सुस्त गतिको रेल चढेर किम जोङ–उन कसरी चीन पुग्छन्?

आफ्नो चिनारी बनेको हरियो रेल चढेर उत्तर कोरियाली नेता किम जोङउन सोमबार (१६ भदौ) प्योङयाङबाट आफ्नो बेइजिङतर्फ प्रस्थान गरेका छन्।

चीनको राजधानी बेइजिङमा बुधबार (१८ भदौ) का लागि आयोजित ‘चिनियाँ जनताको जापानी आक्रमण विरुद्धको युद्ध विजय र विश्व फासिष्ट विरुद्ध युद्ध विजयको ८० औँ वार्षिकोत्सव’ समारोहमा सहभागिताका लागि उत्तर कोरियाली नेता परम्परागत रेल चढेर चीन प्रस्थान गरेका हुन्।

सो समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियालाई नेता उनलाई चीनले प्रमुख अतिथिका रुपमा आमन्त्रण गरेको छ।

दशकौँदेखि उत्तर कोरियाली नेताहरूले प्रयोग गर्दै आएको यस सुस्त तर विशेष रेललाई उनीले यसपटक पनि यात्रा साधनको रूपमा रोजेका हुन्।

उत्तर कोरियाका पुराना र जीर्ण विमानहरूको तुलनामा यी बुलेटप्रुफ रेलहरू ठूलो टोली, सुरक्षाकर्मी, खाना तथा आवश्यक सुविधा लिएर यात्रा गर्न सुरक्षित र सहज मानिन्छन्। विशेषज्ञहरुका अनुसार, बैठकअघि एजेन्डा छलफल गर्न अनुकूल स्थान पनि यसले उपलब्ध गराउँछ।

२०११ को अन्त्यतिर नेतृत्व सम्हालेपछि किमले चीन, भियतनाम र रुसको भ्रमण रेलयात्रामार्फत नै यात्रा गरेका छन्।

रेल भित्र के हुन्छ?
उत्तर कोरियाली नेताहरूले कतिवटा रेल प्रयोग गर्छन् भन्ने स्पष्ट छैन। तर दक्षिण कोरियाली यातायात विशेषज्ञ आन ब्युङ-मिनका अनुसार सुरक्षाका कारण एकभन्दा बढी रेल उनीहरु आवश्यक ठान्छन्।

प्रत्येक रेलमा १० देखि १५ डब्बा हुन्छन्। तीमध्ये केही मात्र नेताका लागि आरक्षित हुन्छन्, जसमा शयनकक्ष पनि हुन्छ। बाँकी डब्बामा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी यात्रा गर्छन्।

साथै किमको कार्यकक्ष, सञ्चार उपकरण, रेष्टुरेन्ट, तथा दुईवटा आर्मर्ड मर्सिडिज कारसहितका डब्बाहरू पनि हुने बताइन्छ।

राज्य सञ्चालित मिडियाले यसै साता मंगलबार किमलाई हरियो रेलको सुनौलो क्रेस्टले सजिएका डब्बा छेउमा वरिष्ठ अधिकारीहरूसँग सिगरेट ब्रेक लिँदै देखाएको थियो। अर्को तस्वीरमा उनी सुनौलो प्रतीकचिह्नले सजिएको काठको प्यानल भएको कार्यालयमा उत्तर कोरियाली झण्डासहित देखिएका थिए।

उनको टेबुलमा सुनौला अक्षरले सजिएको ल्यापटप, धेरैवटा टेलिफोन, उनको चिनारी बनेको सिगरेटको बाकस र नीलो वा पारदर्शी बोतलहरू राखिएका थिए। झ्यालहरू नीलो-सुनौलो पर्दाले सजिएका थिए।

२०१८ मा सार्वजनिक गरिएको भिडियोमा किमले चिनियाँ वरिष्ठ नेताहरूसँग गुलाबी सोफा राखिएको रेलको फराकिलो डब्बामा भेटघाट गरेको देखाइएको थियो।

२०२० को अर्काे अर्को भिडियोमा किमले आँधीग्रस्त क्षेत्रको भ्रमण गर्दा फुलको आकारका बत्ती र जेब्रा प्रिन्ट भएको कुर्सी सजाइएको डब्बामा यात्रा गरेको देखाइएको थियो।

रुसी अधिकारी कोन्स्टान्टिन पुलिकोभ्स्कीले २००२ मा प्रकाशित ‘ओरिएन्ट एक्सप्रेस’ पुस्तकमा किम जोङ इल (किम जोङ-उनका पिता) को ३ हप्ते मस्को यात्रा वर्णन गरेका छन्। त्यसमा उल्लेख भए अनुसार, त्यो बेला पेरिसबाट ल्याइएको बोर्डो र बोजोलाई वाइनका बाकसहरू जीवित लबस्टरहरु समेत रेलमा उपलब्ध गराइएको थियो।

रेलले सीमा कसरी पार गर्छ?
२०२३ मा राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखर सम्मेलनका लागि किम जोङ-उन रुस भ्रमणमा जाँदा रेलका पाङ्ग्राका संरचना उत्तर कोरिया-रुसको सीमा स्टेशनमा परिवर्तन गर्नुपरेको थियो। किनकि दुबै देशका रेल गेज फरक छन्।

तर चीन जाने क्रममा त्यस्तो आवश्यकता पर्दैन। चीनमा प्रवेश गरेपछि भने त्यहाँको रेल इन्जिनले उत्तर कोरियालाई रेललाई तानेर लैजान्छ। किनभने स्थानीय इन्जिनियरहरु रेलमार्ग र संकेत प्रणाली राम्ररी चिन्दछन्।

अघिल्ला चीन भ्रमणका बेला किमको विशेष रेललाई प्रायः हरियो रङका चीनमै निर्मित र ‘चाइना रेलवे कर्पोरेशन’ चिन्ह भएका DF11Z  इन्जिनले तानेका थिए।

ती इन्जिनका सीरियल नम्बर ०००१ वा ०००२ मात्र देखिएका छन्। यसले चीनले सर्वाधिक वरिष्ठ अधिकारीहरूका लागि आरक्षित इन्जिन उपलब्ध गराएको संकेत गर्छ।

२०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भियतनाम शिखर सम्मेलनका लागि चीन पार गर्दा उनको रेल रातो–पहेंलो रङको चीनको राष्ट्रिय रेलवे लोगो भएको इन्जिनले तानेको थियो।

यस रेलको गति ८० किमि प्रतिघन्टा हुन्छ भने भने उत्तर कोरियामा अधिकतम ४५ किमि प्रतिघन्टा मात्र हुन्छ।

कसले रेल प्रयोग गर्छन्?
उत्तर कोरियाका संस्थापक नेता किम इल सुंग (किम जोङ–उनका हजुरबा) ले १९९४ सम्मको शासनकालमा विदेश भ्रमण गर्न प्रायः रेलमै यात्रा गर्थे।

किम जोङ इलले पनि तीन पटक रुस भ्रमण गर्दा मात्र रेल प्रयोग गरेका थिए। २००१ मा उनी २० हजार किलोमिटर लामो यात्रा गर्दै मस्को पुगेका थिए।

२०११ को अन्त्यमा रेलमै यात्रा गर्दै गर्दा हृदयाघातका कारण उनको मृत्यु भएको थियो। त्यसबेला प्रयोग गरिएको रेल डब्बा अहिले उनको समाधिस्थलमा प्रदर्शनमा राखिएको छ।

उत्तर कोरियामा प्रायः यो रेललाई शासनको प्रचारका लागि पनि प्रयोग गरिन्छ। लामो रेल यात्रामार्फत् सर्वसाधारणसँग भेटघाट गर्ने, देशका विभिन्न क्षेत्रको निरीक्षण गर्ने गरेको देखाइन्छ।

२०२२ मा राज्य टेलिभिजनले किम जोङ उनलाई मकै खेतीको निरीक्षण र ‘साम्यवादी परिकल्पना’ को प्रचारका लागि देशव्यापी ‘रेल यात्रा’ गरेको भन्दै प्रसारण गरेको थियो।