कफीले मानिस र संस्कृतिलाई जोड्ने अद्भुत क्षमता राख्छ, यो यति शक्तिशाली पनि छ कि, यसले सीमाना र राजनीतिक अवरोधपनि सहजै पार गर्छ।
तत्कालिन पूर्वी जर्मनीले कफी संकटका बीच भियतनामसँग यस्तो साझेदारी गरेको थियो, जसले दुबै देशलाई नजिक त ल्यायो नै। भियतनामको कफी उद्योगको भविष्यसमेत परिवर्तन गरिदियो।
सन् १९७६ मा पूर्वी जर्मनी गम्भीर कफी संकटमा फस्यो। यो संकटको सुरुवात ब्राजिलमा भएको विनाशकारी चिसोले गरेको थियो। चिसोका कारण ब्राजिलको कफी बालीलाई नराम्रोसँग असर गर्यो, कफी उत्पादन घट्यो।
यसको असर विश्वव्यापी रुपमा नै पर्यो। यसले गर्दा बजारमा कफीको मूल्य बृद्धि भयो।
सधैँ विदेशी मुद्राको सधैं अभाव झेल्दै आएको पूर्वी जर्मनीलाई थप मार पर्यो।
सन् १९७४–७५ मा पूर्वी ले कफीमा करिब १ सय ५० मिलियन भ्यालुटा मार्क (पूर्वी जर्मन मुद्रा) खर्च गरेको थियो। तर १९७६ मा यो खर्च झण्डै पाँचगुणा बढेर ७०० मिलियन पुग्यो।
पूर्वी जर्मनीका जनताका लागि कफी बिहानी जीवनशैलीको हिस्सा भइसकेको थियो। तर कर्फीमा भएको आपूर्तिको अभाव तुरुन्तै त्यहाँका जनताको असन्तुष्टिको कारण बन्यो।
सरकारले बजार–आधारित कोटा प्रणाली लागू गर्नु नपरोस् भन्ने उद्देश्यका साथ कफीको मूल्य दोब्बर बनायो। कफीको माग घटोस् भन्ने आशामा यो उपाय अपनाइएको थियो। यसैगरी
कफीका ब्रान्डहरूको विविधता हटाइयो। तरपनि आपूर्ति अझै अपूरो रह्यो। अन्ततः, ५० प्रतिसतमात्र कफी र बाँकीमा विभिन्न प्रकारका खाद्य वस्तु मिसाइएको कफीको मिश्रण बजारमा ल्याइयो।
कफीको यो समिश्रणलाई जनताले रुचाएनन्। तरपनि रेस्टुरेन्ट र क्याफेहरूमा समेत यस्तै मिश्रण प्रयोग गर्न बाध्य पारियो। यसले गर्दा कफी मेसिनहरू बारम्बार बिग्रन थाले।
कफी संकटले जनअसन्तुष्टि बढाउँदै लगेपछि पूर्वी जर्मनीले नयाँ उपाय खोजी गर्न थाल्यो।
त्यसक्रममा अंगोला, मोजाम्बिक र इथियोपिया जस्ता समाजवादी मित्रराष्ट्रहरूसँग पूर्वी जर्मनीले हतियारको साटो कफी लिने प्रस्ताव गर्या।
इथियोपियाका नेता मेङ्गिस्टु हैले मरियमले यो प्रस्ताव सहर्ष स्वीकार गरे।
१९८० को दशकमा पूर्वी जर्मनीले भियतनामसँग फरक ढंगको सहकार्य सुरु गर्यो।
भियतनाममा फ्रान्सेली उपनिवेशकालमा कफी खेती सुरुवात गरिएको थियो। भियतनाम युद्धपश्चात कर्फी खेति पुनर्जीवित हुँदै थियो।
अमेरिकी प्रतिबन्ध हटेपछि भियतनामले कफी उत्पादन विस्तारको अवसर प्राप्त गरेको थियो।
राज्यस्तरीय सम्झौताअनुसार पूर्वी जर्मनीले भियतनामका कफी उत्पादन क्षेत्रहरूमा मेसिन, आवास, अस्पताल र पूर्वाधार निर्माणमा सहयोग गर्यो। बदलामा उसले २० वर्षसम्म भियतनामको कफी उत्पादनको आधा भाग प्राप्त गर्ने अधिकार
पायो।
सो सम्झौता अनुसार करिब १० हजार भियतनामीहरुलाई कफी खेतीका लागि पुनर्स्थापित गरिएको थियो।
तर, केही समयपछि, सन् १९८९ मा बर्लिन पर्खाल ढल्यो, पूर्वी जर्मनी र पश्चिम जर्मनी एक भए। पूर्वी जर्मनीको कम्युनिष्ट प्रणालीसमेत ढल्यो।
यसले गर्दा बजारमा पश्चिमी ब्रान्डहरूको बर्चस्व स्थापित भयो।
तर भियतनामी कफी त्यसअघि प्रचलनमा ल्याइएको मिश्रणभन्दा गुणस्तरीय थियो। अहिले भियतनामी कफीलाई अन्य कफीमा मिसावटको रूपमा प्रयोग गरिन्छ।
२०२२ सम्म आइपुग्दा भियतनामले करिब ३० मिलियन बोरा (प्रत्येक बोरामा ६० किलो) कफी उत्पादन गर्यो, जसले उसलाई विश्वको दोस्रो ठूलो कफी उत्पादक र सबैभन्दा ठूलो रोबुस्टा ब्राण्डको कफी उत्पादक बनाएको छ।
भियतनाम अहिले योजनाबद्ध अर्थतन्त्रको उत्पादनका लागि मात्र होइन, उत्कृष्ट रोबुस्टा कफी उत्पादनका लागि समेत विश्व प्रसिद्ध बनेको छ।
जर्मनीको पूर्वी क्षेत्रमा अझै भियतनामी कफीले अतीतको स्वाद सम्झाइरहेको छ। कठोर मौसमसमेत सहन सक्ने क्षमताका कारण रोबुस्टा कफीको महत्व भविष्यमा अझ बढ्दै जाने पक्का छ।
यो ‘कफी कूटनीति’ ले देखाउँछ, देशहरुले कसरी संकटमा पनि अनुकूल नीति अख्तियार गर्छन्, नवप्रवर्तन गर्छन्, र विश्व कफी इतिहासमा आफ्नो छाप छोड्छन्!
