हुँदाहुँदा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफैलाई आफैलाई भेनेजुएलाको कार्यबाहक राष्ट्रपति दावी गरेका छन्। सोमबार सामाजिक सन्जाल ट्रुथ सोसलमार्फत् आफ्नो तस्वीर पोष्ट गरेर ट्रम्पले यस्तो दावी गरेका हुन्।
आफ्नो पहिलो राष्ट्रपतित्वकालमा नै डोनल्ड ट्रम्पले भेनेजुएलाविरुद्ध आफूलाई केन्द्रित गर्न थालेका थिए। लगत्तै उनको प्रशासनले राष्ट्रपति निकोलस मादुरो र उनका शीर्ष सहयोगीहरूलाई लागुऔषध तस्करीमा संलग्न रहेको आरोपसहित औपचारिक रूपमा अभियोग लगाएको थियो।
यतिमात्र होइन, विपक्षी नेता हुआन ग्वाइदोलाई अमेरिका र उसका पश्चिमी सहयोगी राष्ट्रहरूले भेनेजुएलाको ‘कार्यवाहक राष्ट्रपति’ का रुपमा मान्यता समेत दिए।
सन् २०२५ को सुरुआतमा ट्रम्प पुनः सत्तामा फर्किए। त्यसपछि उनको परराष्ट्र नीतिको प्राथमिकतामा भेनेजुएला र समग्र दक्षिण अमेरिका पर्यो। ट्रम्प प्रशासनले लागुऔषधविरुद्धको कथित युद्ध घोषणा गर्यो र भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई ‘संसारकै सबैभन्दा ठूला लागुऔषध तस्करहरूमध्ये एक’ भएको आरोप लगायो।
अमेरिकाले भेनेजुएलाको तट नजिक नागरिक डुंगामाथि बमबारी सुरु गर्न थाल्यो। अमेरिकाको दावी थियो, ती भेनजुएली डुंगामार्फत लागुऔषध ओसारपसार गर्ने गरिएको छ। साथै, अमेरिकाले जेट विमान, युद्धपोत र हजारौँ सैनिक क्यारिबियन क्षेत्रमा तैनाथ गर्यो।
ट्रम्पले आफूले सीआईएलाई भेनेजुएलाभित्र गोप्य कारबाही सञ्चालन गर्न अनुमति दिएको बताएका थिए र ‘मादुरोको समय अब समाप्त भयो’ भन्ने चेतावनी समेत दिएका थिए।
उनले भेनेजुएलाबाट जाने र आउने तेल ट्यांकरहरूमाथि सामुद्रि नाकाबन्दी समेत लगाए।
सत्ता परिवर्तन
ट्रम्पले निरन्तर आफू र भेनेजुएलामाथि निशाना साधेपछि भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले २ जनवरीमा वाशिङ्टनसँग ‘गम्भीर वार्ता’ को प्रस्ताव राखे। तर, यस्तो प्रस्ताव राखेको एक दिनपछि नै अमेरिकाले भेनेजुएलामाथि ठूलो हवाई आक्रमण गर्यो।
भेनेजुएला सरकारले यस सैन्य आक्रमणको कडा निन्दा गर्यो। साथै आपतकाल घोषणापनि गरियो। ट्रम्पले सामाजिक सञ्जालमार्फत् आक्रमण गरिएको स्वीकार गरे र राष्ट्रपति र मदुरो तथा उनकी पत्नीलाई पक्राउ गरी देशबाहिर लगिएको घोषणा गरे।
भेनेजुएलाका राष्ट्रपतिको अपहरणबाट त्यहाँको समाजवादी शासनको अन्त्य हुन्छ कि हुँदैन भन्ने कुरा तुरुन्तै स्पष्ट छैन। तर, ट्रम्प आफ्नो आक्रामक योजनामा तीव्र गतिमा अघि बढिरहेका देखिन्छन्। भेनेजुएलाको सन्दर्भमा उनको चाहना स्पष्ट छ। त्यो हो, सत्ता परिवर्तन।
यस वर्षको नोबेल शान्ति पुरस्कार विजेता तथा भेनेजुएलाकी दक्षिणपन्थी विपक्षी नेतृ मारिया कोरिना माचाडोले भेनेजुएलाबारे ट्रम्पका नीतिहरूलाई पूर्ण रूपमा समर्थन गरेकी छन्।
ट्रम्प किन सत्ता परिवर्तन चाहन्छन्? यसका तीन ठूला कारण देखिन्छन्।
पहिलो, ट्रम्प पश्चिमी गोलार्धमा अमेरिकी सर्वोच्चता पुनःस्थापित गर्न चाहन्छन्। सन् १८२३ मा राष्ट्रपति जेम्स मुनरोले अमेरिकी (उत्तर र दक्षिण अमेरिका) हरु भविष्यमा युरोपेली हस्तक्षेप र उपनिवेशवादबाट मुक्त रहने घोषणा गरेका थिए। पछि ‘मुनरो सिद्धान्त’ भनेर चिनिएको यस नीति अन्तर्गत अमेरिकाले आफ्नै आँगनमा वर्चस्व स्थापित गर्यो र प्रभाव क्षेत्र निर्माण गर्यो।
ट्रम्प प्रशासनले हालै सार्वजनिक गरेको राष्ट्रिय सुरक्षा सिद्धान्तले ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रलाई ‘रणनीतिक प्राथमिकता’ मानेको छ। मुनरो सिद्धान्त पुनर्जीवित गर्दै, उक्त दस्तावेजले ल्याटिन अमेरिकामा बाह्य शक्तिहरू (चीन) को प्रभाव वा नियन्त्रणलाई रोक्नुपर्ने र पश्चिमी गोलार्धमा अमेरिकी राजनीतिक, आर्थिक र सैन्य प्रभावअन्तर्गत नै रहनुपर्ने दाबी गरेको छ।
चीन कारक
दोस्रो, आफ्नो सर्वोच्चता मजबुत बनाउँदै अमेरिका यस क्षेत्रमा चिनियाँ र रुसी प्रभावलाई पनि नियन्त्रणमा राख्न चाहन्छ। चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत् ल्याटिन अमेरिकाको ठूला ठूला योजनामा ठूलो मात्रामा लगानी गरेको छ। यस अन्तर्गत दक्षिणी अमेरिकी क्षेत्रका २४ देश हस्ताक्षरकर्ता रहेको बेइजिङको दाबी छ। चीन यस क्षेत्रका अधिकांश देशहरूको सबैभन्दा ठूलो वा दोस्रो ठूलो व्यापारिक साझेदार पनि हो।
दोस्रो कार्यकालमा ट्रम्पले ब्राजिलका जाइर बोल्सोनारोदेखि अर्जेन्टिनाका जाभियर माइलेइजस्ता दक्षिण अमेरिकी महादेशभरिका अति–दक्षिणपन्थी नेताहरूलाई समर्थन गरेका छन्। होन्डुरसमा ट्रम्पद्वारा समर्थन प्राप्त दक्षिणपन्थी उम्मेदवार नास्री आसफुराले गत महिना राष्ट्रपति पद जितेका छन्।
यसरी दक्षिणपन्थीहरूको पुनरागमनसँगै अमेरिका र उसका सहयोगीहरूले दक्षिण अमेरिकाको ‘पिंक टाइड’ (वामपन्थी लहर) लाई पछाडि धकेलिरहेका छन्।
यद्यपि ल्याटिन अमेरिकाका अझै केही मुलुकहरुमा वामपन्थी सरकार छन्। तीमध्ये दुई मुलुक– क्युबा र भेनेजुएलाले खुला रूपमा अमेरिकी प्रभुत्वलाई चुनौती दिँदै चीन र रुससँग अझ बलियो रणनीतिक तथा आर्थिक सम्बन्ध खोजिरहेका छन्। यी दुई मुलुकमध्ये विशाल तेल भण्डारका कारण भेनेजुएला प्रमुख स्थानमा छ।
चीनले भेनेजुएलाको तेल खरिदको करिब ८० प्रतिशत हिस्सा ओगट्छ। चीन नेशनल पेट्रोलियम कर्पोरेसन (एनपीसी) भेनेजुएलाको तेल क्षेत्रमा लगानी र सञ्चालन गर्ने सबैभन्दा ठूलो विदेशी कम्पनी हो। अमेरिकी प्रतिबन्धका कारण चीनले भेनेजुएलामा लगानी घटाएपनि सन् २०२४ मा निजी चिनियाँ कम्पनी चाइना कन्कोर्ड रिसोर्सेस कर्पोरेसनले भेनेजुएलाको सरकारी तेल कम्पनीसँग लेक माराकाइबोका दुई तेल क्षेत्र विकास गर्न १ अर्ब डलरको सम्झौता गरेको थियो। सन् २०२५ को सुरुआतमा ट्रम्प प्रशासनले पनामालाई चीन नेतृत्वको ‘बीआरआई’ बाट पछि हट्न बाध्य बनायो।
यदि मदुरोको शासनलाई पनि जबरजस्ती रुपमा हटाइयो भने अमेरिकाले यस क्षेत्रका अन्य कमजोर शक्तिहरूलाई चीन र रुससँग आर्थिक तथा सुरक्षा सहकार्य नगर्न कडा सन्देश दिन सक्छ।
मुख्य कारण तेल
तेस्रो कारण तेल हुन सक्छ। भेनेजुएलासँग विश्वको ज्ञात तेल भण्डारको करिब १७ प्रतिशत, अर्थात् ३०० अर्ब ब्यारेलभन्दा बढी तेल छ, जुन अमेरिकाको भण्डारभन्दा करिब चार गुणा बढी हो। सन् १९७६ मा तेल क्षेत्र राष्ट्रियकरण हुनु अघि (जहाँ विदेशी कम्पनीहरूले उत्पादनको ७० प्रतिशत हिस्सा ओगटेका थिए) एक्सन, मोबिल र गल्फ आयलजस्ता अमेरिकी कम्पनीहरू भेनेजुएलाको तेल क्षेत्रमा सक्रिय थिए।
सन् १९९९ मा वामपन्थी नेता ह्युगो चाभेज सत्तामा आएपछि पुनः राष्ट्रियकरणमार्फत् राज्यको नियन्त्रणलाई कडा बनाए र तेलबाट आएको आम्दानी गरिबी उन्मूलनका महत्वाकांक्षी कार्यक्रमहरूमा प्रयोग गरे।
स्मरणीय छ, सन् २००२ मा चाभेजविरुद्ध ‘कू’ भयो, जसलाई अमेरिकाले समर्थन गरेको थियो। तर ‘कू’ विरुद्ध व्यापक जनआन्दोलन भएपछि ४८ घण्टामै चाभेज पुनः सत्तामा फर्कन सफल भए।
गत महिना ट्रम्पले भेनेजुएलाले ‘चोरिएका अमेरिकी तेल, जमिन र सम्पत्ति’ फिर्ता गर्न माग गरे, जुन भेनेजुएलाको तेल राष्ट्रियकरणप्रति लक्षित थियो। उनले अमेरिकी कम्पनीहरूका लागि भेनेजुएलाको तेल आवस्यक भएको स्पष्ट पारे।
यसले अमेरिकालाई फारसी खाडीको तेलमा निर्भरता घटाउन र चीनलाई भेनेजुएलाबाट बाहिर धकेल्न मद्दत गर्नेछ। ट्रम्पले यसअघि पनि यही कुरा भनेका थिए।
ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले आफ्ना संस्मरणमा लेखेका छन्, ‘सन् २०१९ मा ट्रम्प प्रशासनले हुआन ग्वाइदोलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति मान्यता दिएपछि राष्ट्रपति ट्रम्पले आफ्ना सहयोगीहरूलाई ग्वाइदोलाई अमेरिकालाई भेनेजुएलाको तेलमा पहुँच दिन भनेका थिए। मदुरोलाई सत्ताबाट हटाएपछि भेनेजुएलाबाट चीन र रुसलाई बाहिर निकाल्ने प्रतिबद्धता जनाउन दबाब दिन आदेश दिएका थिए।’
सत्ताबाहिर रहेका बेला सन् २०२३ मा दिएको एक भाषणमा ट्रम्पले भनेका थिए, ‘जब म सन् २०२१ मा पहिलो कार्यकालपछिे बाहिरिएँ, भेनेजुएला ढल्नै लागेको थियो। यदि म राष्ट्रपति रहेको भए हामीले त्यो नियन्त्रणमा लिने थियौँ, हामीले सारा तेल पाउने थियौँ।’