‘ड्रोन बटालियन’ बनाउने भारतीय सेनाको तयारी

भविष्यका युद्धहरूको तयारीका लागि रणनीतिक रूपमा भारतीय स्थल सेनाले हालसालै आफ्ना विभिन्न अंगहरूको लागि विशेष ‘ड्रोन बटालियन’ गठन गर्ने निर्णय गर्यो। यस वर्षको मे महिनामा भएको पाकिस्तानसँग भएको सैन्य संघर्षपछि भारतीय सेनाले यो निर्णय गरेको हो।

यस योजनाअन्तर्गत स्थल सेनाको आर्टिलरी, इन्फ्यान्ट्री र आर्मर्ड डिभिजनमा एक–एक ड्रोन युनिट स्थापना गरिने र यी नयाँ इकाइहरूको उद्देश्य केवल ड्रोन सञ्चालनमा केन्द्रित हुनेछ।

अधिकारीहरूका अनुसार, यस उद्देश्यका लागि सेनाका अधिकारीहरूलाई विभिन्न प्रकारका ड्रोन सञ्चालनसम्बन्धी उच्चस्तरीय तालिम दिइनेछ।

गत २६ जुलाईमा ‘कारगिल विजय दिवस’ को अवसरमा भारतीय थल सेनाका प्रमुख जनरल उपेन्द्र द्विवेदीले सेनामा ३० लाइट कमान्डो बटालियन र ड्रोनसहित सबै प्रकारका आधुनिक हतियार र उपकरणले सुसज्जित ‘रुद्र ब्रिगेड’ गठन गर्ने घोषणा गरेका थिए।

ड्रोन बटालियन
ड्रोन बटालियन गठन गर्ने रणनीति भारतीय सेनाको आधुनिकीकरण र यसको तीनै अंगहरूबीचको समन्वयको व्यापक योजनाको हिस्सा हो।

रक्षा विश्लेषक राहुल बेदीका अनुसार ड्रोन बटालियनको अवधारणा पहिले नै छलफलमा थियो।

‘अभियान ‘सिन्दूर’पछि ड्रोनलाई सेनामा युद्ध इकाइको रूपमा समावेश गर्नु एक व्यापक रणनीतिभित्र पर्छ’ बेदी भन्छन्, ‘पछिल्ला १० वर्षमा विश्वमा भएका सबै युद्धहरू, चाहे हाल जारी युक्रेन–रूस युद्ध होस्, अझरबैजानको युद्ध होस् वा इस्रायल, लेबनान र इरानबीचको लडाइँ–यी सबैमा ड्रोनको ठूलो मात्रामा र अत्यन्त प्रभावकारी रूपमा प्रयोग भएको छ।’

‘ड्रोनको अर्को विशेषता यो हो कि सामान्यतया यी सस्ता हुन्छन् र अर्बौं रुपैयाँका आधुनिक ट्याङ्कहरू नष्ट गर्न पनि प्रयोग भइरहेका छन्, उनी भन्छन्, ‘त्यसैले यसलाई सस्तो र प्रभावकारी हतियारको रूपमा हेरिन्छ।’

बेदीका अनुसार भारतीय सेना अब ड्रोनका लागि विशेष ब्रिगेड बनाउँदैछ, जसमा २५ देखि १०० सैनिक र प्राविधिक विशेषज्ञहरूलाई केवल ड्रोन सञ्चालनको जिम्मेवारी दिइनेछ।

‘ड्रोन दुई प्रकारका हुनेछन् – आक्रमण ड्रोन र निगरानी ड्रोन। निगरानी ड्रोनले लक्ष्य कहाँ छ भन्ने जानकारी संकलन गर्नेछ र आक्रमण ड्रोनलाई सिग्नल दिनेछ।’ उनी थप्छन्, ‘आक्रमण ड्रोन एक्लै वा २०–२५ ड्रोनको समूहसहित लक्ष्यमा आक्रमण गर्न सक्नेछ।’

ड्रोन तीन वर्गका हुन्छन् – छोटो दूरीका ड्रोन (२०–५० किलोमिटरसम्म), मध्यम र उच्च दूरीका ड्रोन, र अत्याधुनिक आक्रमण ड्रोन, जस्तै : एमक्यू–एनबी।

भारतले ३.५ अर्ब अमेरिकी डलरको लागतमा ३१ यस्ता ड्रोन अमेरिका बाट खरिद गरेको छ। भारतले १९९० को दशकको अन्त्यदेखि ड्रोन खरिद गर्न थालेको हो।

भारतले इजरायलबाट हार्पी, ह्यारोप र ह्यारोन वर्गका ड्रोन खरिद गरेको छ, जसको प्रयोग अभियान ‘सिन्दूर’मा व्यापक रूपमा भएको थियो। साथै, भारतले आफ्नै घरेलु ड्रोन पनि निर्माण गरिरहेको छ।

ड्रोनको प्रयोग अहिले लद्दाख र अरुणाचल प्रदेश जस्ता उच्च पहाडी क्षेत्रमा सैनिकसम्म युद्ध सामग्री र रसद पुर्‍याउन पनि भइरहेको छ।

ड्रोन प्रविधिमा सबैभन्दा बढी प्रगति गरेका तीन देशहरू (पहिलो इस्रायल, त्यसपछि अमेरिका, र अहिले चीन) तीव्र गतिमा अगाडि बढिरहेका छन्।

मान्छेको साटो ड्रोनले लड्नेछ युद्ध
भारत र पाकिस्तानबीच मे महिनामा भएको संघर्षमा पाकिस्तानले चीन र टर्कीका ड्रोन प्रयोग गरेको थियो। उच्च प्रविधिको ड्रोन युद्धको प्रयोग दिन प्रतिदिन बढ्दो छ।

रक्षा विश्लेषक राहुल बेदीका अनुसार पहिले पैदल सेनाको भिडन्त, गोलीबार हुने लडाइँलाई ‘कन्ट्याक्ट वारफेयर’ भनिन्थ्यो।

उनी भन्छन्, ‘अब त्यो सबै अन्त्य हुँदै गएको छ। अब यो काम मेसिनहरूलाई दिइएको छ। अहिले त कम्प्युटरबाट नियन्त्रण हुने बिना पाइलटका लडाकु विमानहरू पनि बन्न थालेका छन्।’

पाइलटबाट लक्ष्यमा चुक्ने बढी सम्भावना हुने तर तर यी मेसिनहरूबाट गल्तीको सम्भावना नगण्य हुने उनी बताउँछन्।

उनका अनुसार भविष्यका युद्धहरूमा मानिसको आवश्यकता घट्दै जानेछ र मेसिनहरूको आवश्यकता बढ्दै जानेछ।

उनी थप्छन्, ‘जुन देशले आधुनिक प्रविधि अपनाउँछ र जसको यसमा नियन्त्रण हुन्छ, उसको नै जीत हुनेछ।’

तत्काल लाभ कम
रक्षा विश्लेषक तथा सैन्य मामिलाका पत्रिका ‘फोर्स’का सम्पादक प्रवीण साहनीका अनुसार भारतले सेना भित्र बनाउन लागेको ड्रोन बटालियनबाट तत्काल ठूलो फाइदा हुने छैन।

उनका अनुसार जबसम्म भारतसँग जमिनमा २४ घण्टा निगरानी गर्न सक्ने प्रभावकारी उपग्रह प्रणाली हुँदैन, तबसम्म यी ड्रोन प्रभावकारी ढंगले काम गर्न सक्दैनन्।

सहनी भन्छन्, अभियान ‘सिन्दूर’का बेला चीनको उपग्रह सञ्जालमार्फत् पाकिस्तानलाई २४ घण्टाको निगरानी प्राप्त भएको थियो। यसको मतलब भारतीय सेनाको गतिविधि उनीहरूले निरन्तर देखिरहेका थिए। उनीहरूलाई कुन कुरा कहाँ छ भन्ने जानकारी थियो।’

उनका अनुसार ड्रोनको महत्व तब हुन्छ जब युद्ध मैदानको पर्याप्त जानकारी हुन्छ। अहिले दुबै देश प्रायः मिसाइल प्रयोग गरिरहेका छन्, जसको पहुँच सबै ठाउँमा हुन्छ।

‘जबसम्म तपाईंको नियन्त्रणमा ‘राउन्ड द क्लक’ दृश्य (२४ घण्टा निगरानी) हुँदैन, तबसम्म यस्ता युनिटहरूको विशेष महत्व हुँदैन।’ साहनी थप्छन्, ‘म यो भन्न चाहन्न कि यसको आवश्यकता छैन, तर वर्तमान अवस्थामा यसलाई प्राथमिकतामा राख्नु पर्ने आवश्यकता छैन।’

उनका अनुसार भारतीय सेनाको पहिलो आवश्यकता उपग्रहमार्फत युद्ध मैदानको स्पष्ट तस्वीरको २४ घण्टा निगरानी हो, जुन अहिले पाकिस्तानलाई चीनको माध्यमबाट प्राप्त छ।

त्यसपछि आवस्यक पर्ने अर्को कुरा ‘इलेक्ट्रोनिक वारफेयर’ क्षमता पनि हो, जुन अहिले पाकिस्तानसँग छ। भारतीय सेनाले भने सीमापारको गतिविधि निगरानी गर्न युएवी प्रयोग गरिरहेको छ।

साहनीका अनुसार अहिले भारतका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको सेनाको तीनै अंगहरूबीच पूर्ण समन्वय हो। अहिले भइरहेको आधुनिकीकरणमा भने समन्वय देखिदैन।