निर्वाचनका सुरक्षाका लागि एक महिनाअघि सेना मैदानमा, तेस्रो सुरक्षा घेराको जिम्मेवारी

आमनिर्वाचन आउन एक महिना मात्र बाँकी रहँदा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृतरूमपा बुधबार (२१ माघ) देखि परिचालित हुन लागेका छन्।

सुरक्षा प्रबन्धलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने योजनाअनुरूप आगामी फागुन २१ गते हुने निर्वाचनलाई दृष्टिगत गरी तीनवटै सुरक्षा निकायलाई एकिकृत रुपमा परिचालित गर्न लागिएको हो।

निर्वाचनको समयमा शान्ति सुरक्षालाई सुदृढ तुल्याउन सरकारले यसअघि नै ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ञ‘ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ।

एकीकृत सुरक्षा अनुसार निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका ‘निर्वाचन (म्यादी) प्रहरी’ पनि निर्वाचन सुरक्षामा खटिनेछन्।

नेपाल प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थलको भित्री घेरा (पहिलो) को सुरक्षा गर्नेछन् भने दोस्रो तहको सुरक्षा घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ। सो बलले नेपाली सेना र नेपाल प्रहरीसँग समन्वय गर्नेछ।

नेपाली सेनाले भने सुरक्षा घेराको बाहिरी तहमा रही सुरक्षाको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। निर्वाचन प्रयोजनका लागि नेपाली सेना १६५ वटै निर्वाचन क्षेत्रमा बुधबारदेखि परिचालित हुने नेपाली सेनाको जंगी अड्डाले जनाएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर ११ गते प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को निर्णयानुसार निर्वाचन सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेका थिए। निर्वाचन सुरक्षालाई केन्द्रित गरी सेनाको ‘वेस’ खडा गरी हुने र आवश्यकताका आधारमा संयुक्त गस्ती हुने कुरा सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले राससलाई बताएका छन्।

जंगी अड्डाका अनुसार नेपाली सेनाले निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ। सैनिक प्रवक्ता बस्नेतका भनाईमा, सेनाले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाट स्वीकृत भइसकेकाले सोहीअनुसार फौज परिचालन हुनेछ।

एकीकृत सुरक्षा योजनाले मार्ग निर्देशन गरेअनुरूप निर्वाचनको एक महिना अघिबाट फिल्डमा सेना परिचालन हुन लागेको हो।

निर्वाचनका सिलसिलामा सेनाले तीन चरणमा काम सुरक्षा प्रदान गर्नेछ। निर्वाचनपूर्व मतपत्र छपाइ, मतपत्र ढुवानी, मतदानस्थलको सुरक्षा, मतपेटिका ढुवानी र मतगणनास्थलको सुरक्षासम्मको जिम्मेवारी सेनाले सम्हाल्नेछ।

यसैगरी नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालसँगको समन्वय र सहकार्यमा विमानस्थल, कारागारलगायत महत्त्वपूर्ण संरचनाको सुरक्षा जिम्मेवारी नेपाली सेनाले लिनेछ।

मतदानका समयमा निर्वाचनस्थल र केन्द्रमा खटिने क्रममा नेपाली सेना तेस्रो घेरामा रही राजनीतिक दल, उम्मेदवार, मतदाता र निर्वाचनमा खटिएका कर्मचारीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउनेछ।

नेपाल प्रहरीका तर्फबाट निर्वाचनमा ७७ हजार जनशक्ति परिचालित हुनेछन्। नेपाल प्रहरीको विद्यमान जनशक्तिले मात्रै निर्वाचन व्यवस्थापनमा अपुग हुने भएकाले एक लाख ३३ हजार ‘निर्वाचन प्रहरी’ भर्ना गरिएको छ।

निर्वाचन क्षेत्रहरुलाई अतिसंवेदनशील, संवेदनशील र सामान्यरूपमा वर्गीकरण गरी सोही अनुसार सुरक्षा प्रबन्ध मिलाइएको छ।

दुई हजार आठ सय ४५ वटा मतदानस्थललाई सामान्य, चार हजार ४४२ मतदानस्थललाई संवेदशील र तीन हजार ६८० वटा मतदानस्थललाई अति संवेदनशील मतदानस्थलका रूपमा हेरिएको छ। सोहीअनुसार नियमितरूपमा प्रहरी परिचालन गरी त्यहाँको सुरक्षा व्यवस्था मजबुद बनाउने काम भइसकेको प्रहरीले जनाएको छ।

निर्वाचनमा सशस्त्र प्रहरीतर्फ ३४ हजार ५७६ जना र १५ हजार ११० ‘निर्वाचन प्रहरी’ गरी कूल ४९ हजार ६८६ जना परिचालित हुनेछन्। सशस्त्र प्रहरीका अनुसार निर्वाचनको समयमा कुनैपनि अप्रिय घटना हुन नदिन उच्चसतर्कता अपनाइएको र जुनसुकै अवस्थामा पनि सशस्त्र प्रहरी १० मिनेटभित्र घटनास्थलमा पुग्नेगरी परिचालित गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।

आगामी निर्वाचनका लागि तीन हजार ४०६ उम्मेदवार चुनावी मैदान छन्। निर्वाचन आयोगले ४ माघदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ।

निर्वाचनमा ९२ लाख ४० हजार १३१ महिला, ९६ लाख ६३ हजार ३५८ पुरुष र २०० अन्य गरी कूल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन्। निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ।