सैन्य अभ्यासमार्फत् उक्साउने कार्य बन्द गर्न फिलिपिन्सलाई चीनको आग्रह

  • २०८२ श्रावण २५, आईतवार

दक्षिण चीन सागरमा विवाद भड्काउने गतिविधि तत्काल रोक्न चीनले फिलिपिन्सलाई आग्रह गरेको छ।

फिलिपिन्सले स्वार्थपूर्ण कारणले अन्य देशहरूसँग मिलेर क्षेत्रीय अस्थिरता निम्त्याउने प्रयास गरिरहेको चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता जियाङ बिनले बताएका छन्।

‘चीनले सधैं दक्षिण चीन सागरको मुद्दालाई बहानाबाजीमार्फत् टकरावतर्फ लैजान उक्साउने कार्यको विरोध गर्दै आएको छ’ प्रवक्ता जियाङले भने, ‘सम्बन्धित देशहरूबीचको सैन्य सहकार्य कुनै तेस्रो पक्षतर्फ लक्षित हुनु हुँदैन र क्षेत्रीय शान्ति-स्थिरतालाई कमजोर पार्नुपनि हुँदैन।’

जियाङका अनुसार, फिलिपिन्सले बाह्य शक्तिहरूको आडमा धम्कीपूर्ण गतिविधि गरिरहेको छ। आफ्नो लाभका लागि गरिने यस्तो कार्यले क्षेत्रीय स्थिरतालाई हानि पुर्‍याउनेछ।

‘यस्तो कार्य क्षेत्रीय मुलुकहरूको साझा आकांक्षा-शान्ति, विकास र स्थिरता विरुद्ध हो’ उनले भने, ‘हामी फिलिपिन्ससँग आग्रह गर्छौं-उसले उक्साहटपूर्ण क्रियाकलाप र गलत प्रचारबाजी बन्द गरोस्, दक्षिण चीन सागरमा समस्या सिर्जना नगरोस्, संवाद तथा परामर्शमार्फत् मतभेद समाधान गर्ने सही मार्गमा फर्कियोस्।’

फिलिपिन्स र भारतले हालै दक्षिण चीन सागरको हुआङयान टापुको नजिक संयुक्त नौसैनिक अभ्यास गरेका थिए।

फिलिपिन्सको सेनाले यो अभ्यास दुई देशबीचको कार्यगत समन्वय सुधार्न र चीनसँगको विवादमा भारतको समर्थन देखाउन भएको दाबी गरेको थियो।

प्रवक्ता जियाङको भनाई यसै सन्दर्भमा आएको हो।

  • २०८२ श्रावण २५, आईतवार