अमेरिका-इजरायललाई आच्छु-आच्छु पारिरहेको इरानी ‘एसिमेट्रिक’ युद्ध रणनीति

इरानका विदेशमन्त्री अब्बास अघारचीले ले १ मार्च १ मा सामाजिक सञ्जाल एक्स (X) मा लेखेका थिए, ‘हामीले विगत दुई दशकमा अमेरिकाको सैन्य पराजयहरूलाई हाम्रो पूर्व र पश्चिम दुवै दिशामा नजिकबाट अध्ययन गर्ने अवसर पायौँ। त्यसबाट सिकेका पाठहरू हामीले आफ्नो रणनीतिमा समावेश गरेका छौँ।’

यो टिप्पणी त्यसै दिन आएको थियो, जब अमेरिका र इजरायलले तेहरानमा गरेको आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेइसहित अन्य वरिष्ठ अधिकारीहरू मारिएका थिए।

अराघचीले लेखेका थिए, ‘हाम्रो राजधानीमा बमबारी भए पनि यसले हाम्रो युद्ध सञ्चालन गर्ने क्षमतामा कुनै असर पार्दैन।’

हुनपनि संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका–इजरायलको इरानविरुद्धको युद्धमा बारम्बार विजय घोषणा गरेपनि इरानले इजरायल र मध्यपूर्वस्थित अमेरिकी सैन्य सम्पत्तिमाथि प्रतिशोधात्मक आक्रमण जारी राखेको छ।

इरानी आक्रमणले विश्वव्यापी वित्तीय र ऊर्जा बजारलाई निकै अस्थिर बनाइरहेका छन्।

विश्लेषकहरूका अनुसार अमेरिका र इजरायलविरुद्धको आक्रमणमा इरानले असममित युद्धनीति (Asymmetric Warfare) को प्रयोग गरिरहेको छ।

‘एसिमेट्रिक’ युद्ध रणनीति
जब कुनै युद्धका दुई पक्षबीच सैन्य क्षमता असमान हुन्छ, त्यो बेला कमजोर पक्षले अपरम्परागत तरिका अपनाउँछ।

बेलायती सुरक्षा तथा जोखिम सल्लाहकार र पूर्व सैन्य प्रशिक्षक जोन फिलिप्सका अनुसार यसलाई ‘असममित युद्ध’ भनिन्छ।

यस्तो युद्धमा गुरिल्ला युद्धनीति, आतंकवादी आक्रमण, साइबर आक्रमण, प्रोक्सी (प्रतिनिधि) समूहहरूको प्रयोग र अन्य अप्रत्यक्ष रणनीतिहरू अपनाइन्छन्।

फिलिप्सका अनुसार, यसको उद्देश्य ‘परम्परागत सैन्य कमजोरीलाई सन्तुलनमा ल्याउनु, शत्रुको सबल पक्षबाट आफूलाई टाढा राख्नु र उसको राजनीतिक इच्छाशक्ति, रसद व्यवस्था तथा कानुनी-नैतिक सीमाहरूमा कमजोरी खोजी गर्नु’ हो।

‘इरान परम्परागत सैन्य शक्तिमा अमेरिका र इजरायलभन्दा कमजोर छ’ उनी भन्छन्, ‘तर आफ्ना धेरै छिमेकी देशहरूको तुलनामा भने ऊ निकै बलियो छ।’

उनका अनुसार, इरानको विशेषता हो- यी रणनीतिहरू केवल सहायक उपाय होइनन्, बरु यी रणनीति इरानको मुख्य राष्ट्रिय सैन्य रणनीतिको मुख्य अंग हुन्।

यसकारण फरक युद्धनीति
जारी अमेरिका-इजरायल र इरानबीचको युद्धमा वाशिङ्टन र तेलअभिवले ‘प्याट्रिओड’ र ‘थाड’ जस्ता महँगा मिसाइल र ड्रोन प्रयोग गरिरहेका छन्।

यी प्रणालीहरूले शत्रुका मिसाइल र ड्रोन खसाल्न प्रयोग हुने ‘अवरोधक मिसाइल’ प्रहार गर्छन्।

अवरोधक मिसाइलको मूल्य करोडौँ डलर पर्छ।

तर इरानको ‘शाहीद ड्रोन’ भने करिब २० हजार डलरदेखि ३५ हजार डलरमा तयार हुनसक्छ।

यही कारण अमेरिकाले इरानसँगको युद्धमा प्रतिदिन लगभग २ अर्ब डलर खर्च गरिरहेको रिपोर्टहरू आएका छन्। यदि युद्ध थप केही हप्ता लम्बियो भने अमेरिकाका ‘अवरोधक मिसाइल’ हरू समाप्त हुने चिन्ता व्यक्त हुन थालेको छ।

यसैले यतिबेला इरानको दुई मुख्य लक्ष्य देखिन्छन्।

एक, शत्रु (अमेरिका-इजरायल) लाई लामो समयसम्म रोकिराख्नु।

दुई, आफ्ना हतियार भण्डार सुरक्षित राख्नु।

तर फिलिप्स के पनि भन्छन् भने, अमेरिका र इजरायलका सटीक आक्रमणहरूले इरान आफ्नो मिसाइल, ड्रोन र आणविक सम्बन्धित संरचना पूर्ण रूपमा जोगाउन सक्षम छैन भन्ने देखाएको छ।

यसका अलावा प्रतिबन्ध र घरेलु दबाबका कारण इरानलाई अत्यन्त तीव्र युद्ध लामो समयसम्म चलाउन कठिन हुन सक्छ।

त्यसैले इरानको ‘असममित रणनीति’ पूर्ण विजय हासिल गर्नेभन्दा पनि ‘आफू जीवित रहने’ र ‘दबाब सिर्जना गर्ने’ माध्यम भएको उनी बताउँछन्।

यो रणनीति मुख्य रूपमा सन् १९७९ को इश्लामिक क्रान्तियता विकसित भएको हो। त्यही क्रान्ति,, जसले तत्कालिन शासक शाह रेजा पहल्वीको शासन अन्त्य गरेको थियो।

युद्धमा उच्चस्तरीय लडाकु विमान वा विशाल नौसैनिक बेडासँग प्रतिस्पर्धा गर्ने प्रयास गर्नुको साटो इरानले यस्तो रणनीति बनाएको छ, जसलाई ‘फरवार्ड डिटरन्स’ भनिन्छ।

यस अन्तर्गत ‘ठूलो संख्यामा ब्यालिस्टिक र क्रुज मिसाइल, ठूलो मात्रामा उत्पादन हुने ड्रोन, साइबर अपरेसन र भूमिगत र सुरक्षित सैन्य संरचनाहरूको प्रयोग’ समावेश छन्।

इरानले प्रयोग गरिरहेका असममित युद्धका प्रमुख तरिकामा ‘शत्रुको रक्षा प्रणाली कमजोर बनाउने रणनीति’ मुख्य रहेको छ।

अमेरिका–इजरायलले फेब्रुअरी २८ देखि सुरु गरेको आक्रमणपछि इरानले इजरायल र खाडी क्षेत्रस्थित अमेरिकी सैन्य अड्डाहरूमा ब्यालिस्टिक मिसाइल र ड्रोनको ठूलो लहर पठाइरहेको छ।

अमेरिकी र इजरायली अवरोधक मिसाइलहरूको भण्डार घटाउनु, आर्थिक युद्ध गर्नु यसको उद्देश्य हो। आर्थिक युद्धको रणनीति अन्तर्गत इरानले ‘हर्मुज जलमार्ग’ समेत बन्द गरिदिएको छ।

यो जलमार्गबाट विश्वको करिब २० प्रतिशत तेल र ग्यास आपूर्ति हुने गरेको छ।

यसरी युद्धका कारण खाडी क्षेत्रमा अस्थिरता सुरु भएपछि विश्व वजारमा कच्चा तेलको मूल्य १०० डलर प्रति ब्यारेलभन्दा माथि पुगेको छ, जसले विश्वव्यापी रुप्मा ऊर्जा संकटको चिन्ता बृद्धि गरेको छ।

इरानले विमानस्थल, पानी प्रशोधन प्लान्ट र तेल भण्डारण केन्द्रहरूमा पनि लगातार ड्रोन आक्रमण गरिरहेको छ।

यसबाहेक इरानको ‘इश्लामिक रेभुलुसनरी गार्ड्स् कप्र्स’ ले बुधबार (११ मार्च) मा अमेरिकी वा इजरायली सम्बन्ध भएका ‘आर्थिक केन्द्र’ र ‘बैंक’ हरूमाथि आक्रमणको चेतावनी दिएको छ।

लगत्तै कतारस्थित सीटी बैंक र एचएसबीसी जस्ता बैंक अस्थायी रुपमा बन्द भएका छन्, यसले थप आर्थिक अस्थिरता उत्पन्न हुने जोखिम बढेको छ।

त्यसबाहेक इरानले गुगल, माइक्रोसफ्ट,आइबीएम, नाभादा, ओरेकल जस्ता प्रविधि कम्पनीहरूका संरचनाहरूलाई पनि सम्भावित लक्ष्य किटान गर्दै आक्रमणको लक्ष्य बनाएको छ।

इरानले अमेरिका–इजरायलविरुद्ध प्रोक्सी (प्रतिनिधि) समूहहरूको प्रयोगसमेत यसक्रममा गरेको छ।
तिनीहरुमा लेबननको हिज्बुल्लाह, गाजा प्यालेष्टाइन क्षेत्रको हमास र प्यालेष्टाइन इश्लामिक जिहाद, येमनको हुथी, इराक र सिरियाका सिया समूहहरुलाई प्रयोग गरेको छ।

यी समूहहरूले इजरायल, अमेरिकी सैन्य अड्डा र समुद्री मार्गहरूमा आक्रमण गर्न सक्छन्, जसले इरानलाई कम लागतमा धेरै मोर्चामा दबाब सिर्जना गर्न मद्दत गर्नेछ।

अप्ठेरोमा अमेरिका-इजरायल
इरानको यस्तो युद्ध रणनीतिका कारण अमेरिकालाई यसपटकको युद्ध निकै महँगो पर्न थालेको छ।

जस्तो कि, युद्ध सुरु भएपछिको सुरुवाती एक सय घण्टामा लगभग ३.७ अर्ब डलर खर्च भएको थियो भने त्यसपछिको ६ दिनमा कम्तीमा ११.३ अर्ब डलर खर्च हुन पुग्यो।

त्यहीकारण अमेरिकी रक्षा मन्त्रालयले प्रयोग भइसकेका मिसाइलहरूको परिपुरणको लागि ५० अर्ब डलरको अतिरिक्त बजेट माग गरेको छ।

विश्लेषकहरूको भनाइमा, इरानले अमेरिका–इरानविरुद्धको युद्धमा अपनाएको रणनीतिले केहब्ी हदसम्म सफलता प्राप्त गरेको छ।

जस्तो कि, इरानको लक्ष्य भनेको युद्धलाई लम्ब्याउने, शत्रु पक्षका लागि आर्थिक संकट सिर्जना गर्ने, शत्रुको राजनीतिक सहनशीलता कमजोर बनाउने हो।

इरानको उद्देश्य बमोजिम युद्धको विषयलाई लिएर अमेरिकामा राजनीतिक विवाद सुरु भएको छ। अमेरिकी कांग्रेसमा विपक्षी नेता हकिम जेफ्रीले राष्ट्रपति डोनल्ड ट्रम्पलाई ‘मध्यपूर्वमा अर्को अन्त्यहीन युद्ध सुरु गरेको’ आरोप लगाएका छन्।

इजरायली विपक्षी नेता एयर लापिडले लेपनि सरकारको युद्ध व्यवस्थापनको आलोचना गरेका छन्।

विश्लेषकहरूका भनाईमा, इरानको ‘असममित रणनीति’ ले अमेरिका-इजरायलका लागि युद्धलाई महँगो बनाइदिएको छ। यसबाट अमेरिका र इजरायल धेरै आर्थिक स्रोत खर्च गर्न बाध्य भएका छन्।

यो युद्धले विश्व अर्थतन्त्रमा जोखिमसमेत सिर्जना गरेको छ।

यद्यपी, यो रणनीतिका सीमा पनि छन्। जस्तो कि, इरानका केही प्रोक्सी समूहहरू कमजोर बनेका छन्, उनीहरुञको
सन्जाल खण्डित हुँदै गएको छ र अनियन्त्रित युद्ध विस्तारको जोखिम बढिरहेको छ

त्यसैले इरानी रणनीति ‘पूर्ण सैन्य विजय’ को मार्गभन्दा पनि दीर्घकालीन दबाबको रणनीतिका रूपमा बढी प्रभावकारी देखिएको छ।