आफ्नो मुलुकतर्फ गोली चलाउने दक्षिण कोरियाको कार्यको प्रत्युत्तरस्वरुप उत्तर कोरियाले शनिबार दुईवटा नयाँ हवाई रक्षा क्षेप्यास्त्र (मिसाइल) परीक्षण गरेको छ।
सर्वाेच्च नेता किम जोङ–उनको निरीक्षणमा उत्तर कोरियाले नयाँ खालको हवाई रक्षा प्रणालीसहितको मिसाइल परीक्षण गरेको हो।
यो मिसाइल परीक्षण दक्षिण कोरिया र संयुक्त राज्य अमेरिका व्यापक संयुक्त सैन्य अभ्यासमा व्यस्त रहेका बेला भएको हो।
कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएनए) ले आफूले परीक्षण गरेको क्षेप्यास्त्रमा उत्कृष्ट लडाइँ क्षमता रहेको र विशेष प्रविधि प्रयोग गरिएको र विभिन्न हवाई लक्ष्य नष्ट गर्न अत्यन्त उपयुक्त छन्।
परीक्षण गरिएका दुबै क्षेप्यास्त्र ड्रोन र क्रुज क्षेप्यास्त्रसहित विभिन्न हवाई लक्ष्य नष्ट गर्न सक्षम छन् भन्ने दावी उत्तर कोरियाली पक्षले गरेको छ।
यो परीक्षण कहाँ गरिएको थियो भन्ने कुरा भने उत्तर कोरियाली पक्षले खुलाएको छैन।
कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) का अनुसार, यी दुई क्षेप्यास्त्र विभिन्न हवाई लक्ष्य नष्ट गर्न अत्यन्त उपयुक्त छन्।
क्षेप्यास्त्र प्रयोग गरिएको दिन सर्वाेच्च नेता किमले रक्षा विज्ञान क्षेत्रमा ‘महत्वपूर्ण काम’ पुरा गर्न निर्देशन दिएका थिए। उत्तर कोरियाको सत्तारुढ पार्टीको महत्वपूर्ण बैठकअघि त्यो काम सम्पन्न गर्नुपर्ने थियो।
दक्षिण कोरियाली सेनाले भने मंगलबार केही उत्तर कोरियाली सैनिकहरू असैन्यीकृत क्षेत्र (डिमिलिटराइज्ड जोन) पार गरेर दक्षिण प्रवेश गरेपछि चेतावनीस्वरूप गोली प्रहार गरिएको दावी गरेको छ।
सो क्षेत्रमा अमेरिकी र दक्षिण कोरियाली सैनिकहरु यसै हप्तादेखि संयुक्त सैन्य अभ्यासमा व्यस्त छन्। दुबै मुलुकको संयुक्त कमाण्डले करिब ३० जना उत्तर कोरियाली सैनिकहरूले सीमा उल्लंघन गरेको दावी दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापले गरेको छ।
