भय, व्यक्तिगत निष्ठा र वफादारीमा आधारित र माफिया शैलीमा सञ्चालन हुने गठबन्धनले जनहितको सही सेवा गर्न सक्दैन। किनभने त्यस्तो व्यवस्थाको पहिलो प्राथमिकता देश होइन, नेताको रक्षा गर्नु हुन्छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका का व्यक्तिगत वकिल मिखाइल राबेल्लो लाई इजरायलको नयाँ राज्य नियन्त्रक……का रूपमा नेसेट (इजरायली संसद) ले निर्वाचित गर्नु आजको इजरायली राजनीतिमा रहेको समस्याको प्रतीक हो।
र, यसको कारण राबेल्लो स्वयं होइनन्।
नेतान्याहुका वकिल राबेल्लोलाई धेरैले शिष्ट स्वभावका, सक्षम कानुन व्यवसायी तथा इजरायली कानुनी प्रणालीभित्र सम्मानित व्यक्तिका रूपमा वर्णन गरेका छन्।
उनी यो पदका लागि योग्य छन् वा छैनन् भन्ने कुरा गौण विषय हो। समस्या पद प्राप्त गर्ने व्यक्तिमा होइन, उनलाई निर्वाचित गर्ने प्रक्रियामा छ।
राज्य नियन्त्रक कार्यालयको महत्त्व
‘राज्य नियन्त्रक’ इजरायली सार्वजनिक जीवनको सबैभन्दा महत्त्वपूर्ण निगरानी निकायमध्ये एक हो। राज्य नियन्त्रक कार्यालयले सरकारी संस्थाहरूको स्वच्छता र कार्यसम्पादनको अनुगमन गर्छ, मन्त्रालय तथा सार्वजनिक निकायहरूको लेखापरीक्षण गर्छ, त्रुटि तथा असफलताहरूको अनुसन्धान गर्छ र सार्वजनिक बहसलाई दिशा प्रदान गर्न तथा सुधारका कार्यक्रम अघि बढाउन सक्ने प्रतिवेदनहरू प्रकाशित गर्छ।
राज्य नियन्त्रकलाई व्यापक कागजात र सूचनामा पहुँच प्रदान गरिन्छ। किनकि यो कार्यालयले सत्तामा रहेका व्यक्तिहरूमाथि स्वतन्त्र निगरानी राख्ने निकायका रूपमा काम गर्छ।
यही स्वतन्त्रता नै राज्य नियन्त्रकले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्न सक्ने आधार हो।
यस पदको महत्त्वलाई ध्यानमा राख्दै इजरायली कानुनले राज्य नियन्त्रकको निर्वाचन नेसेटमा गोप्य मतदानमार्फत् हुनुपर्ने व्यवस्था गरेको हो। यसको उद्देश्य मतदानको विश्वसनीयता कायम राख्नु हो, सांसदहरूलाई दबाबबाट जोगाउनु हो र उनीहरूलाई राजनीतिक प्रभावविना स्वतन्त्र निर्णय लिन सक्षम बनाउनु हो।
तर गठबन्धनका सांसदहरूलाई नेतान्याहुले समर्थन गरेका उम्मेदवारलाई मतदान गरेको भिडियो आफैंले खिच्न बाध्य पारिएको भन्ने समाचारले गोप्य मतदानलाई व्यवहारतः ‘वफादारी परीक्षण’ मा परिणत गरिदियो।
यस घटनाको बचाउमा दिइएको तर्क यस्तो थियो, ‘सांसदहरूलाई आफ्नै मतदानको अभिलेख राख्ने अधिकार छ, भलै त्यसले गोपनीयतालाई कमजोर बनाओस्।’
समर्थकहरूको भनाइ अनुसार वास्तविक चुनौती भनेको यस्तो भिडियो खिच्ने काम सत्तारूढ ‘लिकुड’ पार्टीको निर्देशनमा भएको थियो भन्ने कुरा प्रमाणित गर्नु हो। तर, यसलाई गठबन्धनले अस्वीकार गरेको छ।
तर गठबन्धनका यति धेरै सांसदहरूले स्वतन्त्र रूपमा एउटै निर्णय गर्दै आफ्नो मतदानको भिडियो खिचे भन्ने अर्को कुनै सम्भावित परिदृश्य कल्पना गर्न गाह्रो छ।
उनीहरूले ती भिडियो सार्वजनिक गरेनन्, सामाजिक सञ्जालमा पोस्ट गरेनन्। कसैले पछि प्रमाण नहेरुन्जेलसम्म उनीहरुले आफूले खिचेको भिडियोबाट उनीहरूले कुनै राजनीतिक लाभ प्राप्त गरेनन्।
गठबन्धनका केही समर्थकहरूले यसलाई नेतान्याहुले चाहेको परिणाम सुनिश्चित गर्न अपनाइएको ‘चतुर उपाय’ वा ‘सृजनात्मक समाधान’ का रूपमा व्याख्या गरेका छन्।
तर यस्तो सोचाइ खतरनाक छ।
राजनीतिक अप्ठेरो सिर्जना हुँदा मतपत्रको गोपनीयताको सिद्धान्त यति सजिलै त्याग्न सकिन्छ भने भविष्यमा लोकतन्त्रका अन्य कुन सुरक्षात्मक व्यवस्थाहरूलाई पनि संरक्षणको सट्टा हटाउनुपर्ने बाधाका रूपमा हेरिन सक्छ।
इजरायली राजनीतिमा अन्धभक्तिको संस्कृति
यो घटना इजरायली राजनीतिमा, विशेष गरी नेतान्याहुको गठबन्धनभित्र विस्तारै जरा गाड्दै गएको संस्कृतिको प्रतिबिम्ब हो।
त्यहाँ सांसदहरूले स्वतन्त्र रूपमा सोचून् भन्ने अपेक्षा छैन, बरु पार्टीले जे भन्छ, त्यही लाइनमा हिँडून् भन्ने अपेक्षा छ। यसबाट इजरायली संसद ‘नेसेट’ प्रधानमन्त्रीका निर्णयहरू अनुमोदन गर्ने साधारण ‘रबर स्ट्याम्प’ जस्तै बन्ने जोखिममा छ।
गठबन्धनमा अनुशासन कायम गर्नु संसदीय राजनीतिमा सामान्य कुरा हो। तर पार्टी अनुशासन र विशेष रूपमा दबाबबाट सुरक्षित राख्न बनाइएको गोप्य मतदानमा वफादारीको प्रमाण माग्नुबीच ठूलो अन्तर छ।
धेरै इजरायलीहरूले गरेको तुलना असहज लाग्न सक्छ, तर बुझ्न सकिने खालको छ। भय, व्यक्तिगत निष्ठा र वफादारीको प्रमाणमा आधारित माफिया शैलीको गठबन्धनले जनहितको सही सेवा गर्न सक्दैन। किनकि त्यसको पहिलो प्राथमिकता देशको हितभन्दा नेताको संरक्षण हुन्छ।
मतदानपछि ‘याशार’ पार्टीका सांसद गादी एसेनकोटले ले राबेल्लोलाई खुला पत्र लेखेर निर्वाचन प्रक्रियाको प्रकृतिका कारण उक्त पद अस्वीकार गर्न आग्रह गरेका थिए।
‘तपाईंलाई एक तानाशाही शैलीको प्रक्रियामार्फत चयन गरिएको हो, जसले इजरायली लोकतन्त्रमाथि चुनौती खडा गर्यो’ उनले ट्वीटरमा लेखे, ‘यो प्रक्रिया त्यस्तो प्रधानमन्त्रीको नेतृत्वमा सञ्चालन भयो जसले जनविश्वास गुमाइसकेका छन् र आफूलाई कानुनी शासनभन्दा माथि ठानिरहेका छन्।’
उनले यो पनि लेखेका छन् कि, ‘यदि तपाईंसँग नैतिकता र मूल्यको अलिकति पनि भावना छ भने, तपाईंले तुरुन्तै यो पद स्वीकार गर्न अस्वीकार गर्ने घोषणा गर्नुपर्छ।’
‘मेरो र अरु धेरै मानिसहरुको विचारमा यदि तपाईंले यो पद स्वीकार गर्नुभयो भने तपाईं इजरायलमा कुनै पनि सार्वजनिक पद धारण गर्न अयोग्य ठहरिनुहुनेछ।’
राबेल्लोले पद स्वीकार गर्छन् वा गर्दैनन् भन्ने कुरा दोस्रो प्रसङ्ग हो। वास्तविक काण्ड चाहिँ गोप्य मतदानलाई प्रधानमन्त्रीप्रति निष्ठा प्रमाणित गर्ने अभ्यासमा परिणत गरिनु हो।
इजरायली राजनीतिमा आएको गिरावट प्रायः एउटै दृश्यमा समेट्न सकिँदैन।
तर यसपटक त्यो गिरावट मतदान केन्द्रको पर्दाभित्र खिचिएका दर्जनौं भिडियोहरूमा कैद भएको छ—त्यो मतदान केन्द्र, जसको उद्देश्य स्वतन्त्र छनोटको ग्यारेन्टी गर्नु थियो।