मानव विकासको नयाँ कथा बाचक दस लाख वर्ष पुरानो खोपडी

चीनमा दश लाख वर्ष पुरानो मानव खोपडी फेला परेको छ। फेला परेको यो खोपडीले देखाउँछ कि, हाम्रा पुर्खा ‘होमो सेपियन्स’ को उत्पति अहिलेसम्म स्वीकार गरिँदै आएको समयभन्दा करिब पाँच लाख वर्ष अगाडि नै भएको रहेछ।

नयाँ अध्ययनका आधारमा शोधकर्ताहरूले यस्तो दाबी गरेका हुन्। मानव विकासबारे नयाँ तथ्य बताउने यो खोपडी चीनको हुबेई प्रान्तस्थित ‘सिएतान लियांग्जी साइट’ मा भेटिएको थियो।

यस खोजले हामी ‘नियन्डरथल्स’ जस्ता अन्य मानव प्रजातिसँग पहिले मानिएको भन्दा धेरै लामो समयसम्म सँगै रहेकाछौँ भन्ने पनि देखाएको छ।

शोधकर्ता वैज्ञानिकहरूका भनाईमा, खोजपछिको विश्लेषणले मानिसको विकासबारे हाम्रो पूर्व–धारणा बदल्न सघाउ पुर्याउँछ।

यदि यो कुरा सही सावित भयो भने प्रारम्भिक मानव इतिहासको एउटा महत्वपूर्ण कहानी नै परिवर्तन हुनेछ।

तर, यस क्षेत्रमा कार्यरत केही अन्य विज्ञहरूले भने यो कुरा अहिलेसम्म पूर्ण रूपमा प्रमाणित नभएको दावी गरेका छन्।

उनीहरुका भनाईमा, यो कुराको सम्भावना भने देखिन्छ।

यो खोज प्रतिष्ठित पत्रिका ‘साइन्स’ मा प्रकाशित भएको छ।

शोधकर्ताहरुको टोली यो खोजका क्रममा आफैपनि अचम्ममा परेको थियो। यो टोलीमा एक चिनियाँ विश्वविद्यालय र बेलायतको ‘नेचुरल हिस्ट्री म्युजियम’ का वैज्ञानिक सहभागी थिए।

यो अनुसन्धानको सह-नेतृत्व फुदान विश्वविद्यालयका प्राध्यापक शीजुन नीले गरेका थिए।

प्राध्यापक शीजुनका भनाईमा, सुरुमा उनीहरुले जब त्यो नतिजा प्राप्त गरे, त्यो नतिजा उनीहरुलाई पनि विश्वास गर्न उनीहरुलाई पनि कठिन भयो। उनीहरुलाई पनि मानिसहरुको प्रजाति यति पुरानो कसरी हुन सक्छ भन्ने लाग्यो।

‘तर हामीले पटक-पटक सबै विधिबाट परीक्षण गर्यौँ, सबै मोडेल र प्रविधि प्रयोग गर्यौँ’ प्राध्यापक शीजुन भन्छन्, ‘अब भने हामी प्राप्त नतिजाप्रति पूर्ण रूपमा विश्वस्त र निकै उत्साहित पनि छौँ।’

खोपडीको वर्गीकरण
यो खोपडीको नामाकरण ‘युनशियन–२’ गरिएको छ।

जब वैज्ञानिकहरूले यो खोपडी भेटे, उनीहरूलाई लागेको थियो, ‘यो हाम्रो प्रारम्भिक पूर्वज ‘होमो इरेक्टस’ को खोपडी हुनसक्छ।’

‘होमो इरेक्टस’ ठूलो मस्तिष्क भएका प्रारम्भिक मानिस थिए।

त्यो समय ‘विकसित मानव’ को उत्पत्ति भएको नठानिएकाले उनीहरुलाई यति पुरानो खोपडी भनेको ‘होमो इरेक्टस’ नै हो भन्ने लागेको थियो।

पछिल्लो अध्ययनअनुसार, करिब छ लाख वर्षअघि ‘होमो इरेक्टस’ दुई भागमा विभाजित भयो- एउटा ‘निएन्डरथल्स’, अर्को हाम्रो प्रजातिको रुपमा रहेको ‘होमो सेपियन्स।’

तर युनशियन–२ को नयाँ अनुसन्धान टोलीभन्दा बाहिरका विज्ञहरूपनि सहभागी थिए। उनीहरुको शोधले पनि यो खोपडी ‘होमो इरेक्टस’ को नभएकै देखायो।

चीनको हुबेई प्रान्तमा फेला परेको १० लाख वर्ष पुरानो मानव खोपडी

अब उनीहरु के निष्कर्षमा पुगेका छन् भने यो खोपडी ‘होमो लोंगी’ को प्रारम्भिक स्वरूप हो।

यो प्रजाति ‘नियन्डरथल्स’ र ‘होमो सेपियन्स’ सरह नै विकसित प्रजाति थियो।

वैज्ञानिकहरूको भनाइमा, यदि ‘युनशियन–२’ दश लाख वर्षअघि पृथ्वीमा थियो भने सम्भवतः त्यही समयमा ‘नियन्डरथल्स’ र ‘होमो सेपियन्स’ को प्रारम्भिक रूप पनि अस्तित्वमा थियो।

यो अनुसन्धानका सह–नेतृत्वकर्ता समेत रहेका नेचुरल हिस्ट्री म्युजियमका प्राध्यापक क्रिस स्ट्रिङरका भनाईमा, चकित पार्ने यो विश्लेषणले ठूलो आकारको दिमाग भएका मानिसहरूको विकासको ‘टाइमलाइन’ लाई कम्तीमा पाँच लाख वर्ष पछाडि सारिदिएको छ।

‘हाम्रो पृथ्वीमा कतै न कतै दस लाख वर्ष पुराना ‘होमो सेपियन्स’ का जीवाश्महरू छन्’ प्राध्यापक क्रिस स्ट्रिङर भन्छन्, ‘तर हामीले अहिलेसम्म तिनीहरूलाई पत्ता लगाउन सकेका छैनौँ।’

अनुसन्धानमा असहमति
प्रारम्भिक मानिसको प्रजाति निश्चित गर्ने दुई विधि हुन्छन्। एक, खोपडीको आकारको विश्लेषण। दुई, जेनेटिक तथ्याङ्क।

‘युनशियन-२’ को सन्दर्भमा दुवै विधि अपनाइएको थियो र दुबैबाट एकै खालको निष्कर्ष निस्कियो।

तर क्याम्ब्रिज विश्वविद्यालयका डा. ऐल्भिन स्कालीजस्ता केही अनुसन्धानकर्ताले भने दुवै विधिमा धेरै अनिश्चितता हुने बताएका छन्।

उनी भन्छन्, ‘समयको अनुमान लगाउँदा निकै सावधानी अपनाउनुपर्छ, किनकि यो अति कठिन काम हो-चाहे प्रमाण जेनेटिक होस् वा जीवाश्म (खोपडी) को अनुसन्धान।’

उनका भनाईमा, प्राध्यापक प्राध्यापक शीजुन र स्ट्रिङरका नतिजा ‘सम्भावित’ मात्र हुन्, यकिन भइसकेका होइनन्। यसलाई यकिन गर्न अझै बढी प्रमाणहरुको आवश्यकता छ।

‘यदि अध्ययनको यो नतिजालाई जेनेटिक तथ्याङ्कले समर्थन गर्छ भने हामी यसप्रति अझै विश्वस्त हुनसक्छौँ’ बीबीसीसँगको कुराकानीमा उनले भनेका छन्।

अफ्रिका र एसियामा पाइएका प्रमाण
अफ्रिकामा पाइएको सबैभन्दा पुरानो ‘होमो सेपियन्स’ को प्रमाण करिब तीन लाख वर्ष पुरानो हो।

त्यसैले, हाम्रो प्रजाति सायद पहिलो पटक एशियामै विकसित भएको थियो कि भन्ने विचार हामीलाई आकर्षक लाग्छ।

मानव खोपडीको अनुसन्धानमा संलग्न चिनियाँ र बेलायती अनुसन्धानकर्ताहरु

तर प्राध्यापक स्ट्रिङरका भनाईमा, यो कुरा यकिन रुपमा अहिले नै पक्का भन्न सकिँदैन। किनभने अफ्रिका र युरोपमा पनि करिब दस लाख वर्ष पुराना मानव जीवाश्महरू छन्, तिनलाई पनि यस विश्लेषणमा समावेश गर्न जरुरी छ।

‘केही आनुवांशिक (जेनेटिक) प्रमाणले हाम्रो प्रजाति अझ पहिल्यै अस्तित्वमा आएको संकेत गर्छन्’ उनी भन्छन्, ‘तर यो कुरा अहिलेसम्म पुष्टि भने भएको छैन।’

नयाँ समयरेखा
होमो सेपियन्स, होमो लोंगी र निएन्डरथल्स- यी तीन मानव प्रजाति पृथ्वीमा करिब पाँच लाख वर्षसम्म सँगै रहे, जुन पहिले मानिएको समयभन्दा धेरै लामो समयावधि हो।

त्यसैले, यस अवधिमा उनीहरूबीच आपसमा भेटघाट र प्रजननको समेत सम्भावना छ।

यो नयाँ अवधारणाले ती दर्जनौँ मानव जीवाश्महरूलाई वर्गीकरण गर्न सहयोग गर्छ, जुन पाँच लाखदेखि तीन लाख वर्षबीचका हुन् र तिनीहरुलाई वैज्ञानिकहरूले अहिलेसम्म ठ्याक्कै वर्गीकृत गर्न सकेका थिएनन्।

तर होमो सेपियन्स, होमो लोंगी र निएन्डरथल्सको प्रारम्भिक उत्पतिले यो समस्या धेरै हदसम्म समाधान हुन्छ।

प्राध्यापक प्राध्यापक शीजुनका भनाईमा, अब ती जीवाश्महरूलाई यी तीन ठूला प्रजातिहरू वा तिनका प्रारम्भिक पूर्वज (एशियाली होमो इरेक्टस र हाइडलबर्गेन्सिस) को भागका रूपमा राख्न सकिन्छ।

उनी भन्छन्, ‘मानव विकास एउटा रूखजस्तै हो। जसका धेरै शाखा थिए। यी तीन प्रमुख शाखा आपसमा निकै सम्बन्धित थिए। तिनीहरुबीच आपसी सम्पर्क र प्रजनन भएको हुनसक्छ।’

यो खोपडीका साथ हुबेई प्रान्तमा थप दुई खोपडी भेटिएका थिए। तर ती अत्यधिक क्षतिग्रस्त भएकाले पहिचान गर्न कठिन थियो।

त्यही कारण ‘युनशियन-२’ लाई पहिले ‘होमो इरेक्टस’ मानिएको थियो।

प्राध्यापक प्राध्यापक शीजुनको टोलीले ती खोपडीहरूको वास्तविक आकार पुनःनिर्माण गर्न ‘स्क्यान’ गर्‍यो, ‘कम्प्युटर मोडेलिङ’ प्रविधि प्रयोग गर्‍यो र थ्री–डी प्रिन्टरमार्फत् प्रतिकृतिहरू बनायो।

असली स्वरूपमा खोपडीहरू हेरेपछि वैज्ञानिकहरूले तिनीहरूलाई फरक र अझै उन्नत समूहमा राख्न सफल भए। (बीबीसी हिन्दीबाट)