तेस्रो संस्करणको बेल्ट एण्ड रोड न्यूज अवार्डका लागि निवेदन आव्हान

तेस्रो ‘सिल्क रोड ग्लोबल न्युज अवार्ड्स’ का लागि आवेदन खुला भएको छ। यो अवार्डको आयोजक बेल्ट एन्ड रोड न्युज नेटवर्क (बीआरएनएन) हो, जसको अध्यक्ष चीनको सर्वाधिक बिक्री हुने पत्रिका पिपुल्स डेली रहेको छ।

‘बीआरएनएन’ ले अवार्डका लागि १६ मार्च २०२६ देखि विश्वव्यापी रूपमा आवेदन आह्वान गरेको हो।

सोमबार थप जानकारी सार्वजनिक गर्दै ‘बीआरएनएन’ ले यस वर्षको अवार्ड चार विधामा प्रदान गरिने र त्यस अन्तर्गत ‘सर्वोत्कृष्ट रिपोर्टिङ’, ‘सर्वोत्कृष्ट फोटोग्राफी’, ‘सर्वोत्कृष्ट भिडियो’ र ‘सर्वोत्कृष्ट नवप्रवर्तन (इनोभेसन) समावेश रहेको उल्लेख छ।

प्रत्येक विधामा एक विजेता, चार वटा छोटो सूची र १० वटा लामो सूची लङलिस्ट छनोट गरिने भएको छ। आयोजक संस्थाका अनुसार विजेता तथा छनोट भएका कृतिहरूलाई नगद तथा अन्य पुरस्कार प्रदान गरिनेछ।

विश्वभरका सञ्चार संस्था तथा सञ्चारकर्मीहरूले अवार्ड प्रतिस्पर्धामा सहभागिता जनाउन सक्नेछन्। ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ को प्रवर्द्धन गर्ने, सिल्क रोडको भावनालाई प्रतिबिम्बन गर्ने, विभिन्न सभ्यताहरुबीचको आदानप्रदानलाई उजागर गर्ने, मानव जातिको साझा भविष्य निर्माणको अवधारणालाई अघि बढाउने वा अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक प्रभाव पार्ने पत्रकारितासम्बन्धी सामग्रीहरू अवार्डका लागि योग्य मानिनेछन्।

प्रतिस्पर्धामा सहभागी गराइने सामग्री विदेशी संस्था वा व्यक्तिहरूद्वारा स्वतन्त्र रूपमा उत्पादन गरिएको हुनुपर्ने अथवा चीन र विदेशी साझेदारबीचको सहकार्यमा तयार गरिएको हुनुपर्नेछ।

आयोजक संस्थाका अनुसार, चिनियाँ संस्था वा व्यक्तिहरूद्वारा मात्र स्वतन्त्र रूपमा उत्पादन गरिएका सामग्री प्रतिस्पर्धाका लागि योग्य हुने छैनन्।

सहभागीहरूले ‘बीआरएनएन’ को आधिकारिक वेबसाइटमा दर्ता गरी अनलाइनमार्फत आफ्ना सामग्रीहरू पेश गर्न सक्नेछन्। आवेदन दिनुअघि सबै सहभागीले बीआरएनएनको को आधिकारिक वेबसाइट (http://www.brnn.com) मा आफ्नो सामाग्री दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ।

अवार्डको मूल्याङ्कन प्रक्रिया दुई चरणमा सम्पन्न हुने र मूल्याङ्कनसम्बन्धी अद्यावधिक जानकारी ‘बीआरएनएन’ को वेबसाइटमार्फत् सार्वजनिक गरिने जनाइएको छ।

यसअघि सम्पन्न दोस्रो सिल्क रोड ग्लोबल न्युज अवार्ड्समा १ सय १० देश तथा क्षेत्रबाट करिब पाँच हजार सामग्री प्राप्त भएका थिए। तीमध्ये अन्तिम चरणमा ३७ देशका ५८ उत्कृष्ट रचनाहरुलाई सम्मानित गरिएको थियो।

आयोजक संस्थाले बीआरएनएनले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ्स’ सँग सम्बन्धित अन्तर्राष्ट्रिय सञ्चार तथा पत्रकारितालाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएको यो अवार्डले विश्वव्यापी सञ्चार सहकार्य र सभ्यताबीचको संवादलाई थप सुदृढ बनाउने अपेक्षा गरेको छ।