सरकारले भारत, चीन, अमेरिका, बेलायतलगायत १३ मुलुकका लागि नयाँ राजदूत नियुक्त गर्न १३ जनाको नाम सिफारिस गरेको छ।
शुक्रबार (२ असोज) बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रमा विज्ञता, अध्ययन–अनुसन्धान, नेतृत्व तथा अन्तर्राष्ट्रिय अनुभवका आधारमा विज्ञ व्यक्तिहरूलाई राजदूतका रूपमा सिफारिस गरेको हो।
यसअनुसार भारतका लागि वैदेशिक नीति विज्ञ डा। निश्चलनाथ पाण्डे, चीनका लागि नेपाल–चीन सम्बन्धका जानकार डा. कल्याणराज शर्मा र अमेरिकाका लागि सुरक्षा तथा अन्तर्राष्ट्रिय मामिला विज्ञ चिरञ्जीवी (चिरन) जङ्ग थापाको नाम सिफारिस गरिएको छ।
पूर्वप्रधानसेनापति गौरवशमशेर जबरालाई बेलायत, नेपाल–जापान सम्बन्धका जानकार जिज्ञानकुमार थापालाई जापान, सूचना प्रविधि तथा बैंकिङ क्षेत्रका सुरेशकुमार कर्णलाई इजरायल र अन्तर्राष्ट्रिय विकास तथा समावेशी वित्त क्षेत्रकी विज्ञ प्राप्ति शेरचनलाई स्पेनका लागि सिफारिस गरिएको छ।
शरू जोशीलाई जर्मनी, डा। पद्माक्षी राणालाई ओमान, चूडामणि खरेललाई मलेसिया, प्राडा सङ्गम श्रेष्ठलाई दक्षिण कोरिया, डा. मञ्चला झालाई श्रीलंका र गिरीबहादुर सुनारलाई साउदी अरेबियाका लागि राजदूत सिफारिस गरिएको छ।
भारत : निश्चलनाथ पाण्डे
भारतका लागि प्रस्तावित डा. निश्चलनाथ पाण्डे नेपालको परराष्ट्र नीति र दक्षिण एसियाली मामिलाका परिचित अध्येता हुन्।
उनी हाल सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक छन्।
यसअघि उनले परराष्ट्र मन्त्रालयअन्तर्गतको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (IFA) को कार्यकारी निर्देशकका रूपमा सन् १९९८ देखि २००६ सम्म काम गरेका थिए।
उनी राष्ट्रिय योजना आयोगका पर्यटन तथा नागरिक उड्डयनसम्बन्धी सल्लाहकारसमेत थिए।
डा. पाण्डेले सत्य निरूपण तथा मेलमिलाप आयोगका विज्ञ र नेपाल सरकारको उच्चस्तरीय परराष्ट्र नीति कार्यदलका सदस्यका रूपमा पनि काम गरेका छन्।
त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा विद्यावारिधि गरेका पाण्डेले नेपालको परराष्ट्र नीति तथा क्षेत्रीय सहकार्यका विषयमा पुस्तक तथा अनुसन्धानात्मक कृतिहरू प्रकाशित गरेका छन्।
भारतजस्तो नेपालको सबैभन्दा महत्वपूर्ण छिमेकी मुलुकका लागि परराष्ट्र नीति र दक्षिण एसिया अध्ययनमा लामो अनुभव भएका व्यक्तिको छनोटलाई यस सूचीको महत्वपूर्ण पक्षका रूपमा हेर्न सकिन्छ।
चीन : कल्याणराज शर्मा
चीनका लागि प्रस्तावित डा। कल्याणराज शर्मा नेपाल–चीन सम्बन्ध, चिनियाँ अध्ययन र अर्थशास्त्रका जानकार हुन्।
डा. शर्माले चीनको फुदान विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। उनको अध्ययन प्रत्यक्ष वैदेशिक लगानी, व्यापार र पर्यटन वित्तपोषणमा केन्द्रित थियो।
फुदान विश्वविद्यालय पूर्वविद्यार्थी संघ नेपालका अध्यक्ष रहेका डा. शर्मा नेपाल–चीन मैत्री मञ्च तथा काउन्सिल अफ सिनोलोजिस्ट्स–नेपालका पनि अध्यक्ष छन्।
काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा उनले Doing Business in China विषय अध्यापनसमेत गर्दै आएका छन्।
नेपाल–चीन आर्थिक कूटनीति, व्यापार तथा बेल्ट एन्ड रोड सहकार्य (BRI) का विषयमा उनको लामो संलग्नता छ।
नेपाल–चीन सम्बन्धमा योगदानका लागि उनलाई ‘नेपाल भूषण’ र ‘सिल्क रोड फ्रेन्डसिप अवार्ड’ प्रदान गरिएको विवरण सार्वजनिक भएको छ।
नेपाल–चीन सम्बन्धमा लामो समयदेखि काम गर्दै आएका .व्यक्तित्वलाई राजदूत बनाएर पठाउने निर्णय यसपटकको अर्को उल्लेखनीय पक्ष हो। यसअघि चीनमा राजनीतिक, कूटनीतिक, सैनिक, प्रशासनिक पृष्ठभूमिका व्यक्तिहरुलाई पठाउने गरिएको थियो।
अमेरिका : चिरञ्जीवीजङ्ग थापा
अमेरिकाका लागि प्रस्तावित राजदूत चिरञ्जीवीजङ्ग थापा राष्ट्रिय सुरक्षा, संकट व्यवस्थापन र अन्तर्राष्ट्रिय मामिलाका विज्ञ हुन्।
उनले कोलम्बिया विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तर गरेका छन्।
उनी सन् २०१७ देखि अक्सफाममा एसियाका लागि क्षेत्रीय सुरक्षा सल्लाहकारका रूपमा कार्यरत थिए।
यसअघि उनले सेफरवर्ल्ड र द एसिया फाउन्डेसनमा सुरक्षा तथा नागरिक–सैन्य सम्बन्धसम्बन्धी जिम्मेवारी सम्हालेका थिए।
नेपालमा रक्षा मन्त्रालय, राष्ट्रिय सुरक्षा परिषद्, नेपाली सेना र नेपाल प्रहरीसँग सुरक्षा तथा नागरिक–सैन्य सम्बन्धका विषयमा काम गरेको अनुभव पनि थापासँग रहेको छ।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाल र सिंगापुरका स्थायी नियोगमा काम गरेको अनुभवसमेत उनको पृष्ठभूमिमा छ।
बेलायत : गौरवशमशेर राणा
बेलायतका लागि राजदूत सिफारिस गरिएका गौरवशमशेर जंगबहादुर राणा नेपाली सेनाका पूर्व प्रधानसेनापति हुन्।
राणाले नेपाली सेनामा चार दशकभन्दा बढी सेवा गरेपछि सन् २०१२ देखि २०१५ सम्म प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका थिए।
उनको कार्यकालमा पूर्वमाओवादी लडाकूहरूको नेपाली सेनामा समायोजन प्रक्रिया अघि बढेको थियो।
सन् २०१५ को विनाशकारी भूकम्पपछि नेपाली सेनाले सञ्चालन गरेको उद्धार तथा राहत अभियानमा पनि उनको नेतृत्व थियो।
राणाले बेलायतको रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्ट, अमेरिकाको आर्मी कमान्ड एन्ड जनरल स्टाफ कलेज तथा पाकिस्तानको नेसनल डिफेन्स युनिभर्सिटीमा अध्ययन गरेका छन्।
जापान : जिज्ञानकुमार थापा
जापानका लागि प्रस्तावित जिज्ञानकुमार थापाले दुई दशकभन्दा बढी समयदेखि नेपाल–जापान सम्बन्ध तथा अन्तर्राष्ट्रिय सहकार्यका क्षेत्रमा काम गर्दै आएका छन्।
उनी जापानको कानागावा इन्टरनेसनल फाउन्डेसनमा अन्तर्राष्ट्रिय सहकार्य, सार्वजनिक नीति तथा बहुसांस्कृतिक मामिलाका विज्ञका रूपमा कार्यरत छन्।
नेपाल–जापानबीच उच्चस्तरीय भ्रमण तथा द्विपक्षीय कार्यक्रमको समन्वयमा उनको लामो अनुभव छ। जापानी भाषा तथा जापानको प्रशासनिक प्रणालीसँगको उनको परिचयलाई पनि उनको पृष्ठभूमिको महत्वपूर्ण पक्ष हो।
इजरायल : सुरेशकुमार कर्ण
इजरायलका लागि प्रस्तावित सुरेशकुमार कर्ण सूचना प्रविधि, बैंकिङ तथा आर्थिक नीतिका क्षेत्रमा लामो अनुभव भएका व्यक्ति हुन्।
उनले कुमारी बैंकमा प्रमुख सूचना तथा मार्केटिङ अधिकृतका रूपमा काम गरेका थिए। नेपालको प्रारम्भिक मोबाइल वालेट सेवामध्ये एक ‘‘कुमारी मोबाइल क्यास’ को विकासमा भूमिका खेलेका थिए।
कर्ण कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) का अध्यक्षसमेत भइसकेका छन्। सूचना प्रविधि नीति निर्माण तथा डिजिटल सेवाको विकासमा उनको संलग्नता रहेको छ।
स्पेन : प्राप्ति शेरचन
स्पेनका लागि प्रस्तावित प्राप्ति शेरचन अन्तर्राष्ट्रिय विकास, लैंगिक समानता र समावेशी वित्तको क्षेत्रमा काम गरेकी विज्ञ हुन्।
उनी अन्तर्राष्ट्रिय वित्त निगम (IFC) मा कार्यरत रहेको र एसिया तथा अफ्रिकामा महिलाको आर्थिक सशक्तीकरण तथा समावेशी वित्तसँग सम्बन्धित कार्यक्रमहरूमा काम गरेकी थिइन्।
उनले अन्तर्राष्ट्रिय विकाससम्बन्धी क्षेत्रमा करिब १५ वर्ष काम गरेको बताइएको छ।
जर्मनी : शरू जोशी
जर्मनीका लागि प्रस्तावित शरू जोशी आप्रवासन, वैदेशिक रोजगार सुशासन, लैंगिक समानता र अन्तर्राष्ट्रिय सहकार्यकी नीति विज्ञ हुन्।
उनले नेपालको वैदेशिक रोजगारसम्बन्धी नीति तथा कानुनी संरचना निर्माणमा काम गरेकी छन्। संयुक्त राष्ट्रसंघीय महिला निकाय UN Women मा समेत लामो समय काम गरेकी जोशीसँग विश्व बैंक तथा अन्तर्राष्ट्रिय आप्रवासनसम्बन्धी मञ्चहरूमा नेपालको प्रतिनिधित्व गरेको अनुभव छ।
ओमान : पद्माक्षी राणा
ओमानका लागि प्रस्तावित डा. पद्माक्षी राणा दीगो विकास, समावेशी नवप्रवर्तन र उद्यमशीलताका क्षेत्रमा कार्यरत (छन्।
उनी सन् २०२२ देखि क्ष्mउबअत ज्गद प्बतजmबलमग की कार्यकारी निर्देशक तथा सहसंस्थापकका रूपमा कार्यरत छन्।
उनी आवद्ध संस्थाले बेलायती सहयोग, युरोपेली संघ, यूएनडीपी, युनिसेफ, विश्व बैंकलगायत अन्तर्राष्ट्रिय संस्थाहरूसँग साझेदारीमा काम गरेको छ।
उनले क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि तथा एमफिल गरेकी छन्।
मलेसिया : चूडामणि खरेल
मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको पृष्ठभूमि शिक्षा, कानून, राजनीतिशास्त्र तथा सार्वजनिक प्रशासनसँग जोडिएको छ।
उनले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा स्नातक तथा स्नातकोत्तर, राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका छन्।
उनी नेपाल योग खेलकुद संघका महासचिव हुन्। यसअघि विभिन्न खेलकुद संस्थामा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।
दक्षिण कोरिया : सङ्गम श्रेष्ठ
दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत प्राडा सङ्गम श्रेष्ठ जलस्रोत, जलसुरक्षा, जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय सहकार्यका विज्ञ हुन्।
उनी थाइल्यान्डस्थित ब्कष्बल क्ष्लकतष्तगतभ या त्भअजलययिनथ का प्राध्यापक तथा न्यिदब िध्बतभच बलम क्बलष्तबतष्यल ऋभलतभच का संस्थापक सहनिर्देशक हुन्।
उनले एसियाली विकास बैंक, विश्व बैंक, संयुक्त राष्ट्रसंघका निकायलगायत अन्तर्राष्ट्रिय संस्थाहरूसँग काम गरेका छन्। दुई सयभन्दा बढी अनुसन्धानात्मक लेख प्रकाशित गरेको र जलवायु तथा जलस्रोतसम्बन्धी अनुसन्धानमा अन्तर्राष्ट्रिय पहिचान बनाएको विवरण सार्वजनिक भएको छ।
श्रीलंका : मञ्चला झा
श्रीलंकाका लागि प्रस्तावित डा. मञ्चला झा सुशासन, सार्वजनिक नीति र संक्रमणकालीन न्यायकी विज्ञ हुन्।
उनी सन् २०१५ देखि २०१९ सम्म नेपालको सत्य निरूपण तथा मेलमिलाप आयोगकी आयुक्त थिइन्। संक्रमणकालीन न्यायसम्बन्धी अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको अनुभव प्रस्तुत गरेकी झाले श्रीलंकामा समेत नेपालको संक्रमणकालीन न्याय प्रक्रियाबारे प्रस्तुति दिएकी थिइन्।
उनले भारतको बीआर अम्बेडकर विश्वविद्यालयबाट हिन्दी साहित्यमा विद्यावारिधि तथा त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन्।
साउदी अरेबिया : गिरीबहादुर सुनार
साउदी अरेबियाका लागि प्रस्तावित गिरीबहादुर सुनार समाजशास्त्र तथा विकास क्षेत्रका विज्ञ हुन्।
उनको अनुभवको क्षेत्र सामाजिक संरक्षण, लैंगिक समानता, सामाजिक समावेशीकरण तथा जलवायु अनुकूलन लगायत हो।
विश्व बैंक र एसियाली विकास बैंकका विभिन्न विकास तथा पूर्वाधार कार्यक्रमसँग पनि उनी आवद्ध रही काम गरेका छन्।
समाजशास्त्रमा एमफिल गरेका उनी विद्यावारिधि समेत गर्दैछन्। विकास नीति तथा सामाजिक समावेशीकरणका विषयमा उनका लेख तथा पुस्तकसमेत प्रकाशित छन्।
समावेशी प्रतिनिधित्व
प्रस्तावित गरिएका १३ राजदूतको सूचीले राजदूत नियुक्तिमा पेशागत विविधतालाई प्राथमिकता दिन खोजेको देखिन्छ।
यसपटक विश्वविद्यालय, अनुसन्धान, सुरक्षा, सूचना प्रविधि, बैंकिङ, अन्तर्राष्ट्रिय विकास, आप्रवासन, जलस्रोत, सार्वजनिक नीति र उद्यमशीलताको पृष्ठभूमिका व्यक्तिहरूले अवसर प्राप्त गरेका छन्।
सिफारिस गरिएका १३ मध्ये चार जना महिला छन्—प्राप्ति शेरचन, शारू जोशी, डा. पद्माक्षी राणा र डा. मञ्चला झा।
अर्थात् प्रस्तावित सूचीमा महिलाको हिस्सा करिब ३१ प्रतिशत हुन्छ।
यसले राजदूत नियुक्तिमा लैंगिक प्रतिनिधित्वले प्राथमिकता पाएको देखाएको छ।
तर बहुसंख्यामा भने अझैपनि पुरुषहरु नै छन्।
साउदी अरेबियाका लागि प्रस्तावित गिरीबहादुर सुनार दलित समुदायको प्रतिनिधित्व गर्छन्।
उनको छनोटबाट सामाजिक समावेशीकरणको पक्षलाई सूचीमा स्पष्ट रूपमा जोडेको देखिन्छ।
खुला आवेदनबाट छनोट
यसपटकको राजदूत सिफारिस प्रक्रियाको अर्को महत्वपूर्ण पक्ष सरकारले खुला आवेदन आह्वान गर्नु हो।
परराष्ट्र मन्त्रालयले गत २८ मे २०२६ मा विभिन्न मुलुकका लागि राजदूत तथा स्थायी प्रतिनिधि पदमा योग्य नेपाली नागरिकबाट आवेदन तथा सिफारिस मागेको थियो। आवेदन दिने अन्तिम मिति ५ जुन तोकिएको थियो।
मन्त्रालयले योग्यता र उपयुक्तताका आधारमा प्रारम्भिक सूची तथा ‘‘सर्टलिस्ट’ बनाउने प्रक्रिया अपनाएको थियो।
यस प्रक्रियामा ४ हजार ४ सयभन्दा बढी आवेदन परेको थियो। दोहोरिएका तथा अपूर्ण आवेदन हटाएपछि करिब २ हजार ७ सय आवेदन छनोट गरिएको र त्यसपछि केही सय नामलाई थप सर्टलिस्ट गरिएको थियो।