नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले प्रधानमन्त्री सुशीला कार्कीसँग आज शिष्टाचार भेट गरेका छन्। राजदूत चाङ माओमिङले २४ फेब्रुअरी (१२ फागुन) मा राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका थिए।
त्यसयता औपचारिक भेटवार्ता थालेका राजदूत चाङ माओमिङको यो प्रधानमन्त्री कार्कीसँगको पहिलो शिष्टाचार भेट हो।
अनेक भ्रम सिर्जना गरेर नेपाल–चीनबीचको सम्बन्धमा गतिरोध सिर्जना गर्न खोज्नेहरुको कुनै कमी छैन। आजको भेटको प्रधानमन्त्री कार्की र राजदूत माओमिङले जसरी मूल्यांकन गरेका छन्, भ्रम सिर्जना गरेर दुई मुलुकबीचको सम्बन्धमा गतिरोध ल्याउन खोज्ने प्रयासलाई त्यसले असफल बनाएको छ।

आजको भेटप्रति दुबैले खुसी प्रकट गरेका छन्।
‘नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत महामहिम चाङ माओमिङसँग आज सिंहदरबारमा शिष्टाचार भेट गर्न पाउँदा खुसी लागेको छ’ प्रधानमन्त्री कार्कीले भनेकी छन्, ‘उहाँको सफल कार्यकालका लागि हार्दिक शुभकामना। साथै, उहाँको कार्यकालमा नेपाल–चीन मित्रवत् सम्बन्ध, सहकार्य र साझेदारी नयाँ उचाइमा पुग्ने विश्वास छ।’
प्रधानमन्त्री कार्कीको यस्तो हार्दिकता र शुभेच्छाप्रति राजदूत माओमिङले कृतज्ञता ज्ञापन गरेका छन्।
‘सम्माननीय प्रधानमन्त्री श्रीमती सुशिला कार्कीलाई शिष्टाचार भेट गर्न पाएकोमा सम्मानित महसुस गरेको छु’ भेटपछि राजदूत माओमिङले सामाजिक सन्जालमा लेखेका छन्, ‘चीन–नेपाल मैत्री तथा सहकार्यप्रति उहाँको दृढ प्रतिबद्धता र मलाई दिनुभएको शुभकामनाप्रति म हार्दिक कृतज्ञता व्यक्त गर्दछु।’
राजदूत माओमिङ थप भनेका छन्, ‘भेटका क्रममाहामीले चीन–नेपालबीचको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धको समीक्षा गर्ेका छौँ र आपसी सहकार्यलाई अझ तीव्र गतिमा अगाडि बढाउँदै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने महत्त्वमा जोड दियौं।’
