सिन्धुपाल्चोक बलेफी-८ का स्थायी बासिन्दा हुन्, ‘जेनजी’ आन्दोलनका घाइते २५ वर्षीय मदन कार्की। केही वर्षदेखि काठमाडौँमा भिडियोग्राफी गर्दै आएका कार्की भक्तपुर निकोसेरास्थित डेराबाटै काम गरिरहेका थिए।
कार्की २३ भदौमा ‘जेन जी’ ले आयोजना गरेको भ्रष्टाचार र बेथितिविरुद्धको आन्दोलनमा सहभागी भए। त्यसक्रममा नयाँ बानेश्वरमा बायाँ पाखुरामा गोली लागेर उनी घाइते बन्न पुगे।
अहिले कार्कीको अहिले महाङ्कालस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
मुलुकमा बेथिति अन्त्यगरी समृद्धिको सपना साकार पार्न कसै न कसैले पहल गरोस् भन्ने लागेकाखबेला युवापुस्ताको आव्हानमा भएको आन्दोलनमा सम्पूर्ण नेपालीको सहयोग र समर्थन मिलेको आन्दोलनका घाइते कार्की बताउँछन्।
कार्कीका भनाईमा, जेनजी समूहको आह्वानमा भएको आन्दोलनमा सहभागी हुन उनी बानेश्वरको एभरेष्ट होटलअघि बिहान ११ बजे पुगेका थिए। त्यो ठाउँलाई निषेधित क्षेत्र घोषणा गरिएको थियो।
त्यहाँ शान्तिपूर्ण रुपमा प्रदर्शन भइरहेको थियो। तीनकुने र माइतीघरबाट आउने आन्दोलनकारीको संख्या निकै ठूलो थियो। त्यसैक्रममा ठूलो जुलुसले निषेधाज्ञा तोड्दै संसद् भवन अगाडि पुग्यो।
आन्दोलनकारीहरुले ‘संसद् भवन खाली गर’ भन्ने नारा लगाएका थिए। त्यर्सक्रममा प्रहरीले अचानक अश्रुग्यास हान्न थाल्यो। सुरुमै अश्रु ग्यास प्रहार भएपछि भिड रन्थनिएर आक्रमक बन्यो। प्रदर्शनमा सहभागी युवाहरुले ढुङ्गामुढा गर्न थाले।
कार्की भन्छन्, ‘सुरुमा त्यो गर्ने मनसाय थिएन। त्यहाँ घुसपैठ कहाँनेर भयो थाहा भएन। हामी शान्तिपूर्ण आन्दोलन नै गर्ने योजनाका साथ अघि बढेका थियौँ।’
‘हामी वास्तविक ‘जेन जी’ हरु देशको सार्वजनिक सम्पत्ति र सम्पदा नष्ट गर्नु हुँदैन भन्ने कुरामा प्रष्ट थियौँ’ उनले भने ‘तर स्वार्थी, उदण्ड स्वभावका केही व्यक्तिहरु भने तोडफोडमा संलग्न हुन थाले। उनीहरुलाई आन्दोलनको मर्म र भावना थाहा थिएन। तिनै मानिसहरु तोडफोडमा संलग्न भएको पाइयो।’
कार्की सम्झन्छन्, ‘सुरक्षा फौजले हानेको त्यसबखत अश्रुग्यास टिप्दै उतै फर्काउँदै भाग्दै गर्नेक्रम चलिरहेको थियो। त्यसैक्रममा बार भत्काउने र संसद् भवनभित्र छिर्ने भन्ने भयो। त्यो दिन संसद् चल्छ भन्ने पनि सुनिएको थियो।’
‘ठूलो संख्यामा भएकाले भीड थेग्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो, अश्रुग्यास हान्ने, फर्काउने, ह्वार्रर अघि बढ्ने र आँखामा पनि छयाप्ने काम चलिनै रह्यो’ उनी थप्छन्, ‘एक्कासी ड्याङ–ड्याङ र भटटटट गोली चल्यो, गोली कहाँबाट हानियो भन्ने थाहै भएन। मसँगै छेउमा रहेका चार/पाँच जना साथीहरु गोली लागेर ढले।’
गोली चलेका बेला कार्कीको समूह संसद् भवनको दक्षिण मुल ढोकाको अगाडि थियो। उनलाई पनि एक्कासी गोली लाग्यो, रन्थनिए। मुटु गाँठो परेजस्तो भयो।
‘त्यति हुँदा पनि म दौडिएँ, मलाई गोली लाग्यो भनेर साथीहरुलाई भनेँ, रगत ह्वार्र ओइरियो’ उनले सम्झे, ‘त्यो देखेपछि साथीहरुले मलाई उचालेर एम्बुलेन्समा हाले अनि नजिकैको एभरेष्ट अस्पताल पुर्याए।’
तर, अस्पतालमा बिरामी राख्ने ठाउँ थिएन। चिकित्सकहरुले भुइँमै सुताएर उनीसँग सोधपुछ गरे। कार्कीले आफू रहेको स्थानको वरपर रगतको आहाल देखे।
‘साथीहरु नआत्तिनु भनेर सान्त्वना दिइरहेका थिए, मलाई भने संसार घुमिरहेको छ जस्तो लागिरहेको थियो, बेहोस हुँला जस्तोपनि भयो’ उनी भन्छन्, ‘शरीरमा अक्सिजन कम भएजस्तो भयो, त्यसैले अक्सिजन लगाइदिनु भनेँ।’
उनलाई साथीहरुले ‘ट्रमा सेन्टर’ पठाइदिए।
‘मलाई देशका लागि यतिसम्म गर्न सकें भन्ने गर्व लाग्यो’ उनले थपे, ‘भोलि आउने पिढीलाई राम्रो हुन्छ भने मेरो ज्यान गएर केही फरक पर्दैन भन्ने महसुस गरेँ।’
ट्रमा सेन्टर पुगेपछि उनले साथीहरुलाई फोन गरेर आफूलाई गोली लागेको सुनाए। आफ्नो हात नै नचल्ने भएको बताए।
त्यसैक्रममा उनका दाजु लगायत घरपरिवारका सबैसँग कुराकानी भयो। त्यसराति उनको शल्यक्रिया भयो।
शल्यक्रियाका क्रममा विरामीलाई बेहोस बनाउने गरिन्छ। उनको शल्यक्रियापनि बेहोस बनाएपछि गरिएको थियो।
‘मेरो होस खुल्दा देशमा सरकार परिवर्तन भइसकेको रहेछ’ उनले सुनाए, ‘भोलिपल्ट राष्ट्रिय सम्पत्तिमा आगजनीसहित देशमा उथलपुथल भइसकेको रहेछ।’
उनलाई लाग्छ, आन्दोलनका क्रममा त्यसरी सार्वजनिक सम्पत्ति जलाउन हुँदैनथ्यो। नेताहरुका पनि घर–सम्पत्ति जले। उनीहरु एक हिसाबले सुकुम्बासीसरह भए।
तर, कतिपयले बदमासी गरेर सम्पत्ति जोडेका रहेछन् भन्ने कुरापनि त्यो घटनाले छर्लङ्ग बनाइदियो।
‘कतैबाट भगवान् आएर व्याप्त भ्रष्टाचार, अन्याय र अत्यचार अन्त्य गरिदेओस् भन्ने लागेका बेला यो विस्फोटन भएको छ’ उन भन्छन्, ‘यो आन्दोलनमा सम्पूर्ण नेपालीको सहयोग र समर्थन मिलेको छ।’
आन्दोलनका क्रममा भएको जनधनको क्षतिलाई कार्की दुर्भाग्यपूर्ण मान्छन्। २३ भदौमा भएको गोली प्रहारको घटनाले अर्काे दिनको विध्वंस निम्त्याएको बताउने उनी युवाहरुको शान्तिपूर्ण प्रदर्शनमा ताकिताकी गोली हान्नेहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउनुपर्ने उनको माग छ।
‘घाइते र सहीद परिवारलाई शिक्षा, स्वास्थ्य निःशुल्कसहित उचित राहत प्रदान गरिनुपर्छ, घाइतेहरुलाई रोजगारी दिनुपर्छ’ उनी भन्छन्, ‘युवापुस्ताको माग र मुद्दाअनुरुप शासकीयस्वरुपको परिवर्तनसम्मका विषयलाई सम्बोधन हुनुपर्छ, अनावश्यक संरचनाको खारेजी हुनुपर्छ, जनताले नै आफ्नो कार्यकारी छनोट गर्न पाउने व्यवस्था हुनुपर्छ।’
उनका भनाईमा, विसं २०४६ पछि माथिल्लो तहमा रहेका राजनीतिक र प्रशासनिक व्यक्तिहरुको सम्पत्ति छानबिन गरी अकूत सम्पत्ति आर्जन गर्नेको राष्ट्रीयकरण गरिनुपर्छ। त्यसका लागि वर्तमान संविधानलाई पनि समयसापेक्ष संशोधन गरिनुपर्छ। युवाको बलिदानबाट बनेको सरकार भएकाले युवापुस्ताले उठाएका माग सम्बोधन हुनुपर्छ।