सीमाबारे प्रम बालेन्द्र शाहको अभिव्यक्ति र एमाले नेतृ पद्मा अर्यालको ‘संकेत’ दुबै गलत

संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको आइतबारको प्रश्नोत्तरमा प्रधानमन्त्री बालेन्द्र शाह र दोस्रो ठूलो विपक्षी दल एमालेकी सांसद (पार्टी सचिवसमेत पद्माकुमारी अर्याल दुबैले सीमानाको विषयमा गलत अभिव्यक्ति दिएका छन्।

नेपाली भूमि अतिक्रमणको चपेटामा परेको छ। अतिक्रमित भूमि फिर्ता गराउन प्रयास गर्नुको साटो प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने गलत दावी प्रधानमन्त्री शाहले गरेका छन्।

नेपालले अर्काे मुलुकको सीमा मिचेको छ भन्ने प्रधानमन्त्रीको दावी, त्यो पनि सार्वभौम संसदमा ।

हामीले बालेन्द्र शाहलाई आफ्नै मुलुकमाथि सीमाना मिचुवाको आरोप लगाउन सत्तामा पुर्याएका हौँ वा मिचिएको हाम्रो मुलुकको भूभाग फिर्ता गराउन प्रधानमन्त्री बनाएका हौँ?

०००००
एमाले सांसद अर्यालले प्रधानमन्त्री शाहसँग प्रश्न सोध्ने क्रममा राखेका लिपुलेकसम्बन्धी प्रसंग पनि उत्तिकै आपत्तिजनक छ। यस सन्दर्भमा उनले नेपालको नक्सा र सार्वभौमिकतासँग मेल नखाने गलत तथ्य आइतबारको प्रतिनिधिसभामा राखिन्।

अर्याल भूमिसुधारमन्त्री भएकै बेला नेपालले संसदबाट पारित गरी चुच्चे नक्सा जारी गरेको हो। त्यो चुच्चे नक्सा हाम्रो संविधानको अभिन्न अंग बनिसकेको छ।

सो नक्सा अनुसार भारतद्वारा अतिक्रमित कालापानीदेखि लिम्पियाधुरासम्मको भूभाग नेपालको हो।

हो, अहिलेसम्म नेपाल–भारत–चीनबीच सहमति जुटेर त्रिदेशीय विन्दू यकिन भइसकेको छैन। हाम्रो संविधानको अभिन्न अंग बनिसकेकाले त्रिपक्षीय (नेपाल–चीन–भारत) वार्ता हुँदा नेपालले ‘लिम्पियाधुरालाई तीन मुलुकको त्रिदेशीय विन्दू मान्नुपर्छ’ भनेर दावी गर्नुपर्छ।

प्रधानमन्त्री शाहलाई प्रश्न सोध्ने क्रममा एमाले सांसद अर्यालले संसदबाट पारित भई जारी भएको नक्साको सन्दर्भ त उठाइन्। तर लिपुलेक नाकाबाट पारस्परिक व्यापार गर्ने सन्दर्भमा चीन–भारतबीचको सहमतिको सन्दर्भ निकालेर लिपुलेक नै ‘त्रिपक्षीय विन्दू’ भएको सन्देश दिन खोजिन्, ‘त्यो भूमि त्रिपक्षीय सरकार (त्रिदेशीय विन्दु भन्न खोजेकी होलिन्) को ठाउँ हो– नेपाल, चाइना र भारतको’ भन्दै।

परम्परागत सीमा नाका भन्दै भारत–चीनले लिपुलेक नाकाबाट व्यापार सन्चालन गर्ने जुन सहमति गरेका छन्, त्यो सन्दर्भ उठाएर अर्यालले ‘लिपुलेक त्रिदेशीय विन्दू हो’ भन्ने खोजेकी हुन् भने त्यो नेपालले जारी गरेको नक्सासँग कत्तिपनि मेल खाँदैन।

किनकी लिपुलेक नाका चुच्चे नक्साको पश्चिमतर्फको अन्तिम विन्दू लिम्पियाधुराबाट धेरै वर (पूर्वतर्फ) पर्छ।

०००
बालेन्द्र शाह प्रधानमन्त्री त बने, तर सीमाजस्तो गम्भीर विषयमा के बोल्न हुने–के नहुने भन्ने ज्ञान नभएको देखियो।

अनौपचारिक कुराकानीका क्रममा भारतीय पक्षले ‘लिम्पियाधुरा–कालापानीसम्मको भूभाग राजा–महाराजाले भारतलाई दिएका थिए भन्ने दावी गर्छन्’ भन्ने गरेको सुनिन्थ्यो।

अब त ‘नेपालले मिचेको भनेको भारतीय भूमि त्यही लिम्पियाधुरा–कालापानीसम्मको भूभाग त हो नि’ भन्ने तर्क गरिदिए भने प्रधानमन्त्री शाहको उपरोक्त अभिव्यक्तिका कारण नेपाली पक्ष चुप लाग्न बाध्य हुनुपर्ने स्थिति सिर्जना हुने भयो ।

प्रतिपक्षी दल एमालेकी नेतृ अर्यालले ‘लिपुलेक त त्रिपक्षीय विन्दू हो’ भन्ने अर्थ लाग्ने अभिव्यक्ति दिइन्। देशको नक्सा अनुसारको सीमाना र भूगोलबारे जानकारी नभएरै उनले यस्तो कच्चा अभिव्यक्ति दिएकी होलिन्।

मन्त्री भइसकेकी, पार्टीको त्यति उच्च पदमा पुगिसकेकी व्यक्तिबाट समेत यस्तो सन्देश जाने अभिव्यक्ति आउनु र प्रधानमन्त्रीबाट आफ्नै मुलुकलाई ‘सीमा मिचुवा’ को आरोप लगाइने दुर्भाग्य हो।