जापानविरोधी प्रतिरोध युद्ध : चिनियाँ जनताको वीरता, एकता र धैर्यताको महाकाव्य

नाजी जर्मनीले सेप्टेम्बर १९३९ मा पोल्यान्डमा आक्रमण गर्दा चीन जापानी आक्रमणविरुद्ध आठ वर्षअघिदेखि लडिरहेको थियो। जापानी सैन्यवादको प्रहार चीनले पहिलोपटक १९३१ मा नै भोगेको हो। यसको १० वर्षपछि मात्र अमेरिकाको पर्ल हार्बरमाथि जापानी आक्रमण भयो।

१९३१ देखि १९४५ सम्म साम्राज्यवादी जापानसँगको युद्धमा ३ करोड ५० लाखभन्दा बढी चिनियाँ सैनिक तथा सर्वसाधारणहरुको मृत्यु भयो र घाइते भए। चीन संयुक्त राष्ट्र सुरक्षा परिषदको पाँच स्थायी सदस्यमध्ये एक बन्न सफल भएको फासिवादविरुद्ध मित्रराष्ट्रको विजयमा चीनको महत्त्वपूर्ण भूमिकाका कारण हो।

खासमा जापानी आक्रमणविरुद्ध चिनियाँ जनताको युद्ध साहस, एकता र दृढताको महाकाव्य थियो।

१८ सेप्टेम्बर १९३१ मा जापानी सेनाले चीनको उत्तरपूर्वी सहर शेनयाङ नजिक एक नक्कली घटनाको रचना गर्यो। त्यसैलाई बहाना बनाई उसले उत्तरपूर्वी चीनमाथि आक्रमण सुरु गर्‍यो।

तर चीनको कोमिन्ताङ (केएमटी) सरकारले जापान आक्रमणविरुद्ध प्रतिकार नगर्ने नीति अपनायो। राष्ट्र संघले नै उत्तरपूर्वी चीनलाई पुनः चीनको सार्वभौम अधिकारमा फर्काइदिने अपेक्षा उसको थियो।

कोमिन्ताङ सरकारले जापानको प्रतिकार नगर्ने नीति अख्तियार गरेपनि तत्कालीन हेलोङजियाङ प्रान्तका कार्यवाहक गभर्नर जनरल मा जानसानले सरकारको नीति अस्वीकार गरे।

जनरल मा नेतृत्वको सेनाले १९३१ नोभेम्बरमा हेलोङजियाङको नेन नदीको ठूलो पुल नजिक जापानी फौजसँग आधा महिनासम्म लडाईं लड्यो। यद्यपी, उनका सैनिक थोरै संख्यामा रहेकाले उनीहरु पछि हट्न बाध्य भए।

तरपनि जनरल माले जसरी साहसिक प्रतिकार गरे, त्यसले उनलाई ‘राष्ट्रिय नायक’ बनायो। शाङ्घाईका एक चुरोट उत्पादकले जनरल माको नाममा चुरोटको ब्रान्ड नै ल्याए। त्यसबाट आएको आम्दानीको केही अंश उनले जापानविरुद्धको संघर्षमा दान गरे।

माको कथा सुनेर धेरै मानिसहरू स्वेच्छिक रुपमा चिनियाँ सेनामा सामेल भए। यसरी भर्ति भएकाहरुले उत्तरपूर्वी चीनका धेरै क्षेत्रहरुमा जापानी सेनाविरुद्धको लडाइँमा भाग लिए।

स्वेच्छिक रुपमा सेनामा भर्ति भएकाहरु पछि ‘नर्थइस्ट काउन्टीमा जापानिज युनाइटेड आर्मी’ मा समाहित भए।

१९३० को दशकसम्म जापानमा औद्योगिकीकरण भइसकेको थियो। औद्योगिकीकरणका कारण कृषि उत्पादनबाट हुने आम्दानीभन्दा खानी उद्योगबाट हुने आम्दानी दुई गुणा बढी थियो।

जापानको तुलनामा चिनियाँ समाज अझै कृषिमा आधारित थियो। जापान प्रविधिमा अगाडि जापानजस्तो शत्रुको सामना गर्न चिनियाँ सैनिकसँग साहस र सही रणनीति मात्र हतियारका रुपमा थियो।

उत्तर–पूर्वी चीन कब्जा गरेपछि १९३३ को सुरुवाततिर जापानी सेना दक्षिणतर्फ अगाडि बढ्यो। यस क्रममा ‘ग्रेट वालको रक्षा’ का लागि युद्धको श्रृंखला नै चल्यो।

बेइजिङबाट १ सय ५० किलोमिटर उत्तर–पूर्वमा रहेको ग्रेटवालको एक रणनीतिक प्रवेशद्वार ‘सिफेङ्को दर्रा’ १९३३ मार्चताका जापानी आक्रमणको निशाना बन्यो। त्यस मोर्चालाई बलियो बनाउन चीनको राष्ट्रिय क्रान्तिकारी सेनाको २९औं टुकडी पठाइयो।

आधुनिक हतियारले सुसज्जित जापानी क्वान्तुङ आर्मीको तुलनामा चिनियाँ सेनाको चौडा तरबार (ब्रोडस्वोर्ड) कमजोर हुने भइहाल्यो। तैपनि तरबार मार्फत् नै चिनियाँ सैनिकहरुले जापानी सेनाको सशक्त प्रतिरोध गरे।

सीमित र कमजोर प्रकृतिका हतियारका बाबजुद मध्यरातमा शत्रुको शिविरमा गरिएको एक आत्मघाती आक्रमणमा ५ सय चिनियाँ सैनिकले ७ सय भन्दा बढी जापानी सैनिकको सफाया गर्न सफल भए।

यो आक्रमणमा जानुअघि उनीहरूले शपथ लिएका थिए, ‘पराजित राष्ट्रको दास भएर बाँच्नु भन्दा वीर योद्धा भएर मर्नु उत्तम!’

यो मिशनपछि केवल २३ सैनिक मात्र फर्कन सफल भएका थिए।

त्यसपछि २९औं सेनाले मध्यरातका छापामार आक्रमण गरेर जापानी सेनालाई १० किलोमिटरभन्दा बढीको दुरीमा पछि हट्न बाध्य बनायो।

सेप्टेम्बर १८ को घटनापछि १९३३ को ‘सिफेङ्को युद्ध’ जापानविरुद्ध चीनको पहिलो ठूलो सैन्य विजय थियो। यसले राष्ट्रिय मनोबल ह्वात्तै बढायो।

चिनियाँ संगीतकार माइ शिनको ‘द ब्रोडस्वोर्ड मार्च’ नामक लोकप्रिय युद्धकालीन गीत त्यही विजयबाट प्रेरित भएर सिर्जना गरिएको हो।

केही जापानी समाचारपत्रले त्यो युद्धलाई ‘जापानी सेनाको ६० वर्षकै ठूलो अपमान’ का रुपमा चित्रण गरेका थिए।

त्यसको चार वर्षपछि २९औं सेनाले ‘लुगोउ पुल’ मा त्यस्तै भीषण लडाइँ लड्यो। सुरुमा बेइजिङको केन्द्रबाट १५ किलोमिटर दक्षिणपश्चिमको एक स्थानीय झडप भएको थियो।

तर चाँडै नै त्यो झडप चीन–जापानबीचको ‘सम्पूर्ण युद्ध’ मा परिणत भयो।

बेइजिङमा एउटा सडकको नामाकरण १९३३ मा ५०० सैनिकको नेतृत्व गरेका र उक्त घटनामा प्राण गुमाएका कमाण्डर झाओ डेङ्ग्युको सम्मानमा गरिएको छ।

१९३१ देखि १९३७ सम्म चीनले मुख्यतः उत्तरपूर्व क्षेत्रमा प्रतिकार युद्ध लड्यो। जापानी आक्रमणपछि १९३२ मा शाङ्घाईमा पनि एक महिनासम्म लडाइँ भयो।

उत्तरपूर्वी चीनको कब्जाले मात्रै जापानको सैन्य महत्वाकांक्षा पूरा भएन। अब उसले चीनमाथि जुनकुनै समयमा आक्रमण गर्न सक्थ्यो।

अर्काेतर्फ जापानी आक्रमणविरुद्ध १९३७ सम्म चीनमा पनि राष्ट्रव्यापी रुपमा प्रतिरोधको भावना विकास भइसकेको थियो।

१९३१ को घट्नाताका कोमिन्ताङका नेता च्याङ काई–शेक चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) सँगको ‘गृहयुद्ध’ मा व्यस्त थिए। सीपीसीप्रतिको उनको यस्तो व्यवहारले जापानी आक्रममणविरुद्ध प्रतिकार नगर्ने उनको नीतिलाई छर्लङ्ग पार्छ।

उनको यही नीति जापानलाई चीनविरुद्ध आक्रमण गर्न अझ उत्प्रेरित गर्न कारण पनि बन्यो।

१९३५ सम्म चीन निकै संकटापन्न अवस्थामा पुगिसकेको थियो। त्यसै वर्षको गृष्म ऋतुमा जापानले उत्तरी चीनमा आफ्नो नियन्त्रणको कठपुतली शासन स्थापना गर्ने सम्झौता कोमिन्ताङ सरकारमाथि थोपर्यो।

तर, यो संकटले ‘राष्ट्रिय भावना’ को बृद्धि पनि गरायो। सीपीसीले सम्पूर्ण चिनियाँ जनतालाई स्वेच्छिक रुपमा जापानी आक्रमणविरुद्ध जुट्न आह्वान गर्‍यो। त्यही वर्षको हिउँदमा सम्पन्न महत्वपूर्ण बैठकमार्फत् सीपीसीले कोमिन्ताङसँग ‘संयुक्त मोर्चा’ बनाउने निर्णय गर्‍यो।

यहाँ स्मरण गर्नुपर्ने कुरा के छ भने, सीसीपीले सन् १९२७ मा नै कोमिन्ताङबाट धोका पाइसकेको हो। फेरि ऊसँग संयुक्त मोर्चा बनाउनु भनेको पुरानो धोकेबाज मित्रलाई अँगालो हाल्नु सरह हो।

यद्यपी आन्तरिक द्वन्द्वभन्दा राष्ट्रिय सम्मानको रक्षा महत्त्वपूर्ण हुने ठानेर सीपीसीले अप्रिय नै भएपनि संयुक्त मोर्चा बनाउने निर्णय गरेको थियो।

चीनको उत्तरी सहर सिआनमा दुई जनरलहरूले १९३६ को अन्त्यताका च्याङ काई–शेकलाई अपहरण गरेका थिए। चाउ एनलाइले राजनीतिक बुद्धिमत्ता प्रयोग गरे र वार्तामार्फत् च्याङको रिहाइ सुनिश्चित गरे।

रिहा भएपछि च्याङले चाउ एनलाईलाई सम्पूर्ण पक्षलाई एकजुट बनाएर जापानविरुद्धको प्रतिकार युद्धको नेतृत्व गर्ने वाचा गरे।

चीनले पूर्ण आन्तरिक एकता कायम गरेर १९३७ देखि १९४५ सम्म जापानविरुद्धको प्रतिरोध युद्ध सञ्चालन गर्यो। अहिलेको राष्ट्रिय गान पनि जापानविरुद्ध लडिएको समयको प्रसिद्ध सैन्य गीत हो।

‘लाखौं मुटु एउटै मन, शत्रुको गोलीको सामना गर्दै, अघि बढ’ गीतको यो बोलले चीनमा युद्धका बेला कायम राष्ट्रिय एकतालाई उत्कृष्ट रुपले प्रतिबिम्बित गरेको छ।

यो गीतका रचनाकार सीपीसीका सदस्य थिए। तर यसको लोकप्रियता पार्टीको सीमा नाघेर धेरै परसम्म फैलियो। कोमिन्ताङका जनरल दाई अनलानले गीतलाई आफू नेतृत्वको उत्कृष्ट २००औँ डिभिजनको गानका रूपमा मान्यता प्रदान गरे।

जापानीहरूले पूर्वका प्रमुख सहरहरू कब्जा गरेपछि कोमिन्ताङ सरकारले प्रशासनलाई देशको भित्री भागमा सार्नुपरेको थियो।

अघि बढ्नेक्रममा जापानी सेनाले स्थानीय जनताहरुमाथि नरसंहार सुरु गर्यो, त्यसमा कुख्यात ‘नानजिङ नरसंहार’ एक हो।

जापानी सेना निरन्तर अघि बढिरहेका कारण बाह्य संसारले केही समय ‘चीनले छिट्टै आत्मसमर्पण गर्नेछ’ भन्ने अनुमान समेत गर्‍यो। तर, ट्चीटयो अनुमान फेल खायो। चीनको प्रतिकार कहिल्यै रोकिएन।

चीनले गरेको निरन्तर प्रतिकारका कारण जापान दोस्रो विश्वयुद्ध अवधिभर चीनमा १० लाखभन्दा बढी सैनिक तैनाथ गर्न बाध्य भयो। परिणाम, अमेरिका लगायतका शक्तिहरुसँग युद्ध लड्न आवश्यक सैन्य स्रोतहरू का दृष्टिले जापान कमजोर हुनपुग्यो।

जापानविरुद्धको युद्ध अवधिमा कोमिन्ताङ सेनाले चिनियाँ नियन्त्रणमा रहेका शहर र क्षेत्रहरूको रक्षाका लागि ठूला–ठूला युद्ध लड्यो। अर्काेतिर आकारको हिसावले सानो र हतियारका हिसावले कम सुसज्जित रहेपनि सीपीसीमा आवद्ध सशस्त्र योद्धाहरुले जापानी नियन्त्रण रहेका क्षेत्रमा गुरिल्ला गतिविधि सशक्त रुपमा सञ्चालन गरे।

ठूला युद्ध र छापामार युद्ध गरी दुई प्रकारले गरिएको प्रतिकार (युद्ध) बीच राम्रो समन्वय कायम थियो। यसरी गरिएको समन्वयपूर्ण युद्धले जापानविरुद्ध विजय हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्यो। युद्ध सञ्चालन गर्ने राजनीतिक शक्ति फरक फरक थिए। तर, धैर्य र दृढता चिनियाँ फौजको साझा विशेषता थियो।

तीन महिनाको युद्धपछि १९३७ को शरद ऋतुमा जब जापानी सेना शाङ्घाई कब्जा गर्ने अन्तिम चरणमा पुग्यो, कोमिन्ताङ सेनाको करिव ४ सय सैनिक सहितको एउटा बटालियनले जापानी सेनासँग लडाईं लड्दै त्यहाँ उनीहरुलाई इन्गेज’ गरिदिएका कारण अन्य चिनियाँ सैनिकहरुलाई अन्य युद्धभूमिबाट त्यहाँ आइपुग्न समय मिलेको थियो।

त्यो लडाईंमा चिनियाँ सैनिकहरु निकै कम संख्यामा थिए। तैपनि दर्जनौं जापानी आक्रमण झेल्दै करिव २ सय जति शत्रु सैनिकलाई मार्न चिनियाँ सैनिकहरु सफल भए।

उत्तरपूर्वमा जापानविरुद्ध प्रतिरोधका लागि निर्माण गरिएको संयुक्त सेनाका कमाण्डर याङ जिन्ग्युले आफ्नो दुबै साथी सैनिकहरू मारिएपनि पाँच दिनसम्म एक्लै लडाइँ जारी राखेका थिए। यो फेब्रुअरी १९४० ताकाको कुरा हो। अत्यधिक चिसो र संकटापन्न स्थितिका बाबजुद उनले जापानी सेनाको प्रतिरोध गरे। जापानी सेनाबाट याङ घेरिए, मारिएपनि। तर उनले आत्मसमर्पण गरेनन्।

त्यस्तो प्रतिकूल स्थितिमा लडिरहेका याङको धैर्य देखेर जापानीहरूसमेत चकित भए। उनले धेरै दिनदेखि खाना खान समेत पाएका समेत थिएनन्।

जब उनी मारिए, पोस्टमार्टम गर्दा उनको पेटमा रूखको बोक्रा, कपासका दाना र घाँसका जरामात्र भेटिएको थियो।

चाङ्शा नै चीनको पहिलो यस्तो ठूलो शहर थियो जसले ‘सम्पूर्ण युद्ध’ सुरु भएपछि जापानी आक्रमण रोक्न सफल भयो। १९३९ देखि १९४२ सम्म कोमिन्ताङ सेनाले शहरको रक्षा गर्न तीन ठूला युद्ध लड्यो। ती युद्धमा जापानी सेनातर्फ १ लाख १० हजार भन्दा बढीको क्षति भयो, यो संख्या चिनियाँ पक्षतर्फ भएको करिव ९४ क्षति भन्दा बढी थियो।

चाङ्शामा चिनियाँ सेनाले विजय कायम राख्नुको रणनीतिक महत्व के भयो भने, जापानी सेना दक्षिण चीनतर्फ आफ्नो क्षेत्र सुदृढ गर्न असफल भयो। युद्धकालीन राजधानी चोंगकिङको सुरक्षा सुनिश्चित गर्न चाङ्शामा प्राप्त विजयले महत्त्वपूर्ण भूमिका खेल्यो।

युद्ध गतिरोधमा प्रवेश गरेका बेला चाङ्शामाथि जापानी आक्रमणले चीनको लड्नसक्ने इच्छाशक्तिलाई समाप्त गर्न सक्थ्यो। तर जापानको त्यो प्रयास असफल भयो।

प्रश्न उठ्छ, युद्धमा चीन यतिधेरै धैर्यवान कसरी रहन सक्यो?

पहिलो कुरा, चीनले गरेको त्यो प्रतिकार आक्रमणकारीलाई हटाउने अटल संकल्पमा आधारित थियो।

१९३९ को गृष्मऋतुमा सीपीसी नेतृत्वको आठौं पैदल सेनाका वरिष्ठ कमाण्डर निये रोंगझेनले आफ्ना सैनिकहरूले जापानी सैन्य अभियान सफलतापूर्वक प्रतिकार गरेपछि चार चिनियाँ क्यालिग्राफिक अक्षरमा एउटा गीत लेखेका थिए, ‘मेरो नदी र पहाड फिर्ता गर।’

यो गीत १२औँ शताब्दीमा जुर्चेन आक्रमणकारीविरुद्ध लडेका सोङ राजवंशका देशभक्त नायक यू फेइप्रति श्रद्धांजली थियो। ‘मेरो नदी र पहाड फिर्ता गर’, उनको कविताको प्रमुख विषय थियो।

जनरल निये र उनका सैनिकहरूले यू फेइको भावनालाई अघि बढाए। १९३७ देखि १९४३ सम्म नियेले जापानी सेना र उनीहरूको कठपुतली शासनसँग १७ हजार भन्दा बढी युद्ध लडे।

१९३५ देखि १९४५ सम्म कोमिन्ताङ सरकारका विभिन्न पदमा रहेका जनरल फेङ युक्सियाङले पनि युद्धको समय चार अक्षरमा उस्तै भावना लेखेका थिए। जनरल फेङले पनि प्रतिकार नगर्ने कोमिन्ताङ सरकारको सुरुको नीतिको आलोचना गरेका थिए। १९३३ मा उनी जापानविरोधी जनसेनाका सेनापति थिए, जसले बेइजिङको उत्तरमा विभिन्न ठाँउमा जापानी सेनाविरुद्ध सशस्त्र प्रतिकार गरे।

चिनियाँ सैनिक र कमाण्डरहरूको अटल संकल्प र जनसमर्थन पनि चीनको निरन्तर प्रतिकारको मुख्य प्रेरणाको स्रोत थियो।

पहिलो चाङ्शा युद्धको पूर्वसन्ध्यामा १९३९ मा स्थानीयवासीहरूले शहरको उत्तरतर्फ क्षेत्रका प्रायः मुख्य सडक ध्वस्त पारे। यसले गर्दा जापानी सैनिकलाई अघि बढ्न ठूलो बाधा सिर्जना भयो।

इतिहासकारहरूको अनुमान छ, शहरको रक्षा गर्न निर्णायक मानिएका ती तीन ठूला युद्धमा करिव १० लाख नागरिकले चिनियाँ सैनिकलाई सूचना, खाना र औषधि आपूर्ति र अन्य क्षेत्रमा मद्दत गरेका थिए।

कोमिन्ताङका प्रमुख कमाण्डर श्ये युयेले शहरको रक्षा गर्न मिलेको सफलताको कारण आफ्ना सैनिकहरूको साहस र स्थानीय जनताको समन्वित रुपमा गरेको सहयोगलाई श्रेय दिएका थिए।

सीपीसीले छापामार क्षेत्रहरुमा चीनले जापानी आक्रमणविरुद्ध किन लड्नु पर्छ भन्ने कुरा स्थानीय जनतालाई बुझाउन सहयोग गर्‍यो।

झेजियाङ विश्वविद्यालयमा इतिहासका प्राध्यापक सियाओ रूपिङले ब्रिटेनको राष्ट्रिय अभिलेखालयबाट युद्ध सम्बन्धी विभिन्न अभिलेख संकलन गरेका छन्। ती अभिलेखमा उल्लेख भएअनुसार, उत्तरी चीनमा सीपीसीको गुरिल्ला आधार भ्रमण गरेका एक ब्रिटिशले तयार पारेको रिपोर्टमा उल्लेख थियो कि, यसअघि राजनीतिमा उदासिन स्थानीय किसानहरुले समेत जापानी सेनाको प्रतिकार गर्नुको महत्व बुझेपछि जापानले खोजी गरिरहेका आठौं पैदल सेनाका सैनिकलाई बचाउन ठूलो जोखिम लिन तयार भएका थिए।

प्रतिरोध युद्धताका सैनिक र सामान्य जनताले प्रदर्शन गरेका साहस, एकता र धैर्यका अनगिन्ती कथा छन्। ती प्रत्येक कथा पुस्तकको स्वरुप बन्न योग्य छन्। यिनै देशभक्तिका भावनाहरुले चीनको अन्तिम विजयमा निर्णायक भूमिका खेलेका हुन्।

पछाडि फर्केर हेर्दा, चीनले आफ्नो आत्मगौरव महसुस गर्नुपर्ने पर्याप्त कारणहरू छन्। आध्यात्मिक शक्ति निकै महत्वपूर्ण हुन्छ। अहिले चीन ‘शान्तिपूर्ण राष्ट्रिय पुनरुत्थानको लक्ष्य’ तर्फ अघि बढिरहेको छ। यो अभियानमा पनि देशभक्तिको त्यो भावना कायम रहनेछ।

(सन् २०२५ जापानी आक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोध युद्ध र विश्व फासीवादविरोधी युद्धको ८०औँ वार्षिकोत्सव हो। इतिहासलाई सम्झन, शहीद वीरहरूलाई सम्मान गर्न, शान्तिलाई कदर गर्न र उज्ज्वल भविष्य सिर्जना गर्न चीनको चाइना ग्लोबल टेलिभिजन नेटवर्क ले सुरु गरेको ‘युद्धको पुनःपरिभाषा : चीनको रणनीतिक भूमिका र ऐतिहासिक लेखाजोखा’ शृंखला अन्तर्गतको यो एउटा सामाग्री हो। यसका लेखक डिङ हेङ एक समसामयिक टिप्पणीकार हुन्। यो सामाग्री ‘सीजीटीएन’ को सौजन्यमा प्राप्त भएको हो। सम्पादक