चीन भ्रमणको दोस्रो दिन परराष्ट्रमन्त्री शिशिर खनालका दुई महत्वपूर्ण भेटवार्ताहरु भएका छन्।
चिनियाँ विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिष्ट पार्टी सीपीसी) अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउ हाइसिङसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता भएको हो।
यसमध्ये परराष्ट्रमन्त्री वाङसँग सोमबार साँझ र विदेश विभाग प्रमुख लिउसँग अपरान्ह भेटवार्ता भएको थियो।
समकक्षी भेटमा वार्ताका ६ विषय
वदेशमन्त्री वाङसँग भेटवार्ताका क्रममा विभिन्न ६ वटा विषयमा छलफल भएको मन्त्री खनालले उल्लेख गरेका छन्।
उनका भनाईमा, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), सीमा व्यवस्थापन, व्यापार, प्रविधि हस्तान्तरण तथा बहुपक्षीय सहकार्यलगायत द्विपक्षीय सम्बन्धका सम्पूर्ण आयामबारे व्यापक छलफल भएको थियो।

‘साथै, जनस्तरको सम्बन्ध (पिपुल टु पिपुल रिलेसन) विस्तार गर्ने विषयमा पनि विचार आदानप्रदान गर्यौं’ मन्त्री खनालले भनेका छन्, ‘दुबै देशको पारस्परिक हितका लागि नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउने साझा प्रतिबद्धता पुनः व्यक्त गर्यौं।’
जनवादी गणतन्त्र चीनका विदेशमन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समिति अन्तर्गतको राजनीतिक ब्यूरो सदस्य वाङ यीसँग भेट्न पाउँदा आफूलाई निकै खुशी लागेको पनि मन्त्री खनालले उल्लेख गरेका छन्।
त्यसअघि मन्त्री खनालले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समिति अन्तर्गतको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ लिउ हाइसिङसँग शिष्टाचार भेटवार्ता गरेका थिए।
रास्वपा–सीपीसी सम्बन्ध विस्तार
भेटवार्ताका क्रममा मन्त्री खनाल र नेता लिउबीच विभिन्न ३ विषयमा छलफल भएको थियो।

मन्त्री खनालका अनुसार, ती तीन विषयमा नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउने, सीपीसी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीचको आपसी आदान–प्रदानलाई विस्तार गर्ने तथा जनस्तरको सम्बन्धलाई थप गहिरो बनाउने विषयमा फलदायी बनाउने लगायत छन्।
नेपाल र चीनबीचको मित्रवत् सम्बन्धलाई आगामी दिनमा थप उचाइमा पुर्याउन दुबै पक्ष प्रतिबद्ध रहेको पनि मन्त्री खनालले उल्लेख गरेका छन्।
चिनियाँ थिंकट्याङ्क संस्थाको भ्रमण
बेइजिङमामन्त्री खनालको व्यस्तता सोमबार बिहानदेखि नै सुरु भएको थियो। सोमबार विहान उनले एउटा थिंकट्याङ्क संस्थाको रिसर्च इन्ष्टिच्युटको भ्रमण गरेका थिए।
मन्त्री खनालले ‘चाइनिज एकेडेमी अफ साइन्सेज’ अन्तर्गतको ‘इन्ष्टिच्युट अफ टिबेटन प्लेटो रिसर्च’ को भ्रमण गरेका हुन्।

बेइजिङस्थित नेपाली राजदूतावासका अनुसार, त्यसक्रममा मन्त्री खनाललाई संस्थानका गतिविधि तथा अनुसन्धानबारे जानकारी गराइएको थियो।
सो इन्ष्टिच्युटको भ्रमणका क्रममा मन्त्री खनालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको अध्ययन, वातावरणीय अनुसन्धान तथा अन्य सम्बन्धित क्षेत्रमा नेपाल–चीनबीच थप गहिरो सहकार्य आवश्यकता रहेको उल्लेख गरेका थिए।