अमेरिकाले इरानमै गरेको थियो, ७३ वर्षअघि ‘कू’ मार्फत् पहिलो सत्तापलट

अमेरिकी गुप्तचर संस्था ‘सीआइए’ ले बाह्य मुलुकमा गरेको पहिलो सत्ता परिवर्तनको घटना सन् १९५३ इरानमा भएको तखतापलट थियो।

त्यो तखतापलटमा इरानका राष्ट्रवादी प्रधानमन्त्री डा. मोसद्देग २८ अप्रिल १९५१ मा इरानको प्रधानमन्त्री बनेका थिए। उनी प्रधानमन्त्रीको कुर्सीमा पुगेका बेला इरानको आन्तरिक र बाह्य दुबै परिस्थिति अत्यन्त प्रतिकूल थियो।

एकातिर इरानका राष्ट्रिय शक्तिहरू थिए। अर्कोतिर बेलायतको नेतृत्वमा रहेका औपनिवेशिक शक्तिहरू इरानमाथि आफ्नो नियन्त्रण कायम राख्न प्रयत्नशील थिए।

यो अवस्था लामो राजनीतिक तथा बौद्धिक संघर्षको परिणाम थियो। डा. मोसद्देग बीसौँ शताब्दीको सुरुदेखि नै राष्ट्रिय इच्छाशक्तिको निर्माणमा सक्रिय थिए।

डा. मोसद्देगले इरानमा भएका ठूला परिवर्तनहरू देखे। संवैधानिक क्रान्तिदेखि तेल विवाद देखे।

देखेका मात्र होइनन्, उनी त्यसमा आफैपनि सक्रिय रूपमा सहभागी थिए। उनको सहभागिताले इरानको इतिहासलाई विल्कूल नयाँ दिशा प्रदान गर्यो।

व्यक्तित्वको विकास
‘इनसाइक्लोपीडिया ब्रिटानिका’ का अनुसार, मोहम्मद मोसद्देगको जन्म सन् १८८० मा इरानको तेहरानमा भएको थियो।

उनको निधन ५ मार्च १९६७ मा तेहरानको उत्तर-पश्चिममा कराज नजिकको अहमदाबाद गाउँमा आफ्नै निवासमा भयो।

उनी यस्ता इरानी राजनीतिज्ञ थिए, जसले आफ्नो मुलुकमा रहेको विशाल बेलायती तेल लगानी राष्ट्रियकरण गरेका थिए।

प्रधानमन्त्रीका रुपमा १९५१ देखि १९५३ सम्म सत्तामा रहेका उनले त्यहाँका शाह (राजा) लाई सत्ताबाट विस्थापित गर्न लगभग सफलता प्राप्त गरिसकेका थिए।

तर अमेरिका र बेलायतले संयुक्त रुपमा रचेको कुख्यात तख्तापलट (कू) का कारण उनी सत्ताबाट हट्न बाध्य भए।

उतिबेलापनि इरानी तेलका लागि अमेरिका-बेलायतले इरानमा तखतापलट गरेको थियो। अहिलेपनि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानी तेलको स्वार्थपूर्ति गर्न तखतापलटका लागि इरानमाथि आक्रमण गरेका छन्।

डा. मोसद्देग एक उच्च वर्गीय (कुलीन) परिवारमा जन्मिएका थिए। खासमा उनको परिवार सत्तारूढ काजार वंशसँग नजिक थियो।

पारिवारिक पृष्ठभूमिका कारण उनलाई उत्कृष्ट शिक्षाको अवसर प्राप्त भएको थियो।

उनले स्विट्जरल्यान्डको लोजान विश्वविद्यालयबाट कानुनमा पिएचडी उतीर्ण गरेका थिए। सन् १९१४ मा इरान फर्किएका उनलाई त्यहाँको महत्वपूर्ण मध्येको एक प्रान्त ‘फार्स’ को गभर्नर-जनरल नियुक्त गरिएको थियो।

१९२१ को सैन्य तख्तापलटपछि रेजा खान सत्तामा आए। त्यसपछि पनि डा. मोसद्देग सरकारका महत्वपूर्ण जिम्मेवारीमा रहे।

सुरुमा उनी वित्त मन्त्री बनेका थिए। पछि उनलाई केही समयका लागि विदेश मन्त्रीको जिम्मेवारीपनि प्रदान गरियो।

सन् १९२३ मा उनी इरानी संसद (मजलिस) मा निर्वाचित भए। तर १९२५ मा जब काजार वंशलाई सत्ताबाट हटाएर रेजा खानलाई रेजा शाह पहलवी बनाइयो, त्यसको उनले विरोध गरे।

राजनीतिक जीवनमा उथलपुथल
अगस्ट १९४१ मा बेलायती र सोभियत सेनाले इरानमाथि आक्रमण गरेका थिए। यो आक्रमणलाई ‘एंग्लो-सोभियत आक्रमण’ का नामले चिनिन्छ।

यो आक्रमणको मुख्य कारण थियो, रेजा शाहको नाजी जर्मनीसँगको सम्बन्ध।

इरानमा रहेका जर्मन विशेषज्ञहरूको उपस्थितिप्रति ‘मित्र राष्ट्र’ हरू चिन्तित थिए।

त्यसपछि रेजा शाहलाई राजीनामा दिन बाध्य पारियो। उनको स्थानमा छोरा मोहम्मद रेजा शाह पहलवी गद्दीमा बसे।

इरानमा विकसित यो राजनीतिक परिघटनाबीच मोसद्देग १९४४ मा पुनः सार्वजनिक जीवनमा फर्किए र संसदमा निर्वाचित भए।

खासमा उनी १९२५ मा काजार वंशलाई सत्ताबाट हटाएर रेजा खानलाई रेजा शाह पहलवीलाई राजा बनाइएको विषयको विरोध गरेपछि राजनीतिबाट पछि हट्न बाध्य भएका थिए।

सक्रिय राजनीतिमा पुन पदार्पणपछि सन् १९४९ मा उनले ‘नेशनल फ्रन्ट’ नामको पार्टी स्थापना गरे। यसको उद्देश्य राष्ट्रिय स्वतन्त्रता, लोकतन्त्र स्थापना र विदेशी प्रभाव (विशेष गरी बेलायती) हटाउनु थियो।

इरानी तेलको राष्ट्रियकरण
एंग्लो-इरानियन आयल कम्पनी (पछि ब्रिटिश पेट्रोलियम) ले लामो समयदेखि इरानी तेलमा नियन्त्रण राखेको थियो।

इरानी तेललाई राष्ट्रियकरण गर्ने मुद्दा नै मोसद्देगको सत्ता उदयको मुख्य आधार बनेको थियो।

इरानी तेलको अधिकांस लाभ बेलायतले लिइरहेको थियो। यस सम्बन्धमा भएको सम्झौतालाई इरानी जनताले अन्यायपूर्ण ठानेका थिए।

मार्च १९५१ मा इरानी संसदले तेल राष्ट्रियकरण कानून पारित गर्‍यो। त्यसपछि राजा शाहलाई मोसद्देगलाई प्रधानमन्त्री बनाउन बाध्य पारियो। २८ अप्रिलमा मोसद्देग प्रधानमन्त्री बनेका थिए।

टाइम म्यागजिनले उनी १९५१ मा उनलाई ‘पर्सन अफ द इयर’ घोषणा गरेको थियो।

इरानी तेललाई राष्ट्रियकरण गर्ने उनको निर्णयले बेलायतसँग टकराव उत्पन्न भयो।

बेलायतले इरानी तेलमाथि प्रतिबन्ध लगायो। यो प्रतिबन्धका कारण इरानी अर्थतन्त्रलाई गम्भीर असर गर्‍यो।

देशभित्र पनि राजा शाह, सेना र अन्य राजनीतिक शक्तिहरूसँग उनको सम्बन्ध तनावपूर्ण हुँदै गयो।

इरानभित्र विकसित घटनाक्रमप्रति सुरुमा अमेरिका तटस्थ थियो। तर, शीतयुद्धका कारण अमेरिकापनि मोसद्देगप्रति सशंकित हुन थाल्यो।

अन्ततः तख्तापलट
अगस्ट १९५३ मा इरानमा सत्ता संघर्ष चरममा पुग्यो।

पहिले शाह देशबाट भाग्न बाध्य भए, तर केही दिनमै अमेरिका र बेलायतको समर्थनमा पुनः सत्तामा फर्काइए।

अमेरिकाले ‘अपरेशन एजेक्स’ नामक गुप्त अभियान सञ्चालन गर्‍यो, जसअन्तर्गत दंगा फैलाउने, प्रचार गर्ने, नेता र मिडियालाई प्रभावित गर्ने काम गरिएको थियो।

सोही अभियानका कारण १९ अगस्ट १९५३ मा मोसद्देग सरकारको पतन भयो।

यो तख्तापलटपछि मोसद्देग पक्राउ परे। उनलाई तीन वर्ष जेलमा राखियो। त्यसपछि रिहा भएपनि जीवनभर उनी नजरबन्दमा राखिए।

नजरबन्दको अवस्थामै ५ मार्च १९६७ मा मोसद्देगको निधन भएको थियो।

इरानी राष्ट्रवादका नायक
अमेरिकी-बेलायती षडयन्त्रका कारण सत्ताबाट हट्नु परेपनि उनी इरानमा राष्ट्रिय स्वतन्त्रताको प्रतीक मानिन्छन्।

इरानी जनताहरु मोसद्देगलाई ईमानदारी, देशभक्ति र विदेशी हस्तक्षेपविरुद्धको संघर्षको पर्यायका रुपमा सम्मान गर्छन्।

सन् १९७९ को इस्लामिक क्रान्ति (जसले इरानमा शाह बंशको शासन समाप्त गरेको थियो) भयो। धेरै इतिहासकारहरू १९५३ को तख्तापलटलाई यो क्रान्तिको आधार मान्छन्।

अन्तर्राष्ट्रिय रूपमा पनि उनी उपनिवेशवादविरुद्धको संघर्षका प्रतीक बनेका छन्।

खासमा डा. मोसद्देग २८ अप्रिल १९५१ मा प्रधानमन्त्री बन्नु राजनीतिक घटना मात्र थिएन, बरु त्यो इरानी जनताको स्वतन्त्रताको आकांक्षाको प्रतिबिम्बन थियो।

हो, उनको शासनको अन्त दुखद रह्यो, तर यसको प्रभाव दशकौंसम्म इरान र विश्वभर कायम रह्यो।

उनको जीवन कसरी अन्तर्राष्ट्रिय शक्तिहरूले एक मुलुकको आर्थिक, राजनीतिक भविष्य निर्धारण गर्न सक्छन् भन्ने कुरा छर्लंग देखिने ऐना हो।

(यो सामाग्री हामीले बीबीसी हिन्दीबाट लिएका हौँ। त्यसक्रममा मूलभाव तल-माथि नहुने गरी केही भाग थपघट पनि गरेका छौँ।)