चीनको पूर्वी जियाङ्सु प्रान्तको नान्जिङ सहरस्थित सुआनवु जिल्लाको बेइयुआनअर्चुन आवासीय समुदायमा रहेको एउटा चोकमा गर्मी यामको कुनै सप्ताहन्तमा आयोजना गरिएको थियो, सांस्कृतिक कार्यक्रम। कार्यक्रममा सहभागीहरुको हाँसो र खुसीका आवाजले वातावरण निकै रमाइलो बनेको थियो।
तर दुई वर्षअघिको कुरा गर्ने हो भने यो स्थानको अवस्था निकै फरक थियो। वर्षायाममा यहाँका घरका भित्ताहरूमा ढुसी लाग्दथ्यो। पानी चुहावटका कारण घरहरू सधैँ ओसिला रहन्थे।
सवारी साधनहरूको पार्किङपनि असाध्यै अव्यवस्थित थियो। इलेक्ट्रिक साइकल चार्ज गर्ने सुविधापनि थिएन।
समुदायका लागि एक मात्र सार्वजनिक स्थान भन्नु नै खाली जमिनको एउटा सानो टुक्रा मात्र थियो।
जुलाई २०२५ मा स्थानीय सरकारले उक्त पुरानो आवासीय समुदायको सुधार तथा पुनर्नवीकरण परियोजना सुरु गर्यो। स्थानीय बासिन्दाहरूका समस्या र आवश्यकताहरू बुझ्न बैठक, सर्वेक्षण तथा अन्य माध्यम प्रयोग गरियो।
यसरी त्यहाँको वास्तविक अवस्था पहिचान गरेर समुदाय लक्षित वास्तविक सुधारका कामहरु अघि बढाइए।
यस परियोजनापछि समुदायको स्वरूपमा ठूलो परिवर्तन आएको छ।
पानी चुहावट र ओसिलोपनको समस्या समाधान गर्न भवनका बाहिरी भित्ताहरूमा जलरोधक प्रविधि प्रयोग गरिएका छन्। पहिले प्रयोगविहीन अवस्थामा रहेका स्थानहरूलाई २० वटा पार्किङ क्षेत्र तथा चार्जिङ सुविधासहित दुईवटा विद्युतीय साइकल आश्रयस्थलमा परिवर्तन गरिएको छ।
यसबाहेक एउटा सामुदायिक सेवा केन्द्रसमेत निर्माण गरिएको छ। उक्त केन्द्रबाट स्मार्ट भुक्तानी सेवा, घर मर्मतसम्बन्धी सेवा, घरेलु सहयोग तथा सामुदायिक भोजनालयजस्ता सुविधाहरू उपलब्ध हुने गरेको छ।
ऐतिहासिक सम्पदा संरक्षणसँगै सार्वजनिक सेवाको विस्तार
सांघाईको जिङ्आन जिल्लास्थित हुदिएवान नामक सार्वजनिक क्षेत्रको सुजोउ नदी किनारमा तीन ऐतिहासिक भवन छन्। यी भवन फैलिएका पखेटासहितका पुतलीजस्तो आकारमा देखिन्छन्।
पुनर्नवीकरणपछि यी भवनहरूले आफ्नो पुरानो ऐतिहासिक पहिचान कायम राखेका मात्र छैनन्, नयाँ–नयाँ सार्वजनिक सुविधामा बृद्धिपनि गरेका छन्।
स्थानीय बासिन्दाका लागि सस्तो मूल्यमा खाना उपलब्ध गराउने भोजनालय स्थापना गरिएको छ। डेलिभरि सेवा दिने कर्मचारीहरूका लागि आराम गर्ने स्थान बनाइएको छ।
डेलिभरि सेवामा संलग्न महिला चालकहरूलाई आवश्यक सरसफाइ सामग्री उपलब्ध गराउने सहायता केन्द्र पनि सञ्चालनमा ल्याइएको छ।
रातो इँटाद्वारा निर्मित यी भवनहरुले पुनर्नवीकरणका क्रममा पुरानो स्वरूप जोगाउँदै आधुनिक आवश्यकताअनुसार नयाँ सेवा र सुविधा प्रदान गरिरहेका छन्।
यो क्षेत्र अहिले केवल सामुदायिक सेवा केन्द्र मात्र नभई युवाहरूका लागि लोकप्रिय आकर्षणको केन्द्र समेत बनेको छ।
शहरको पुनर्नवीकरण : सहर विकासको नयाँ मार्ग
चीनभर अहिले शहरी संरचना सुधार गर्ने, नयाँ आर्थिक तथा सामाजिक विकासका आधार तयार गर्ने, मानिसहरूको जीवनस्तर सुधार गर्ने, हरित रूपान्तरण अघि बढाउने, सांस्कृतिक सम्पदा संरक्षण गर्ने र शहरी व्यवस्थापन क्षमता वृद्धि गर्ने महत्त्वपूर्ण माध्यम बनेको छ शहरी पुनर्नवीकरण।
आफ्नो १५औँ पञ्चवर्षीय योजना अवधि (२०२६–२०३०) का लागि चीनले मे २०२६ मा शहरी पुनर्नवीकरण योजना सार्वजनिक गरेको थियो।
यो योजनाले शहरी विकासका प्रमुख प्राथमिकताहरूलाई स्पष्ट कार्ययोजनामा रूपान्तरण गरेको छ।
उच्च गुणस्तरीय शहरी जीवन क्षेत्र निर्माण
चीनको दक्षिण–पश्चिम सिचुआन प्रान्तको छेन्दु सहरस्थित वेन्जियाङ जिल्लामा एउटा अमूर्त सांस्कृतिक सम्पदा सडक सर्वसाधारणका लागि हालै खुला गरिएको छ।
यहाँ आउने आगन्तुकहरूलाई फूलका मालाले स्वागत गरिन्छ। त्यहाँ उनीहरूले परम्परागत चिया संस्कारको अनुभव लिन सक्छन् र सिचुआन ओपेराको प्रस्तुति हेर्न सक्छन्।
र, यहाँ देख्न सकिन्छ, ऐतिहासिक आकर्षण र आधुनिक दैनिक जीवनको चहलपहलबीच सुन्दर संयोजन।
केही वर्षअघि भने यो क्षेत्रको अवस्था फरक थियो। यहाँका धेरै पुराना भवन खाली थिए। तिनको मर्मत समुचित तरिकाले गरिएको थिएन।
अवैध रूपमा थपिएका संरचनाहरू पनि प्रसस्तै थिए, जसले गर्दा क्षेत्रको व्यवस्थित विकासमा समस्या सिर्जना भएको थियो।
तर शहरी पुनर्नवीकरणले यस क्षेत्रलाई पुनः जीवन्त बनाउन सहयोग गरेको छ।
‘पुनर्निर्माणका लागि ठूलो मात्रामा भवन भत्काउनु साटो हामीले क्षेत्रको संरचना सुधार गरेका छौँ’ वेन्जियाङ जिल्लाको शहरी जैविक पुनर्नवीकरण केन्द्रकी निर्देशक झाङ नाना भन्छिन्, ‘व्यापारिक गतिविधिहरूमा विविधता थपेका छौँ र ऐतिहासिक सम्पदा संरक्षण गर्दै नयाँ आगन्तुक अनुभव सिर्जना गरेका छौँ।’
१५औँ पञ्चवर्षीय योजना अवधिमा चीनले १ लाख १५ हजार शहरका पुराना आवासीय समुदायको सुधार गर्ने, ५ हजार समुदायमा पूर्ण सुधार परियोजना लागू गर्ने र ३ सय वटा ऐतिहासिक तथा सांस्कृतिक क्षेत्रको पुनर्निर्माण तथा स्तरोन्नति गर्ने योजना बनाएको छ।

मानिसहरूका लागि अझ उच्च गुणस्तरीय र सुविधायुक्त शहरी जीवन क्षेत्र निर्माण गर्नु यसको उद्देश्य हो।
अघि बढाइँदै हरित तथा न्यून–कार्बन शहरी रूपान्तरण
चीनको दक्षिणी ग्वाङदोङ प्रान्तस्थित ग्वाङझाउ सहरको बाईयुन जिल्लामा यस वर्ष ४० किलोमिटर लामो वन पदमार्ग सर्वसाधारणका लागि खुला गरिएको छ।
केही समयअघिसम्म यो क्षेत्र अत्याधिक झाडीले ढाकिएको थियो। सडकहरु सफापनि थिएनन्, बाटो प्रष्टसँग देखिदैनथ्यो। स्थानीय संरचनाहरू निकै पुराना तथा कमजोर अवस्थामा थिए।
तर अहिले यो क्षेत्र सुरक्षित, व्यवस्थित, एकअर्कासँग जोडिएको छ र जीवन्त हरित मार्गमा परिवर्तन भएको छ।
६५ वर्षीय सेवानिवृत्त शिक्षक ली झेङ प्रायः आफ्ना नातिसँग यहाँ हिँड्न र व्यायाम गर्न यहाँ आउने गर्छन्। लीका भनाईमा, यो हरित मार्ग निर्माण भएपछि अहिले उनको घरको ढोका एक ‘प्राकृतिक अक्सिजन केन्द्र’ जस्तै भएको छ।
यो हरित पदमार्गले केवल शहरी परिस्थितिकीय प्रणाली लाई मात्र पुनर्स्थापना गरेको छैन, बरु स्थानीय बासिन्दाहरूलाई सहज पहुँचयुक्त उच्च गुणस्तरीय प्राकृतिक वातावरण समेत उपलब्ध गराएको छ।
१५औँ पञ्चवर्षीय योजना अवधिमा चीनले शहरी वातावरण सुधारका लागि तीन योजना अघि सारेको छ। तिनमा २० हजार हेक्टर शहरी पार्क तथा हरित क्षेत्रको स्तरोन्नति गर्ने, १५ हजार वटा साना हरित पार्क निर्माण गर्ने र २० हजार किलोमिटर शहरी हरित मार्ग निर्माण वा सुधार गर्ने छन्।
यी योजनाहरूको उद्देश्य शहरी पारिस्थितिकीय प्रणाली पुनर्स्थापना गर्नु, वातावरणमैत्री विकासलाई प्रवर्द्धन गर्नु र हरित तथा न्यून–कार्बन सहर निर्माण गर्नु हो।
पुराना औद्योगिक क्षेत्रको नयाँ उपयोग
सांघाईको पुडोङ नयाँ क्षेत्रमा रहेका पुराना कारखाना भवनहरूलाई पनि पुनः प्रयोगमा ल्याएर नयाँ व्यावसायिक तथा सार्वजनिक क्षेत्रका रूपमा विकास गरिएको छ।
पहिले उत्पादनका लागि प्रयोग हुने यी पुराना भवनहरू अहिले किनमेल, मनोरञ्जन र सामाजिक गतिविधिका केन्द्र बनेका छन्।
यस प्रकारको रूपान्तरणले पुराना संरचनाहरुको उपयोग बढाउने र शहरी क्षेत्रलाई थप जीवन्त बनाउने काम गरेको छ। यसले कुनै शहरलाई नयाँ बनाउन पुराना संरचना भत्काउनै पर्छ भन्ने छैन भन्ने उदाहरण प्रस्तुत गरेको छ।
शहरी सुरक्षा र लचिलोपनमा बृद्धि
उपल्लो भागबाट हेर्दा दक्षिण–पश्चिम चीनको छोङछिङ नगरपालिकाको जिउलोङपो जिल्लास्थित हुआकाई सडकका सबै कुरा सामान्य देखिन्छन्।
तर जमिनको सतहमुनि भने सहरका भूमिगत जीवनरेखाहरूमा महत्वपूर्ण सुधार कार्य भइरहेका छन्।
कामदारहरूले पुराना पाइपलाइन सुधार गर्न नयाँ प्रविधि प्रयोग गरिरहेका छन्।म्यानहोलमार्फत् विशेष रेजिन सामग्रीले बेरिएको लचिलो लाइनरलाई पुरानो पाइपभित्र राख्छन्।
त्यसपछि लाइनरभित्र उच्च तापक्रमयुक्त बाफ पठाइन्छ। बाफका कारण लाइनर फैलिन्छ, पुरानो पाइपको भित्तासँग बलियो रूपमा टाँसिन्छ र केही समयपछि कडा भएर नयाँ पाइपमा बलियो सुरक्षा तह निर्माण गर्छ।
यस्तो प्रविधिका कारण यो कामका लागि सडकलाई ठूलो आकारमा खन्नुपर्ने आवश्यकता पर्दैन।
दशकौँसम्म सञ्चालनमा रहेका सहरको केन्द्रीय क्षेत्रका केही ढल पाइपहरूमा विभिन्न समस्या थिए।
ती समस्याहरुमा पाइपको क्षयीकरण, पानी चुहावट र गलत जडान लगायत थिए। भूमिगत पुनर्नवीकरण परियोजनाले यस्ता समस्याको मूल कारण समाधान गर्ने लक्ष्य राखेको छ।
यसबाट शहरी बाढीको जोखिम घटाउने र ढल प्रणालीबाट फोहोर पानी बाहिर निस्कने समस्या नियन्त्रण गर्ने अपेक्षा गरिएको छ।
सुरक्षित र भरपर्दो सहर निर्माणको योजना
१५औँ पञ्चवर्षीय योजना अवधिमा चीनले सुरक्षित, भरपर्दो र जोखिमको सामना गर्न सक्ने शहरी पूर्वाधार निर्माण गर्न विशाल स्तरको भूमिगत पाइपलाइन सुधार योजना अघि सारेको छ।

यस योजना अन्तर्गत ७ लाख ७० हजार किलोमिटर शहरी भूमिगत पाइपलाइन सुधार गर्ने, करिब २ लाख किलोमिटर ग्यास पाइपलाइन सुधार गर्ने, १ लाख ७५ हजार किलोमिटर ढल निकास पाइपलाइन सुधार गर्ने, १ लाख ७५ हजार किलोमिटर खानेपानी आपूर्ति पाइपलाइन सुधार गर्ने, १ लाख किलोमिटर ढल पाइपलाइन सुधार गर्ने र १ लाख २० हजार किलोमिटर ताप आपूर्ति पाइपलाइन सुधार गर्ने लक्ष्य राखिएको छ।
भविष्यका लागि अझ सुरक्षित, विश्वसनीय र दिगो सहर निर्माण गर्नु यो योजनाको उद्देश्य हो।
मानिस केन्द्रित सहर निर्माणतर्फको यात्रा
पुराना आवासीय समुदायहरू मिहिनस्तरमा सुधार, शहरी हरित मार्गहरूको पारिस्थितिकीय पुनर्स्थापना र भूमिगत पाइपलाइनहरूको आधुनिक स्तरोन्नति लगायतका कामहरु चीनले शहरी पुनर्नवीकरण योजना अन्तर्गत अघि बढाइरहेको छ।
यस अभियानको मुख्य उद्देश्य सहरहरूलाई अझ बस्न योग्य, जीवन्त, सुरक्षित, वातावरणमैत्री र मानव केन्द्रित बनाउनु हो।
शहरी पुनर्नवीकरण केवल भौतिक संरचना परिवर्तन गर्ने प्रक्रिया मात्र होइन। यसले मानिसहरूको दैनिक जीवन सुधार, सार्वजनिक सेवा विस्तार, वातावरण संरक्षण र भविष्यका लागि दिगो शहरी विकासको आधार तयार गर्ने लक्ष्य राखेको छ।
(पिपुल्स डेलीमा प्रकासित यो सामाग्री हामीले बेल्ट एण्ड रोड न्यूज नेटवर्क को सौजन्यतामा प्राप्त गरेका हौ- सम्पादक)