एमालेका सदस्य छ लाख ६२ हजार ९६१, कमिटी ६४ हजार ७०६ कमिटी वटा

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को शुक्रबार (२० भदौ) देखि जारी दोस्रो विधान महाधिवेशनमा महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गरेका छन्।

प्रतिवेदनमा हालसम्म नवीकरण भएका पार्टी सदस्यहरु छ लाख ६२ हजार ९६१ रहेको उल्लेख छ । सङ्गठित पार्टी सदस्य सङ्ख्या १०औँ महाधिवेशनपछि ३० प्रतिशतले वृद्धि भएको जनाइएको छ ।

महासचिव पोखरेलले प्रतिवेदन पेस गर्दैै पार्टी अहिले ६४ हजार ७०६ कमिटी रहेको जानकारी दिनुभयो । कतिपय जनसङ्गठनको सङ्ख्या अध्यावधिक नभएको औँल्याउँदै करिब १२ लाख ६९ हजार १६१ सदस्य रहेको महासचिवले प्रतिवेदनमा उल्लेख गरे।

एक लाख ५० हजार सदस्यहरु सङ्गठित हुन बाँकी रहेको महासविच पोखरेलले बताए। कूल चार लाख २७ हजार १६ जना विभिन्न कमिटीमा आबद्ध छन् । प्रतिवेदनअनुसार जिल्ला, प्रवास, प्रदेश, सम्पर्क मञ्च १०३ जिल्ला कमिटी तथा महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिका कमिटी एक हजार ६७ कमिटी छन् । त्यसैगरी वडा कमिटी सात हजार ७६० र टोल कमिटी ५५ हजार ७७६ छन् ।

प्रदेशअन्तर्गत कोशी प्रदेशमा १४ जिल्ला कमिटी र १३६ पालिका कमिटी छन् । त्यसैगरी वडा कमिटी ११ सय ५७ र टोल कमिटी सात हजार १०१ छन् । कोशी प्रदेशमा कूल आठ हजार ४०८ कमिटी रहेका छन् ।

त्यसैगरी मधेस प्रदेशमा आठ जिल्ला कमिटी, १३६ पालिका, १२ सय ७१ वडा, छ हजार ५१५ टोल कमिटी गरी कूल सात हजार ९३० रहेका छन् । बागमती प्रदेशतर्फ १३ जिल्ला, १११ पालिका, ११ सय २१ वडा, १४ हजार २०६ टोलसहित कूल १५ हजार ४५१ कमिटी रहेका छन् । गण्डकी प्रदेशमा ११ जिल्ला कमिटी, ८५ पालिका, ७५९ वडा, पाँच हजार ५६० टोल गरी कूल छ हजार ४१५ कमिटी रहेका छन् ।

लुम्बिनी प्रदेशमा १२ जिल्ला, १०९ पालिका, ९८३ वडा, नौ हजार २६७ टोल गरी कूल १० हजार ३७१ कमिटी रहेका छन् । कर्णाली प्रदेशमा १० जिल्ला कमिटी, ७९ पालिका, ७१८ वडा, छ हजार ३५३ टोलसहित कूल सात हजार २६० कमिटी छन् ।

सुदूपश्चिम प्रदेशमा नौ जिल्ला, ८८ पालिका, ७३४ वडा, पाँच हजार ८५० टोलसहित कूल छ हजार ६८१ कमिटी छन् । त्यसैगरी समन्वय सम्पर्कअन्तर्गत सात जिल्ला, ७४ पालिका, ७४३ वडा कमिटी गरी कूल ८२४ सम्पर्क समन्वय कमिटी छन् ।

प्रवासी नेपाली मञ्चलाई पाँच जिल्ला कमिटीको हैसियत, ३६ पालिका, ७० वटा वडा गरी कूल १११ कमिटी रहेका छन् । प्रवासी नेपाली सङ्घ भारत शाखामा १० वटा जिल्ला, १४१ पालिका, ४१६ वडा तह गरी कूल ५६७ कमिटी रहेका छन् ।

प्रतिवेदनमा प्रस्तुत तथ्याङ्क अनुसार जिल्ला तहमा नौ हजार ७७४ नेता, कार्यकर्ता आबद्ध छन् । पालिका तहमा ४१ हजार ६३३, वडामा एक लाख ७४ हजार २४५ र टोलमा दुई लाख एक हजार ३६४ नेता तथा कार्यकर्ता छन् ।