आफ्नो जीवनभन्दा मातृभूमि र पेशा महत्वपूर्ण हो भन्ने शिक्षा इजरायलद्वारा आइतबार हत्या गरिएका अलजजिराका सम्वाददाता अनस अल–सरिफको अन्तिम पत्रले विश्वभरका पत्रकारलाई दिएको छ।
विगत दुई वर्षदेखि इजरायलको क्रुर र अमानवीय आक्रमण भोगिरहेको गाजाको अलसिफा अस्पतालनजिकै इजरायलद्वारा गरिएको आक्रमणमा अलजजिरा संवाददाता अनस अल–सरिफ र मोहम्मद कुरेकी, क्यामेराम्यान इब्राहिम जहिर र मोहम्मद नौफलको मृत्यु भएको थियो।
आफ्ना पत्रकारहरुको हत्या भएलगत्तै अल जजिराले बताए अनुसार इजरायली हमलाका बेला संवाददाता अनस अल–सरिफ र मोहम्मद कुरेकी, क्यामेरापर्सन इब्राहिम जहिर र मोहम्मद नौफल अस्पतालको मुख्य ढोकामा बनाइएको पालमा थिए, जुन पाल पत्रकारहरुकालागि बनाइएको थियो।
अलजजिराले आफ्ना पत्रकारहरुको इजरायलले हत्या गरेको सार्वजनिक गरेलगत्तै इजरायलले अल–सरिफ हमासको कमाण्डर रहेको दावी गरेको थियो। अलजजिराले भने दुई हप्ता अगाडि नै गाजामा अल–सरिफलगायत आफ्ना पत्रकारविरुद्ध इजरायलले चलाएको अभियानलाई ‘उत्तेजनात्मक अभियान’ को रुपमा चित्रित गरेको थियो।
अल–सरिफ मारिएको इजरायली डिफेन्स फोर्स (आईडीएफ) अल–सरिफमाथि आक्रमण गरेको पुष्टिमात्र गरेन, उनी ‘हमासको आतंकवादी सेलको प्रमुख’ का रूपमा काम गरिरहेको आरोप समेत लगायो।
अल–सरिफ मारिएपछि अल जजिराका प्रबन्ध सम्पादक मोहम्मद मोआदले ‘अल–सरिफ गाजाभित्र संसारलाई समाचार दिने एकमात्र आवाज’ भनेका थिए।
जजिराका प्रबन्ध सम्पादक मोहम्मद मोआदले भनेझैँ अल–सरिफ गाजामा इजरायली पक्षले गरिरहेको अत्याचारलाई पत्रकारिताको माध्यमबाट सारा संसारलाई सुनाउने आवाज थिए।
यहीकारण इजरायलले उनलाई निशाना बनाउन थालेको थियो। कुनै न कुनै बेला आफूलाई इजरायलले निशाना बनाउँछ भन्ने आभाष अल–सरिफलाई पनि रहेछ, त्यहीकारण उनले मारिनुअघि नै आफ्नो परिवारलाई पठाउने चिठी लेखेर तयार पारेका थिए।
परिवारका नाममा उनले लेखेको चिठी उनको हत्या लगत्तै सामाजिक सञ्जाल ट्वीटरमार्फत् सार्वजनिक भएको छ, जसमा उनले सारा संसारसँग गाजालाई नबिर्सिदिन आग्रह गरेका छन्।
उनको सो पत्र उनको ट्वीटर एकाउण्टमा थियो र त्यसलाई सार्वजनिक गरिदिन उनले आफ्ना सहकर्मीहरुलाई मारिनु पहिले आग्रह गरेका थिए। आफ्नो हत्यापछि सार्वजनिक गरिदिन आग्रह गरिएको उनको पत्रमा उनले इजरायलले आफूलाई मार्न र आफ्नो आवाज बन्द गर्न सफल भएको उल्लेख गरेका छन्।
उनको यो अन्तिम शब्दावलीको यतिबेला विश्वभर चर्चा भएको छ।
‘यो मेरो इच्छा र अन्तिम सन्देश हो’ आफ्नो अन्तिम पत्रमा उनले भनेका छन्, ‘यदि यी शब्दहरू तपाईंहरुसमक्ष पुग्छन् भने बुझ्नुहोस्, इजरायलले मलाई मार्न र मेरो आवाज चुप गराउन सफल भएको छ।’
उनले लेखेको अन्तिम पत्रमा भनिएको छ :
पहिले त तपाईंलाई शान्ति, अल्लाहको दया र आशीर्वाद। अल्लाहलाई थाहा छ, जब मैले जबालिया शरणार्थी शिविरका गल्ली र सडकहरूमा जीवन देख्न थालेँ, मैले आफ्नो सम्पूर्ण प्रयास र शक्ति जनताको पक्षमा उभिन र तिनीहरूको आवाज बन्न खर्चें।
मेरो आशा थियो कि अल्लाहले मेरो आयु बढाइदिनुहुन्थ्यो ताकि म आफ्नो परिवार र प्रियजनसँगै फर्केर हाम्रो मूल सहर कब्जामा परेको अस्कालान (अल–मज्दाल) पुग्न सकूँ। तर अल्लाहको इच्छा पहिला आयो। उहाँको फैसला नै अन्तिम हो।
मैले पीडाको सम्पूर्ण रूप भोगें, दुःख र क्षतिको स्वाद पटक–पटक चाखें, तर कहिल्यै सत्यलाई जस्ताको तस्तै बिना विकृति, बिना तोडमोड स्वीकार गर्नुबाट पछि हटिनँ। यसकारण कि अल्लाहले प्रमाणित गर्न सकून्– उनीहरू जसले मौनता रोजे, जसले हाम्रो हत्या स्वीकार गरे, जसले हाम्रो स्वास रोकिदिए, र जसको मुटु हाम्रा बालबालिका र महिलाहरूका चिथोरिएका अवशेष देखेर पनि अवरुद्ध भएन, जसले साढे एक वर्षभन्दा बढी समययता हाम्रो जनतामाथि भइरहेको नरसंहार रोक्न केही गरेनन्।
म तपाईंलाई प्यालेस्टाइनको जिम्मा लगाउँछु !
मुस्लिम संसारको मुकुटमा झल्किने गहना, संसारका प्रत्येक स्वतन्त्र आत्माको धड्कन। यसको जनताको जिम्मा, निर्दोष बालबालिकाको जिम्मा, जसले कहिल्यै सपना देख्ने वा सुरक्षित र शान्त जीवन बाँच्ने समय पाएनन्। उनीहरूको पवित्र शरीर हजारौँ टन इजरायली बम र मिसाइलले च्याते र पर्खाल–पर्खालमा छरपस्ट गरिदिए। म तपाईंलाई अनुरोध गर्छु – कुनै साखा (शृंखला) ले तपाईंलाई चुप नगराओस्, कुनै सीमा सीमारेखाले तपाईंलाई रोक्न नपाओस्। त्यतिबेलासम्म तपाईंहरुले हाम्रो भूमि र जनताको स्वतन्त्रतासम्म पुग्ने पुल बनिदिनुहोस्, जबसम्म मर्यादा र स्वतन्त्रताको सूर्य हाम्रो लुटिएको मातृभूमिमा उदाउँदैन।

म तपाईंलाई मेरो परिवारको जिम्मा पनि दिन्छु !
मेरो प्यारी छोरी– शाम, मेरा आँखाको नानी, जसलाई म आफ्नो सपना अनुसार हुर्किँदै हेर्न कहिल्यै पाइनँ। मेरो प्रिय छोरा–सलाह, जसलाई म आफ्नो जीवनभर समर्थन र साथ दिएर बलियो बनाई मेरो जिम्मेवारी र मिशन अगाडि बढाउने चाहना राख्थें।
मेरो प्रिय आमा, जसको आशीर्वादपूर्ण प्रार्थनाले मलाई यहाँसम्म पुर्यायो, जसको आशिर्वादका कारण म सुरक्षित रहेँ, जसको प्रकाशले मेरो बाटो देखायो। अल्लाहले उहाँलाई बल दिनुहोस् र मेरो तर्फबाट सबैभन्दा उत्कृष्ट इनाम दिनुहोस् भन्ने म प्रार्थना गर्दछु।
त्यस्तै, मेरी प्रिय श्रीमती उम्म सलाह, जसलाई युद्धले लामो समय र महिनौंसम्म मसँगबाट अलग गर्यो, तर जसले हाम्रो सम्बन्धमा विश्वास कायम राखिरहिन्, जैतुनको रूखको तन्नेरीजस्तो दृढ रहिन्। धैर्यवान, अल्लाहमा विश्वास राख्ने, र मेरो अनुपस्थितिमा सम्पूर्ण शक्ति र विश्वासका साथ जिम्मेवारी वहन गर्ने म तपाईंहरुसँग सर्वशक्तिमान अल्लाहसँग उनीहरुको सहारा बन्न उनीहरुलाई साथ दिन अनुरोध गर्दछु।
अनस अल–सरिफको हत्यापछि उनका साथीहरुले उनकै ट्वीटरमार्फत् सार्वजनिक गरेको यो अन्तिमपत्रलाई विश्वभरका प्रमुख सञ्चारमाध्यमहरुले प्रमुखताका साथ प्रकासित गरेका छन्।
इजरायलले क्रुरतापूर्वक गाजामा गरिरहेको आक्रमणका कारण सिर्जित र सहायता सामाग्री वितरणमा गरेको नाकाबन्दीका कारण फैलिएको भोकमरीका बाबजुद पत्रकार अल–सरिफ आफ्नो दायित्वबाट विचलित नभई सञ्चारकर्ममा सक्रिय थिए। इजरायली आक्रमणको समाचार दिइरहेका थिए। उनी आफै प्यालेष्टिनी भएकाले गाजाका जनताको आवाजलाई पेशामार्फत् सार्वजनिक गरिरहेका थिए।
इजरायली आक्रमणमा उनको मृत्युपछि उनको आवाज बन्द भएको छ। तर, त्यो आवाज जत्तिकै शक्तिशाली आवाजको काम उनको अन्तिम पत्रले गरेको छ।
हाम्रो तर्फबाट तिमीलाई हार्दिक श्रद्धाञ्जली अनस अल–सरिफ!
