एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले २४ भदौमा सुरक्षाकर्मीहरुले आफूलाई सुरक्षा दिन नसकिने बताएपछि आफूले प्रधानमन्त्री निवास बालुवाटार छाड्नु परेको बताएका छन्।
अघिल्लो दिन बानेश्वरमा ‘जेन जी’ पुस्ताले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १९ जना प्रदर्शनकारीहरुको मृत्यु भएको थियो। त्यही घटनाको आक्रोसस्वरुप भोलिपल्टको ध्वंसात्मक प्रदर्शनपछि ओली प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए।
राजीनामा दिएपछि ओलीलाई सुरक्षाका लागि नेपाली सेनाले हेलिकोप्टरमा हालेर अज्ञातस्थलतर्फ लगेको थियो। त्यसपछिका करिव १० दिन उनी शिवपुरीस्थित नेपाली सेनाको स्टाफ कलेजमा सेनाको आतिथ्यतामा रहेको अनुमान हुने गरेको छ।
१० दिनको गुप्तवासपछि ओली २ असोज अपरान्ह गुण्डुमा व्यवस्था गरिएको भाडाको निवास पुगेका थिए। गुण्डुमा बसोबास थालेको १० दिनपछि ओलीले शनिबार (११ असोज) २४ भदौको घटनाबारे पहिलो पटक मुख खोले।
सुरक्षाकर्मीको भूमिकाको चर्चा
शनिबार (११ असोज) विहान एमाले सम्बद्ध लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका अध्यक्ष पासाङ शेर्पासहितको टोलीसँगको कुराकानीमा ओलीले २४ भदौमा प्रदर्शनकारीहरूले ‘आफूलाई मार्न खोजेको’ र ‘कांग्रेस सभापति शेरबहादुर देउवालाई घाइते बनाउने उनीहरुको योजना रहेको’ दावी गरे।
‘त्यसदिन पाँच मिनेट ढिला भएको भए मलाई मार्ने थिए’ शेर्पासहितको टोलीसँग ओलीले भनेका छन्, ‘शेरबहादुरजीलाई घाइते बनाउने र मलाई मार्ने खालकै योजना थियो।
ओलीका भनाईमा, २३–२४ मा घटना यसरी अकस्मात विकसित भए कि, उनले त्यसको सामनाका लागि कुनै तयारी नै गर्न पाएनन्। उनी के तयारी गर्न चाहन्थे, त्यसबारे भने उनले केही खुलाएका छैनन्।
शेपासँगको कुराकानीमा ओलीले सुरक्षाकर्मीहरुको भूमिकाको पनि चर्चा गरेका छन्। सुरक्षाकर्मीहरुले आफ्नो ‘सुरक्षाका लागि केही गर्न सक्दैनौँ’ भनेको र ‘नेपाली सेनाले आफूलाई भगाएको’ खुलाशा गरेका छन्।
‘सेक्युरिटीमाथि मलाई अलिकति भरोसा भयो, सेक्युरिटीले हामी केही पनि गर्न सक्दैनौं, केही पनि गर्दैनौं भन्यो’ ओली भन्छन्, ‘अनि अन्तिममा नेपाली सेनाले भगाइसम्म दियो। त्यहाँबाट निकाल्यो एकछिनमा। पाँच मिनेट भित्रमा हामी हिँड्यौं।’
ओलीले शेर्पासहितको टोलीसँग यस्तो खालको घटनालाई आधार बनाएर कमजोर मनोबल नबनाउनपनि आग्रह गरेका थिए।
‘कमजोर मनोबल बनाएर हामीले केही पनि गर्न सक्दैनौं, यस्ता षड्यन्त्रबाट देशलाई जोगाउन उच्च मनोबल गर्नैपर्छ’ ओलीको भनाई थियो, ‘यस प्रकारका देशै जलाउने खालका घटनाहरू महाआपराधिक हुन्।’
यस्ता घटनाहरु अब एमालेले हुन नदिने उद्घोषपनि ओलीले गरे। देशको सम्पत्तिको रक्षा गर्न चुकेको र कल्पना नै नगरिएका कारण यस्ता घटना भएपनि यस्तो कमजोरी आगामी दिनमा हुन नदिने दावी ओलीले गरेका छन्।
जिम्मेवार पदमा रहेका व्यक्तिहरु विभिन्न ओहोदामा भएका कारण यस्ता घटना भएको ओलीको दावी थियो। सम्भवतः उनको उनको यो भनाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहतर्फ लक्षित हो।
‘देशद्रोही,अपराधी तत्वहरू विभिन्न ठाउँ–ठाउँमा पुगेका रहेछन्, ठूलो पद र ओहोदामा पनि पुगेका रहेछन्’ ओलीको भनाई थियो, ‘देशलाई माया नै नगर्ने तत्वहरू शेर पल्टेर बसेका रहेछन्। यो कुरा हामीले यसपटक देख्यौं। त्यस्ता तत्त्व हामीले चिनेका छौं। त्यस्ता तत्त्वलाई नियन्त्रण गर्दै लगिनेछ।’
सेनाप्रति असन्तुष्टि
१९ जनाको ज्यान जानेगरी २३ भदौमा बानेश्वरमा गोली चलेपछि सरकारविरुद्ध तीब्र आक्रोस सिर्जना भएको थियो।
यसबीचमा सार्वजनिक भएका समाचार अनुसार, २३ भदौको त्यो घटनापछि स्थिति सम्हाल्न कठिन विश्लेषणका साथ नेपाली सेनासहित तीनवटै सुरक्षा अंगका प्रमुखहरुले त्यसैदिन राति १० बजेतिर बसेको सुरक्षा परिषदको बैठकमा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिँदा उपयुक्त हुने सुझाव दिएका थिए।
तर, ओलीले सुरक्षा निकायले आफ्नो जिम्मेवारी ठीकसँग सम्हाल्दा परिस्थिति साम्य हुने जवाफ फर्काए।
भोलिपल्ट विहानैदेखि कर्फ्यूको परवाह नगरी प्रदर्शनकारीहरु सडकमा निस्के। आक्रोसित प्रदर्शनकारीहरुले ठाउँ–ठाउँमा आगजनी गर्न थाले। त्यसपछि बसेको सुरक्षा परिषदको बैठकमा फेरि प्रधानसेनापति अशोकराज सिग्देलले स्थिति साम्य पार्न ओलीले राजीनामा दिनु उपयुक्त हुने सुझाव दिए।
तर, ओली भने राजीनामाबारे सोच्ने स्थितिमा समेत थिएनन्, राजीनामा दिने कुरा त परको कुरा भयो। त्यहीकारण बालुवाटारमा ओली–सुरक्षा निकायका प्रमुखहरुबीच कुराकानी भएको बैठक कक्षको स्थिति असहज बन्यो। स्थिति असहज भएपछि प्रधानसेनापति सिग्देलसहित सुरक्षा निकायका अधिकारीहरु ओलीको कार्यकक्षबाट बाहिरिए।
त्यसपछि तत्कालिन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले प्रधानसेनापति सिग्देलसँग कुराकानी गरेर परिस्थिति सामान्य बनाउने प्रयास गरेका थिए। सिग्देलले परिस्थितिको गम्भीरताबारे उपप्रधान तथा अर्थमन्त्री पौडेललाई जानकारी गराएपछि पौडेल ओली रहेको कार्यकक्षमा फर्केर प्रधानमन्त्रीबाट राजीनामा गराउन ओलीलाई सहमत गराएका थिए।
यति कुराकानी हुँदै गर्दा प्रधानमन्त्री निवासलाई समेत प्रदर्शनकारीहरुले घेराउ गर्न सुरु गरिसकेका थिए। सुरक्षाकर्मीहरुबाट ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा प्रदर्शनकारीहरुबाट कुटिएर घाइते बनेको जानकारी पाइसकेका थिए।
ओलीले प्रधानसेनापति सिग्देललाई सेना परिचालन गर्न आदेश त दिए। तर, सिग्देलले परिस्थिति निकै गम्भीर भइसकेको जानकारी गराउँदै प्रधानमन्त्रीको राजीनामा पछि मात्र परिस्थिति साम्य हुने जवाफ दिएका थिए।
राजीनामापछि ओलीलाई सैनिक हेलिकोप्टरमा राखेर अज्ञातस्थलतर्फ लगिएको थियो।
‘पाँच मिनेटमात्र ढिला गरेको भए म मारिने थिएँ’ ओलीको भनाईले पनि परिस्थिति कति गम्भीर थियो भन्ने प्रष्ट पार्छ। तर, आफ्नो ज्यान जोगाउन भूमिका खेलेर परिस्थितिलाई थप असामान्य हुनबाट जोगाएका सेना लगायतका सुरक्षा निकायहरुप्रति भने ओलीले प्रहार सुरु गरेका छन्।
‘सेक्युरिटीले हामी केही पनि गर्न सक्दैनौं, केही पनि गर्दैनौं भन्यो’ भन्ने ओलीको यो भनाई सुरक्षा निकाय खासगरी सेनाप्रतिको प्रहार हो। सुरक्षा निकायहरुप्रति आफ्नो भरोशा भएपनि सेनाको भूमिका भने ‘आफूलाई भगाउनमा मात्र सीमित भएको’ भन्दै प्रहार गरेका छन्।
खासमा ‘कार्यकारी प्रमुख’ का हैसियतमा सम्पूर्ण मुलुकको सुरक्षाको जिम्मेवारी प्रधानमन्त्रीको हुन्छ। सुरक्षा निकायमाथि ‘तल–वितल’ भयो भने त्यसको नैतिक जिम्मेवारीपनि प्रधानमन्त्रीको नै हुन्छ।
मुलुक र नागरिकको सुरक्षामा कुनै चुक हुँदा यो त सुरक्षा निकायको जिम्मेवारी हो भनेर प्रधानमन्त्री वा गृहमन्त्री पानीमाथिको ओभानो हुन पाउँदैनन्।
तर, ओलीले भने ती घटनाको नैतिक जिम्मेवारी अझै लिएका छैनन्। बरु, शनिबार नै एमाले सम्बद्ध राष्ट्रिय युवा संघले आयोजना गरेको दशैं शुभकामना आदान–प्रदान कार्यक्रममा गोली चलाउने आदेश सरकारले नदिने र थाहा नपाउने दावी समेत गरेका छन्।