम गर्दा कस्तो अनुभव हुन्छ भन्ने कुराको अनुभव गर्न चाहेको बताउँछिन्।

‘सरकारले अर्को वर्ष (सन् २०१६) को मार्च अन्त्यसम्म भारतबाट माओवादीलाई समाप्त पार्ने घोषणा गरेको छ, यसबारे तपाईं के भन्नुहुन्छ?’ हामीले देवीसँग सोध्यौँ।

गाउँलेहरुसँग शम्बाला देवी

उनी केहीबेर घोरिइन्। र, भनिन्, ‘सायद माओवादी आन्दोलन हार्लापनि। तर यो इतिहास बनिसकेको छ।

माओवादी आन्दोलनको माध्यमबाट संसारले एउटा ठूलो संघर्ष देखिसकेको छ। यसले अर्काे कुनै नयाँ पुस्तालाई आफ्ना अधिकारको लागि लड्न प्रेरणा दिन सक्छ।’

देवीले थपिन्, ‘सरकारले माओवादीका केही नेताहरुलाई पक्रेर मार्न सक्छ। तर सबैलाई होइन। मलाई लाग्दैन कि सरकारले माओवादी आन्दोलन निमिट्ट्यान्न पार्न भने सक्दैन।’

मैले देवीसँग ‘तपाईं आफ्नी आठ वर्षीया छोरी कहिल्यै सशस्त्र माओवादीमा जाओस् भन्ने चाहनुहुन्छ?’ भन्ने प्रश्नपनि गरेँ।

उनले भनिन्, ‘होइन, हामी अहिले जस्तो जीवन बाँचिरहेका छौँ, भविष्यमा पनि त्यस्तै जीवन बाँच्न चाहन्छौँ।’