‘एससीओ’ राष्ट्रहरुको सहकार्यले विश्व अर्थतन्त्रमा प्रदान गरेको नयाँ उत्प्रेरणा

  • २०८२ भाद्र १२, बिहीबार

सीमापार किनमेल र पर्यटनको बढ्दो गतिविधिले गर्दा चीन-कजाकिस्तान होर्गोस अन्तर्राष्ट्रिय सीमा सहयोग केन्द्र आजकल अत्यधिक व्यस्त देखिन्छ। यहाँबाट सीमा पार गर्ने व्यक्तिको संख्या ३० हजार भन्दा बढी पुगेको छ।

५.६ वर्ग किलोमिटर फैलिएको केन्द्रमार्फत् यस वर्षको जुलाई ११ सम्म ५ मिलियनभन्दा बढी व्यक्तिहरूले यो सीमा भएर आवतजावत गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ७३ प्रतिशत बढी हो।

यो केन्द्र चीनको उत्तरपश्चिमी सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको होर्गोस र कजाकिस्तान दुवैतिर अवस्थित छ।

यो केन्द्रले एससीओ सदस्य राष्ट्रहरूबीच बढ्दो आर्थिक र व्यापारिक सम्बन्धको प्रत्यक्ष उदाहरण प्रस्तुत गरेको छ। २४ वर्ष अघि चीन, रुस, कजाखस्तान, किर्गिस्तान, ताजिकिस्तान र उजबेकिस्तानले स्थापना गरेको यो संगठनले १० सदस्य राष्ट्र, २ पर्यवेक्षक राष्ट्र र १४ संवाद साझेदार (डायलग पार्टनर) गरी २६ राष्ट्रलाई समेटेको छ।

एससीओले विश्व जनसंख्याको करिब आधा, विश्व भूमिधरको करिब चौथाइ र विश्व जीडीपीको को करिब चौथाइ प्रतिनिधित्व गर्दछ।

२००१ मा स्थापना भएयता एससीओ अहिले एक व्यापक रुपमा विस्तारित क्षेत्रीय संगठनमा रूपान्तरण भएको छ, जसले अस्थिर विश्व अर्थतन्त्रमा स्थायित्व र ऊर्जा प्रदान गरेको छ।

एससीओ बैठकका लागि एसिया, युरोप र अफ्रिकाका नेताहरू ३१ अगस्त र १ सेप्टेम्बरमा उत्तरी चीनको तियान्जिन शहरमा भेला हुने क्रममा छन्। सो बैठकले संगठनको भविष्य विकासको खाका तयार पार्ने र विश्व अर्थतन्त्रमा थप ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

मजबुत आर्थिक र व्यापारिक सम्बन्ध
चीन–कजाकिस्तान होर्गोस अन्तर्राष्ट्रिय सीमा सहयोग केन्द्रको चीनतर्फ २ हजार भन्दा बढी पसल छन्। त्यसमध्ये २ सय भन्दा बढी ड्युटी–फ्री पसल पनि समावेश छन्। यहाँ ४० भन्दा बढी देशका १ हजारभन्दा बढी प्रकारका सामान उपलब्ध छन्। प्रत्येक पर्यटकले दैनिक ८ हजार युआन (करिब १ हजार १ सय २५ अमेरिकी डलर) सम्मका ड्युटी-फ्री सामान किनमेल गर्न सक्छन्।

केन्द्रका व्यवसायी लिन जिक्सुआनका अनुसार केन्द्रमा कजाकिस्तानको चकलेट र चीनको कजाक जातिको परम्परागत टोपीह विशेष लोकप्रिय छन्। र, व्यस्त दिनमा उनको दैनिक आम्दानी १ लाख युआनसम्म पुग्छ।

हालका वर्षमा केन्द्रमा देखिएको व्यापारिक गतिशीलता चीन र अन्य एससीओ सदस्यहरूबीच बढ्दो आर्थिक र व्यापारिक सम्बन्धको प्रतिविम्ब हो। एससीओ राष्ट्रहरुबीचको सहयोग पूर्वाधार, ऊर्जा, कृषि र प्रविधि लगायत विभिन्न क्षेत्रमा विस्तारित छ।

चीनको अन्य एससीओ सदस्यहरूसँगको व्यापार सन् २०२४ मा मात्र ३.६५ ट्रिलियन युआन पुगेको छ, जुन संगठन स्थापना भएको बेलाको भन्दा ३६.३ गुणा बढी हो।

बढ्दो बाह्य अनिश्चितताका बाबजुद यस वर्ष पनि व्यापारको गति कायम नै छ। जनवरीदेखि जुलाईसम्म चीनको अन्य एससीओ सदस्यहरूसँगको कुल व्यापार २.११ ट्रिलियन युआन पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३ प्रतिशत बढी हो।

जुलाईमा मात्र चीनको अन्य एससीओ सदस्यहरूसँगको व्यापार ३२६.०५ अर्ब युआन पुगेको छ। यो यस वर्षको अहिलेसम्मको सबैभन्दा उच्च मासिक मूल्य र बृद्धि दर हो।

उदाउँदो क्षेत्रहरूमा अग्रगामी सहयोग
कजाकिस्तानको अक्मोला क्षेत्रमा ४० भन्दा बढी ‘वाइण्ड टर्बाइन’ हरूले हावालाई सफा बिजुलीमा रूपान्तरण गरेर ट्रान्समिशन नेटवर्कमार्फत् कजाखस्तानको राजधानी अस्तानातर्फ पठाइरहेका छन्।

चिनियाँ कम्पनीले निर्माण र सञ्चालन गरेको यो वायु फार्म सेप्टेम्बर २०२३ मा सञ्चालनमा आएको थियो। त्यो बेला यो मध्य एसियाको सबैभन्दा ठूलो वायु फार्मका रुपमा थियो।

चिनियाँ उद्यमहरूको सहभागितामा निर्माण गरिएको ५ जी नेटवर्कले किर्गिस्तानका प्रमुख शहरहरूमा समेत पहुँच पुर्याएको छ, त्यसले किर्गिस्तानमा इन्टरनेट पहुँच दर ४३ प्रतिशतबाट ७० प्रतिशतभन्दा माथि पुर्‍याएको छ।

त्यस्तै ताजिकिस्तानमा चीन र ताजिकिस्तानद्वारा संयुक्त रूपमा विकासित डिजिटल स्वास्थ्य प्लेटफर्मले भौगोलिक दृष्टिले निकै टाढाको दुरीमा बसोबास गर्ने स्थानीयवासीलाई स्वास्थ्य सेवा उपलब्ध गराएको छ।

यी परियोजनाहरूले देखाउँछन्, एससीओ सदस्यहरू सफा ऊर्जा, पर्यावरण संरक्षण, नयाँ ऊर्जा सवारी साधन र डिजिटल अर्थतन्त्र जस्ता उदाउँदो क्षेत्रमा सहयोगतर्फ केन्द्रित छन्।

सीमापार ई-कमर्सको सहयोगका कारण अन्य एससीओ सदस्यहरूको गुणस्तरीय उत्पादन चीनको बजारमा प्रवेश पाउन सहज बनाएको छ। चीनको अन्य एससीओ सदस्यहरूसँगको सीमापार ई-कमर्स आयात ३४ प्रतिशतले बृद्धि भएको थियो।

किर्गिस्तानका विज्ञ इगोर शेस्ताकोभ चिनियाँ समाचार संस्था सिन्ह्वासँगको कुराकानीमा भन्छन्, ‘चीनले एससीओमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। चीन नै यो संगठन विकासको मुख्य चालक शक्ति हो।’

‘दीगो विकासको एससीओ वर्ष’ का अनुसार चीनले तेल, ग्याँस, निर्माण, हरित ऊर्जा र डिजिटल अर्थतन्त्रमा आफ्ना साझेदारहरूसँगको सहयोग बृद्धि गरिरहेको चीनका उपवाणिज्य मन्त्री लिङ्जी बताउँछन्।

यी प्रयासहरूले औद्योगिक रूपान्तरण बृद्धि गर्ने र एससीओ सदस्य राष्ट्रहरूबीच आपूर्ति श्रृंखला तथा औद्योगिक सम्बन्ध अझ घनिष्ठ बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

समावेशिता र आपसी लाभमा केन्द्रित
एससीओका सदस्य राष्ट्रहरुलाई चीनले राजनीतिक सर्तहरू थोपर्ने गरेको छैन। बरु सहयोग निस्वार्थ सहयोग गर्ने गरेको छ। शेस्ताकोभ यसको सराहना गर्छन्। यस दृष्टिकोणले शाङ्घाई भावना शाङ्घाई स्पिरिट) को प्रतिबिम्ब प्रस्तुत गर्दछ, जसमा आपसी विश्वास, आपसी लाभ, समानता, परामर्श, सभ्यताको विविधताको सम्मान र साझा विकासको प्रयासलाई समेटिएको छ।

चीनको एससीओ सदस्य, अब्जर्भर (पर्यवेक्षक) र संवाद साझेदार (डायलग पार्टनर) राष्ट्रहरुमा गरेको कूल सन् २०२४ मा लगानी १ सय ४० अर्ब अमेरिकी डलर नाघिसकेको थियो।

श्रीलंकाका अन्तर्राष्ट्रिय मामिला विज्ञ यासिरु रानाराजाका भनाईमा, विगत २४ वर्षमा ‘एससीओ’ को निरन्तर बृद्धि र विस्तार हुँदै आएको छ। यसले ‘एससीओ’ प्रतिको आकर्षण तथा ऊर्जा दुबै प्रष्ट गर्छ।

विश्वका धेरै मुलुकहरु ‘एससीओ’ को सदस्य वा डायलग पार्टनर (संवाद साझेदार) बन्न चाहन्छन्, यसले पनि अन्तर्राष्ट्रिय समुदायबाट यो संगठनले मान्यता गरेको प्रष्ट गर्छ।

‘एससीओले ग्लोबल साउथका देशहरूलाई सहयोगका लागि मूल्यवान प्लेटफर्म प्रदान गरेको छ’ यासिरु रानाराजा भन्छन्, ‘भूराजनीतिक संघर्ष र संरक्षणवाद जस्ता चुनौतीहरूको सामना गर्दै विश्वले एससीओमार्फत् ‘क्षेत्रीय शासनको बढी न्यायपूर्ण र समावेशी दृष्टिकोण’ देखेको छ।’

  • २०८२ भाद्र १२, बिहीबार