साउदी अरब-पाकिस्तानबीचको रणनीतिक सम्झौता भारतका लागि धक्का

साऊदी अरब र परमाणु शक्ति सम्पन्न मुलुक पाकिस्तानबीच बुधबार (१७ अक्टोबर, १ असोज) एक पारस्परिक सुरक्षा सम्झौतामा हस्ताक्षर सम्पन्न भयो।

यी दुई मुलुकबीच सुरक्षा सम्झौता कतारको राजधानी दोहामा केही दिनअघि इजरायलले हमला गर्नुभन्दा केही दिनपछि भएको हो।

केही महिनाअघि मात्र पाकिस्तान र भारतबीच पनि सैन्य झडप भएको थियो।

यो परिस्थितिमा दुई मुलुकबीचको सम्झौता यी दुई मुलुकका लागिमात्र महत्वपूर्ण मानिएको छैन, बरु यो सम्झौताले पश्चिम एशिया र दक्षिण एशियामा समेत प्रभाव पार्ने विश्लेषण हुन थालेको छ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ १७ सेप्टेम्बरमा साऊदी अरब पुगेका थिए। साऊदी अरब र पाकिस्तानका तर्फबाट जारी संयुक्त वक्तव्यमा उल्लेख भएअनुसार प्रधानमन्त्री शहबाज शरीफलाई त्यहाँका युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमानले निमन्त्रणा पठाएका थिए।

‘पाकिस्तानका प्रधानमन्त्री र साऊदी अरबका युवराजले रणनीतिक पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्, दुबै मुलुक कुनै पनि आक्रमणविरुद्ध मिलेर काम गर्नेछन्’
जारी संयुक्त वक्तव्यमा भनिएको छ, ‘यदि दुईमध्ये एक मुलुकविरुद्ध कसैले आक्रमण गर्छ त्यसलाई दुबैविरुद्धको आक्रमण मानिनेछ।’

यसर्थ भारतका लागि धक्का
अब प्रश्न उठ्छ, यदि भारतले भविष्यमा पाकिस्तानविरुद्ध ‘अपरेशन सिन्दूर’ जस्तै कुनै आक्रमण गर्‍यो भने के साऊदी अरब पाकिस्तानका साथ खडा हुनेछ?

यही जिज्ञाशा साऊदी अरबस्थित भारतीय राजदूत रहेका तलमीज अहमदसँग बीबीसीले सोधेको थियो।

‘हालका लागि यो भारतका लागि ठूलो धक्का जस्तो लाग्दैन’ राजदूत अहमदले भने, ‘तर दीर्घकालिन रुपले भने भारतका लागि यो सम्झौता कुनै दृष्टिकोणले पनि उपयुक्त छैन।’

राजदूत अहमदले थपे, ‘पश्चिम एशियाका लागि अहिले पाकिस्तान धेरै हिसावले प्रासंगिक बनेको छ तर भारत कतै देखिँदैन। खाडीका मुलुकहरु आफ्नो सुरक्षाका लागि पाकिस्तान, टर्की र चीनतर्फ नजर लगाउँदैछन्। त्यसैले यी तीनै मुलुक त्यहाँ निकै महत्वपूर्ण बनेका छन्।

‘अपरेशन सिन्दुरका बेला पनि यी तीन मुलुक भारतविरुद्ध गोलबन्द भएका थिए’ राजदूत अहमद भन्छन्, ‘त्यसैले साउदी अरब र पाकिस्तानबीचको सम्झौता भारतका लागि धक्का नै हो।’

माइकल कुगलम्यान दक्षिण एशियाली भू-राजनीतिमा गहिरो रुचि राख्ने व्यक्ति हुन्। त्यो सम्झौतापछि कुगलम्यानले ‘एक्स’ मा लेखेका छन् कि, ‘पाकिस्तानले नयाँ पारस्परिक सुरक्षा सम्झौता गरेकोमात्र छैन, भारतको शीर्ष साझेदार मुलुकसँग यस्तो सम्झौता गरेको छ।’

‘यो सम्झौताले भारतलाई पाकिस्तानमाथि आक्रमण गर्नबाट रोक्ला भन्ने त लाग्दैन तर तीन महत्वपूर्ण शक्तिहरू– चीन, टर्की र अब साऊदी अरब पूर्ण रूपमा पाकिस्तानसँग छन्’ कुगलम्यान भन्छन्, ‘पाकिस्तान अहिले निकै बलियो अवस्थामा पुगेको छ।’

यो सम्झौताबारे भारतीय विदेश मन्त्रालयले पनि प्रतिक्रिया दिएको छ। विहीबार (१८ सेप्टेम्बर, २ असोज) विदेश मन्त्रालयले वक्तव्य जारी गर्दै भनेको छ, ‘यस सम्झौताले भारतको राष्ट्रिय सुरक्षासँगै क्षेत्रीय र वैश्विक शान्तिमा पार्ने प्रभावको अध्ययन गर्नेछौँ। आफ्ना राष्ट्रिय हितहरूको सुरक्षाका लागि भारत सरकार प्रतिबद्ध छ।’

साउदी अरबका युवराज र पाकिस्तानी प्रधानमन्त्री

यसको अर्थ के हो भने, यो सम्झौताले आफ्नो राष्ट्रिय सुरक्षामा आफूलाई असर पार्ने कुरा स्वीकार गरेको छ।

भारतका पूर्व विदेश सचिव कन्वल सिब्बलले सिन यसलाई निकै गम्भीर विषय मानेका छन्।

‘यो सम्झौताको अर्थ हो, साऊदी अरबको पैसा अब पाकिस्तानी सेनालाई थप बलियो बनाउन प्रयोग हुनेछ’ कन्वल सिब्बलले एक्समा लेखेका छन्, ‘पाकिस्तान इजरायलविरुद्ध खुलेआम अरब मुलुकहरुलाई परमाणु सुरक्षा दिने कुरा गरिरहेको छ।’

त्यसो त, पाकिस्तान र साऊदी अरबबीचको साझेदारी नयाँ होइन। तर अहिले भएको रणनीतिक साझेदारी भारतका लागि बढी चिन्ताजनक हुने ठानिदैछ।

पाकिस्तानको प्रासंगिकतामा बृद्धि
अमेरिकाको डेलावेयर विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक मुक्तदर खानका भनाईमा, यदि भारतले पाकिस्तानमाथि आक्रमण गर्‍यो भने आफ्ना सैनिक पठाएपनि वा नपठाएपनि आफ्नो आर्थिक सम्पन्नताका कारण साऊदी अरबले पाकिस्तानी सेनालाई बलियो बनाउन आर्थिक सहयोग गर्ने सक्नेछ।

‘साऊदी अरबसँग अमेरिकी प्रविधि छ, जुन उसे पाकिस्तानलाई उपलब्ध गराउन सक्छ’ मु्क्तदर खान भन्छन्, ‘पाकिस्तानी सेनाका लागि यो ठूलो सहयो हुनेछ। त्यसैले, यो सम्झौता भारतका लागि ठूलो धक्का हो।’

मु्क्तदर खानका भनाईमा, साऊदी अरबले यो सम्झौता किन गर्‍यो भन्ने प्रश्न उठ्न सक्छ। तर यसको स्पष्ट कारणहरू छन्।

पहिलो, खाडीका मुलुकहरुलाई अब अमेरिकामाथि विश्वास छैन। दोस्रो, अपरेशन सिन्दूरको क्रममा पाकिस्तानले भारतको आक्रमणलाई निकै प्रभावकारीरुपमा सामना गरेको थियो।

‘त्यसैले त्यो आक्रमणपछि पाकिस्तान एक महत्वपूर्ण मुलुकका रूपमा उदायो, आफ्नो स्थान गुमाउँदै गइरहेको पाकिस्तान फेरि पश्चिम एशियामा प्रासंगिक हुन पुगेको छ’ मु्क्तदर खान थप्छन्, ‘तर, भारत भने यस क्षेत्रमा कहीँ कतै देखिँदैन।’

सामरिक मामिलाका विज्ञ ब्रह्मा चेलानीलाई पनि लाग्छ, भारतीय प्रधानमन्त्री मोदीले साऊदी अरबलाई मनाउने क्रममा वर्षौं बिताए तर भारतले कुनै लाभ लिन सकेन।

चेलानीले एक्समा लेखेका छन् कि, मोदीले दुई मुलुकबीचको सम्बन्धलाई ‘रणनीतिक साझेदारी’ सम्म पुर्‍याए, लगातार भ्रमण पनि गरे। यसै वर्षको अप्रिलमा पनि उनी साउदी अरब गए।

भारतीय प्रधानमन्त्री मोदी र साउदी अरबका युवराज

‘तर अहिले आएर मोदीकै जन्मदिनमा साऊदी अरबका क्राउन प्रिन्सले खराब सरप्राइज दिएका छन्’ चेलानी लेख्छन्, ‘अब साऊदी अरब र पाकिस्तानमध्ये कुनै एकमाथि आक्रमण भयो भने दुबै मुलुकमाथिको आक्रमण मानिनेछ।’

अमेरिकामा पाकिस्तानका राजदूत रहिसकेका हुसैन हक्कानीले सामाजिक सञ्जाल ‘एक्स’ मा उल्लेख गरेअनुसार, अब पाकिस्तानले साऊदी अरबको पैसाले अमेरिकी हतियार खरिद गर्ने सम्भावना बढी छ, जुन उसको आवश्यकता पनि हो।

पाकिस्तान-साऊदी अरबबीचको मित्रता
१९९८ मा पाकिस्तानले परमाणु बम परीक्षण गरेपछि साऊदी अरबका तत्कालीन रक्षा मन्त्री प्रिन्स सुल्तान बिन अब्दुल अजीज अल साउद इस्लामाबाद पुगेका थिए।

त्यसक्रममा उनले पाकिस्तानी परमाणु र मिसाइल निर्माणस्थलहरुको भ्रमण गरेका थिए। अमेरिकामा राष्ट्रपति बिल क्लिन्टन थिए। साउदी अरबका मन्त्रीको त्यो बेलाको पाकिस्तान भ्रमणले अमेरिकीहरुलाई चकित बनाएको थियो। न्युयोर्कटाइम्ससँगको कुराकानीमा क्लिन्टन प्रशासनका वरिष्ठ अधिकारीले त्यो भ्रमण चिन्ताजनक रहेको उल्लेख गरेका थिए।

पाकिस्तानले कुनै विदेशीलाई अतिगोप्य स्थलमा लगेको यो पहिलो घटना थियो। अमेरिका पनि स्पष्ट थिएन कि सऊदी मन्त्री किन पाकिस्तानको कहुटामा युरेनियम संवर्द्धन केन्द्र र घोरी मिसाइल निर्माणस्थलमा गए! यसको उद्देश्यबारे न सऊदी अरबले, न त पाकिस्तानले नै यसबारे बताएका थिए।

भारत-साऊदी अरब सम्बन्धमा असर
यो सम्झौताले भारत-साऊदी अरबबीचको सम्बन्धमा के असर पार्ला भन्ने प्रश्नमा तलमीज अहमद भन्छन्, ‘सऊदी अरबसँग भारतको सम्बन्ध राम्रो छ। तर भारत पश्चिम एशियामा व्यापारमा मात्र सीमित छ। पाकिस्तानजस्तै ऊ (भारत) खाडी क्षेत्रमा कसैको सुरक्षा साझेदार होइन।’

‘अर्कोतर्फ साउदी अरबमा अझैपनि पाकिस्तानी सैनिक छन्। यमनसँग जोडिएको साउदी अरबको सीमानामा पाकिस्तानी सैनिक तैनाथ छन्। मलाई पटक-पटक लाग्छ, भारतीय नेतृत्व घरेलु राजनीतिमा बढी व्यस्त छ। संसारभर यति धेरै घटना भइरहेपनि भारत कहीँकतै देखिँदैन।’

पश्चिमी मिडियाहरुका अनुसार, खाडी मुलुकहरुमा अमेरिकाप्रतिको अविश्वास बढ्दो छ। र, यही कारण यी देशहरू आफ्नो सुरक्षाका लागि पाकिस्तान, चीन, टर्की र अन्य देशतर्फ नजर लगाउँदैछन्।

९ सेप्टेम्बरका दिन जब इजरायलले दोहाको एक ठाउँमा आक्रमण गर्‍यो, त्यसपछि नै खाडी मुलुकमा प्रश्न उठ्न थाल्यो, ‘के आफ्नो सुरक्षाका लागि उनीहरु अझैपनि अमेरिकामाथि भरोसा गर्न सक्छन्?’

पाकिस्तानसँग सुरक्षा सम्झौताबारे समाचार संस्था रोयटर्ससँग साऊदी अरबका एक अधिकारीले दुबै देशबीच पहिले नै बलियो सम्बन्ध रहेको, अहिलेको सम्झौता वर्षौंको वार्ताको परिणाम भएको र यसलाई कुनै एक घटना वा विशेष देशलाई जवाफका रूपमा नहुने बताएका छन्।

भरोसायोग्य रहेन अमेरिका
इजरायलले दोहामा हवाई आक्रमण गरेर हमासका नेताहरूलाई मार्ने कोसिस गरेको थियो। अर्कोतर्फ इजरायलले कतारको सहयोगमा युद्धविरामका लागि पनि वार्ता गरिरहेको थियो। कतार पूरै मामिलामा मध्यस्थता गरिरहेको थियो।

इजरायली आक्रमणका कारण पश्चिम एशियाको अवस्था निकै जटिल भएको छ। अमेरिका लामो समयदेखि पश्चिम एशियामा सुरक्षा प्रत्याभूतकर्ताको रूपमा रहँदै आएको थियो। तर इजरायली आक्रमणका कारण अमेरिकाको भूमिका अब कमजोर बनेको छ।

गाजामा जारी युद्धका कारण कतारले यस वर्ष दुई पटक आक्रमण भोगिसकेको छ। पहिलो इरानी आक्रमण र दोस्रो इजरायली आक्रमण।

अमेरिकी समाचार सञ्जाल ‘एएनएन’ सँग नाम नखुलाउने शर्तमा साऊदी अरका एक वरिष्ठ अधिकारीले भनेका छन्, ‘भारत र पाकिस्तान दुबैसँग सम्बन्धमा सन्तुलन आवश्यक छ। किनकी भारत पनि परमाणु शक्ति सम्पन्न देश हो।’

साऊदी अरबका एक वरिष्ठ अधिकारीका भनाईमा, भारतसँग साउदी अरबका सम्बन्ध अहिले जति बलियो छ, त्यति कहिल्यै भएको थिएन। ती अधिकारीले यो सम्बन्धलाई थप मजबुत बनाउँदै लैजाने र क्षेत्रीय शान्तिका लागि मिलेर काम गर्ने पनि बताए।

के पाकिस्तानले यो सुरक्षा सम्झौताअनुसार सऊदी अरबलाई परमाणु सुरक्षा पनि दिनेछ? जवाफमा सऊदीका एक अधिकारीले बीबीसीसँग भने, ‘यो निकै व्यापक सुरक्षा सम्झौता हो र यसमा सबै कुरा समेटिएका छन्।’