बाल्कन क्षेत्रमा पर्ने सर्बियाका युवाहरूले लामो समयदेखि चलाइरहेको प्रदर्शनको गति गुमाउन थालेका थिए। त्यहीबेला एक अनपेक्षित स्थानबाट उनीहरुलाई प्रेरणा प्राप्त भयो।
उनीहरुको आन्दोलनमा प्रेरणा प्रदान गर्ने ठाउँ हो– नेपाल, सम्पूर्ण संसारको दुरीबाट झण्डै आधा टाढा रहेको सानो हिमाली मुलुक।
अकस्मात सर्बियाभर एकै शब्द लेखिएका ब्यानर देखिन थाले– नेपाल। सँगसँगै अर्को चेतावनीपनि थपियो- ‘नेपाली जनतालाई झैँ हामीलाई पनि उत्तेजित पार्ने काम नगर।’
नेपालको ‘जेन जी’ पुस्ताले आफूलाई पुरानो र भ्रष्ट लागेको सरकारलाई सेप्टेम्बरको सुरुवातमा जम्मा दुई दिनको प्रदर्शनबाट नै ढाल्न सक्षम भए। यो घटनालाई विश्वले आश्चर्यका साथ नियालेको थियो।
युवापुस्ताले सुरु गरेको त्यो विद्रोहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गरायो। त्यसक्रममा महत्वपूर्ण सरकारी भवनहरूको विनाश भए। अन्ततः मुलुकलाई सम्पूर्ण राजनीतिक परिदृश्यमा आमूल परिवर्तनको स्थितिमा पुर्यायो।
पुस्तान्तरणको जागरणको प्रतीकका रुपमा रहेका यी घटना अन्तर्राष्ट्रिय समुदायका लागि स्तब्ध पार्ने खालका थिए। कतिपयले यो प्रदर्शनलाई ‘ऐतिहासिक’ भने। तर कतिपय विदेशी सत्ताधारी वर्गले यसलाई निकै ‘खतरनाक संकेत’ को रूपमा लिएका छन्।
‘नेपाल’ र ‘हामीलाई पनि नेपाली जनतालाई जसरी उत्तेजित नपार’ भन्ने नारा सुरुमा साधारण लागे पनि यसले सर्बियाको सत्ताधारी वर्गलाई यति धेरै असहज बनाएको छ कि अहिले यो गम्भीर राजनीतिक बहसको विषय बनेको छ।
सर्बियाली राजनीतिविज्ञ तथा पत्रकार बोरिस बर्गाले ‘पश्चिम बाल्कन अध्ययन केन्द्र’ का लागि लेखेका छन्, ‘राष्ट्रपति अलेक्जाण्डर भुचिच र उनको टोलीले नेपालमा भएको युवाहरुको विद्रोह र दंगालाई ध्यानपूर्वक हेरेका छन्। नेपालको जस्तै दमन र अहंकारले सर्बियालाई पनि नेपालकै जस्तो परिदृश्यतर्फ धकेल्न सक्छ।
वर्गा प्रष्ट शब्दमा भन्छन्, बेलग्रेड (सर्वियाको राजधानी) को शासन सिर्फ नाकाबन्दी र सामूहिक विद्रोहबाट मात्र डराउँछ।
नेपालमा युवाहरूले जम्मा एक हप्तामै राजनीतिक पार्टीहरुका कार्यालय जलाए, विभिन्न संस्थाहरूमाथि आक्रमण गरे र राजनीतिक पार्टीहरुले चलाउँदै आएको शासनको पतन गराए।
तर सर्बियाली युवाहरु १० महिनादेखि आन्दोलनमा छन्। उनीहरुको आक्रोस उम्लिरहेको त छ। तर, आफ्नो आन्दोलनलाई निष्कर्षमा पुर्याउन भने सकेका छैनन्।
यसका बाबजुद दुबैतर्फका आन्दोलनका कारणहरूमा आश्चर्यजनक समानता भेट्न सकिन्छ।
सर्बियाको प्रदर्शन
सर्बियाली युवाहरू करिव एक वर्षदेखि सडकमा छन्। सुरुमा यो आन्दोलन एउटा संरचनाको घातक दुर्घटनाप्रति शोक मनाउने क्रममा सुरु भएको थियो। तर चाँडै नै यो भ्रष्ट र असक्षम राजनीतिक प्रणालीविरुद्धको विद्रोहमा परिवर्तित हुन पुग्यो।
जिर्णाेद्वार गरिएको नोवी साद रेल्वे स्टेशनको छत १ नोभेम्बर २०२४ मा भत्किँदा १६ जनाको मृत्यु भएको थियो। त्यसक्रममा दर्जनौं मानिसहरु घाइते भए।
यो दुर्भाग्यपूर्ण घटनालाई सुरुमा ‘दुर्घटना’ मात्रै ठानिएको थियो। तर छानबिनका क्रममा के कुरा पत्ता लाग्यो भने, जिर्णाेद्वारका क्रममा सुरक्षा निरीक्षण नजरअन्दाज गरिएको थियो, ठेकदारहरूले राजनीतिक संरक्षण पाएका थिए र भ्रष्टाचारका कारण नियमन प्रणाली कमजोर बनेको थियो।
त्यसपछि यो दुर्घटना तुरुन्तै ‘संस्थागत पतन’ को प्रतीक बन्न पुग्यो।
त्यसपछि विद्यार्थीहरूले मौन श्रद्धाञ्जली कार्यक्रम आयोजना गरे, जुन चाँडै नै प्रतिरोधमा बदलियो। दुर्घटनाका मृतकहरुप्रति श्रद्धाञ्जलीको रूपमा सुरु भएको कार्यक्रम तुरुन्तै बाल्कन क्षेत्रको आधुनिक इतिहासमा युवाहरुद्वारा निर्देशित सबैभन्दा शक्तिशाली आन्दोलनमा परिणत भयो।
त्यो आन्दोलन एक व्यापक र विकेन्द्रित प्रदर्शनमा परिवर्तित भयो, जसले जवाफदेहिता र सुधारको माग गर्यो।
१५ मार्च २०२५ मा करिब ३ लाख २५ हजार मानिसहरु बेलग्रेडको सडकमा निस्किए। स्वतन्त्र पर्यवेक्षकहरूले यसलाई सर्बियाको इतिहासकै सबैभन्दा ठूलो प्रदर्शन भनेका छन्।
सरकारले भने प्रदर्शनमा उपस्थितहरुको संख्या घटायो र १ लाख ७ हजार मात्र सहभागी भएको दाबी गरेको थियो।
तर वास्तविकता सरकारले दावी गरेभन्दा फरक थियो। रिपब्लिक स्क्वायर, स्टुडेन्ट्स स्क्वायर र नेशनल असेम्ब्ली वरपरका सडकहरू प्रदर्शनकारीहरूले भरिभराउ थिए। प्रदर्शनमा विद्यार्थीहमात्र होइन, ट्याक्सी चालक, किसान, वकिल, प्राध्यापक, पूर्व सैनिकहरुसमेत सहभागी थिए।
यसरी प्रदर्शनले असाधारण रूपमा सर्बियाली समाजको फराकिलो प्रतिनिधित्व प्रदर्शन गरेको थियो।
‘नोवी साद दुर्घटना’ का १५ मृतकहरूको सम्झनामा ‘१५ का लागि १५’ भन्ने नारा बनाइयो, जसले ‘न्याय’ का लागि सबैलाई एकजुट गर्न सफल भयो।
विगत १० महिनामा मागहरू अझ विस्तार गरिएका छन्। तिनमा ‘आपराधिक दुर्घटना’ को जिम्मेवारी, त्यसमा संलग्न पदाधिकारीहरूको राजीनामा, दुर्घटनाका कारणहरुको पारदर्शी छानविन, शिक्षा क्षेत्रमा उल्लेख्य लगानी, राजनीतिमा नातावादको अन्त्य, अयोग्य अभिजात वर्गको नियन्त्रण समाप्त लगायत छन्।
सरकार र प्रहरीद्वारा दमन भए पनि आन्दोलन जारी छ। आन्दोलनको नेतृत्व सुरुमा विद्यार्थीहरूले गरेपनि अहिले हरेक क्षेत्रका मानिस आन्दोलनमा सामेल भएका छन्।
सर्बियामा अक्सर राजनीति र डरले मानिसहरुमा विभाजन ल्याउने गरेको छ। तर यसपटकको आन्दोलन भने दुर्लभ छ, जसले सबै पुस्ता र वर्गलाई एकताको सूत्रमा बाध्न सफल भएको छ।
आन्दोलनबारे अन्य मुलुक, विशेषगरी युरोपका सरकार र संस्थाहरूले सावधानीपूर्वक प्रतिक्रिया दिएका छन्। युरोपेली संघ र संयुक्त राष्ट्रसंघले संवाद र लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्न आग्रह गरेका छन्, उनीहरुले आन्दोलनमा प्रत्यक्ष हस्तक्षेप भने गरेका छैनन्।
‘सिभिल राइट्स डिफेन्डर्स’ की युरोप विभाग निर्देशक इभाना रान्जेलोभिचले आन्दोलन सफल हुँदा त्यसले बाल्कन क्षेत्रमा मात्र होइन, विश्वभर नै प्रभाव पार्न सक्छ’ भन्ने चेतावनी दिएकी छन्।
नेपाल : प्रेरणा र चेतावनी
सर्बियामा आन्दोलन लामो समयदेखि चलिरहेको भएपनि नेपालमा छिट्टै सफलतामा पुगेको विद्रोहले सर्बियाली आन्दोलनकारीहरुलाई समेत झक्झक्याएको छ। भौगोलिक रूपमा टाढा भए पनि उस्तै खालको आक्रोस पोख्दै आएका नेपाली युवाहरुले दुई दिनको प्रदर्शनबाटै सरकार ढालेको विषय धेरै सर्बियालीहरुका लागि अर्थपूर्ण र उत्साहप्रद घटना बनेको छ।
त्यसैले अहिले सर्बियाका विभिन्न सहरमा ‘नेपाल’ लेखिएका ब्यानर देखिन्छन्। केहीले त ‘नेपालले सात दिनमै सफलता प्राप्त गर्न सक्छ भने हामीले १० महिनामा किन गर्न सकेनौं?’ भन्ने नारासहित ब्यानर टाँगेका छन्।
धेरै युवाहरूलाई नेपालको सफल विद्रोहले ‘गुमाउने कुनै कुरा नभएको पुस्ताले सबै कुरा बदल्न सक्छ’ भन्ने शिक्षा दिएको छ।
सर्बियाली सामाजिक सञ्जालमा ‘नेपाल’ शब्द व्यंग्य, हाँसो र चुनौतीको भावसहित फैलिएको छ। विपक्षी नेता मिरान पोगाचारले पोस्ट गरेका छन्, ‘जनतालाभन्दा माथि कोही छैन, हामीलाई पनि नेपालीहरुलाई जसरी उत्तेजित नबनाऊ।’
अर्का राजनीतिक कार्यकर्ता वान्जा बाहिल्ज व्यंग्य गर्दै लेख्छन्, ‘अब हामीले पर्दासहितको प्रोजेक्टर किन्नुपर्छ र नेपालका दृश्यहरू चाचिल्याण्डमा देखाउनुपर्छ।’
अनुसन्धानमूलक र खोजमा प्रख्याती कमाएको सर्बियाली समाचारपत्र ‘क्रिक’ का सम्पादक स्तेभान दोज्चिनोभिचले समेत टिप्पणी गरेका छन्, ‘अब सर्बियालाई पनि नेपालजस्तै युवा निर्देशित विद्रोहको सम्भावना भएका मुलुकहरूको सूचीमा राख्नुपर्छ।’
तर नेपाल प्रेरणा हो वा खतरा- यो कुरा सर्बियाभित्र व्यक्तिको राजनीतिक विचारमा निर्भर छ। राजनीतिक शास्त्रका स्नातक जर्जले भन्छन्, ‘मानिसहरूले नेपालको जेन जी आन्दोलनबारे सुनेका छन् तर त्यो आन्दोलनलाई कसरी बुझ्छन् भन्ने कुरा उनीहरूको दृष्टिकोणमा भर पर्छ। जसले यहाँको आन्दोलनलाई समर्थन गर्छ, उसले नेपाललाई पनि समर्थन गर्छ। जसले समर्थन गर्दैन, उसले दुवैतर्फको आन्दोलन अस्वीकार गर्छ।’

‘नेपालको उदाहरण उपयोगी त छ, तर सरकारले अर्को गम्भीर गल्ती नगरेसम्म यो आन्दोलन लामो समय नटिक्न सक्छ’ उनी लेख्छन्, ‘सायद नोवी साद दुर्घटनाको एक वर्षे वार्षिकोत्सव वरिपरि आन्दोलन उत्कर्षमा पुग्नेछ।’
सत्ताधारी वर्गको प्रतिक्रिया
पत्रकार वर्गाले भनेझैं, नेपालको युवापुस्ताले निर्माण गरेको आन्दोलनको ‘प्रतिक’ लाई सर्बियाली सत्ताधारी वर्गले बेवास्ता गर्न सक्दैन। सरकार समर्थक मिडियाहरुले आन्दोलित सर्बियाली विद्यार्थीलाई ‘नेपाल भाइरसले संक्रमित’ आरोपित गर्न थालेका छन्।
‘विदेशको अराजकतालाई समर्थन गरेको’ र ‘आफ्नो मुलुकमा त्यसलाई नक्कल गर्न खोजेको’ भनेर उनीहरुमाथि आरोप लगाइदैछ।
विपक्षी नेताहरूले ‘नेपाल अध्ययन’ गरेर अराजकतामा उत्प्रेरित गर्ने योजना बनाइरहेको भन्दै सरकारले चेतावनी दिइरहेको छ। जस्तो कि, सामाजिक स्थिरता केन्द्रका देजान लिसिका भन्छन्, ‘कुनै पनि हिंसा, अस्थिरता, र संस्थागत पतनलाई निन्दा गर्नुपर्छ। सर्बियाको राजनीतिक संघर्ष संस्थागत र संवैधानिक दायराभित्रै रहनुपर्छ।’
यस्तो तुलना गर्नेहरूलाई उनी ‘गहिरो आध्यात्मिक र मानवीय असफलता’ को आरोप लगाउँछन्।
‘पोलिटिका’ नामक अर्को सरकार समर्थक मिडियाले निश शहरबाट रिपोर्ट प्रकाशित गरेको छ, जसमा लेखिएको छ, निशमा अवरोध सिर्जना गर्नेहरुले ‘नेपाल’ लाई नयाँ नारा बनाएर अराजकताको माग गरेका छन्।’
‘प्रदर्शनकारीहरूले नेपालका झन्डा बोके, त्यसमा विश्वविद्यालयका सह-प्राध्यापक र विपक्षी सांसदहरु समेत सहभागी थिए, यो उक्साहटपूर्ण कार्यको प्रमाण हो’ त्यो रिपोर्टमा भनिएको छ, ‘यस्ता सन्देश सर्बियाको हिंसा र विनाशको लागि गरिएका आह्वान हुन्।’
यसरी सत्ताधारी वर्गका लागि नेपाल अब टाढाको विद्रोह मात्र होइन, सिमानापार फैलन सक्ने सम्भावित खतरा बन्न पुगेको छ।
‘भाइरस’ को संरचना : सीमापार युवाशक्ति
नेपाल र सर्बिया निकै टाढाका मुलुक हुन्। तरपनि दुवै मुलुकको अवस्थाबीच अहिले समानता छ। दुवै मुलुकका युवाहरुले स्थापित शक्तिलाई चुनौती दिएका छन्। दुवै मुलुकमा उठेका आन्दोलन भ्रष्टाचार र गैरजवाफदेही नेतृत्वविरुद्धका हुन्।
फरक भनेको आन्दोलनको गतिमात्र हो- नेपालमा यो एक हप्तामै विस्फोट भयो। सर्बियामा भने आन्दोलन लामो समयदेखि चलिरहेको छ।
‘भाइरस’ शब्दावली यसैका लागि प्रयोग गरिएको हो। जैविक अर्थमा भाइरसको फैलावट तीव्ररुपमा तर शान्तसँग हुन्छ। यसको प्रभाव पछिमात्र देखिन्छ।
राजनीतिक आन्दोलनहरू पनि यस्तै हुन्छन्। तस्बिर र नाराले सीमाना नाघेर प्रेरणा दिन्छन्।त्यसैगरी नेपालको विद्रोहले सर्बियाली जनतामा आशा देखाएको छ। सर्बियामा यसले ‘प्रेरणा’ र ‘खतरा’ दुवै सिर्जना गरेको छ।
‘म हिंसालाई समर्थन गर्दिनँ। तर दुवै पक्षमा हिंसात्मक स्वभावका मानिसहरु छन् जर्ज भन्छन्, ‘म सर्बियालीहरुको रगत बगेको हेर्न चाहन्न। हामीलाई संस्थागत सुधार चाहिन्छ।’
उनका भनाईमा, साँचो परिवर्तन भनेको लोकतान्त्रिक संयन्त्रहरुको सुधार हो। यसका लागि मतदाता सूचीबाट मृतकका नाम हटाएर सूची शुद्ध पारिनुपर्छ। मतदानप्रति निरपेक्ष युवाहरुलाई सक्रिय पारिनुपर्छ। साथै २-३ वटा ठूला विपक्षी गठबन्धन बनाएर सरकार निर्माण गरिनुपर्छ। अस्थिरताबाट निस्कने अहिंसात्मक बाटो यही नै हो।
‘नेपाल भाइरस’ केवल एक नारा मात्र हो वा वास्तविक परिवर्तनको बीउ- यो अहिले स्पष्ट छैन। तर यसको सन्देश भने स्पष्ट छन्, अब जहाँकहीँका नागरिकहरूले आफ्नो मुलुकमा पनि जवाफदेहिता माग गर्न सक्छन्।
नेपालको विद्रोह छोटो थियो तर रूपान्तरणकारी। सर्बियामा पनि यसको प्रतिध्वनि दिन–प्रतिदिन बलियो हुँदै गएको छ। युवाहरू प्रश्न गरिरहेका छन्- यदि नेपालमा परिवर्तन सम्भव भयो भने हाम्रो सम्भव किन हुँदैन?’
र, सत्ताधारीहरु त्यतापति चिन्तित हुन थालेको छन्।