राजदूत पोखरेलद्वारा इरानका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश, दुई देशबीचको सम्बन्धबारे छलफल

इस्लामिक गणतन्त्र इरानका राष्ट्रपति डा. मसूद पेजेशकियन समक्ष नेपाली राजदूत रमेशचन्द्र पौडेलले ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।

कतारका लागि आवासीय नेपाली राजदूत पौडेल इरानका लागि नेपालका गैरआवासीय राजदूत हुन्।

नेपालको गैरआवासीय राजदूतको रुपमा आइतबार (२५ साउन) मा तेहरानमा आयोजित विशेष समारोहमा राष्ट्रपति डा. मसूद पेजेशकियन समक्ष ओहदाको प्रमाणपत्र पेश गरेको दोहास्थित नेपाली राजदूतावासले जनाएको छ।

ओहदाको प्रमाणपत्र पेश गरेपश्चात् राष्ट्रपतिसँग राजदूत पौडेलले शिष्टाचार भेट गरेका थिए।

त्यसअवसरमा राजदूत पौडेलले नेपाल र इस्लामिक गणतन्त्र इरानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देशबीच सुमधुर, घनिष्ठ तथा मित्रवत् सम्बन्ध रहदै आएको उल्लेख गरेका थिए।

लगानी, व्यापार, पर्यटन, कृषि र शिक्षाको क्षेत्रमा आपसी सहयोगको ठूलो सम्भाव्यता रहेको पनि राजदूत पौडेलले इरानी राष्ट्रपतिलाई बताएका थिए।

पौडेलले राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट इरानी राष्ट्रपतिका लागि सुस्वास्थ्य, इरान र इरानी जनताको समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना सन्देश पनि सुनाएका थिए।

राष्ट्रपति डा. मसूद पेजेशकियनले इरानका लागि गैरआवासीय राजदूत नियुक्त भएकोमा पौडेललाई बधाई दिदै विद्यमान द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन सक्रिय
भूमिका र जिम्मेवारी निर्वाह गर्ने आशा व्यक्त गरेका थिए।

साथै राजदूत पौडेलको कार्यकालमा इरानी सरकारको पूर्ण सहयोग रहनेमा आश्वस्त पनि गराएका थिए।

राष्ट्रपति पेजेस्कियानले पनि नेपालका राष्ट्रपति पौडेललाई शुभकामनाको लागि धन्यवाद प्रदान गर्दै राष्ट्रपति पौडेलको सुस्वास्थ्यका साथै नेपाल र नेपाली जनताको समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना सन्देश आफ्नो तर्फबाट प्रेषित गरिदिन आग्रह गरेका थिए।