अमेरिकाले रुसबाट किनेको भूभाग, जहाँ ट्रम्पले पुटिनसँग गर्दैछन् भेटवार्ता

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र सी राष्ट्रपति भ्लादिमिर पुटिनबीच १५ अगस्ट (३० साउन) मा अमेरिकी राज्य अलास्कामा भेटवार्ता हुँदैछ। यो भेटमा युक्रेन युद्ध अन्त्य गर्ने भन्ने विषयमा छलफल हुनेछ।

एक हप्ता अघि नै अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिनसँगको बैठकको घोषणा गरेका थिए। त्यसक्रममा ट्रम्पले युक्रेनमा युद्धविरामको सहमति नजनाएको खण्डमा थप अमेरिकी प्रतिबन्धको सामना गर्नुपर्ने चेतावनीपनि दिएका थिए।

यसअघि ट्रम्पकै आग्रहमा रूस र युक्रेनबीच चीन चरणमा वार्ता भइसकेको छ। तर ती वार्ताले स्थितिलाई शान्तिको नजिक पुर्‍याउन सकेको छैन।

अबको भेटवार्ता अमेरिकी राज्य अलास्काको एंकोरेजमा हुनेछ। रोचक कुरा के छ भने, अहिले अमेरिकाको सबैभन्दा ठूलो राज्य रहेको अलास्का कुनै बेला रूसी भूभाग थियो।

यसबारेमा बीबीसीमा मेडलीन हेल्पर्ट र क्रिष्ट हेयेजले एउटा रोचक स्टोरी लेखेका छन्।

अमेरिकाले किनेको भूमि
अमेरिकाले सन् १८६७ मा अलास्कालाई रुसबाट खरिद गरेको थियो। रुसबाट खरिद गरिएको भूमिमा रुसी राष्ट्रपतिसँग वार्ता हुन लागेकाले पनि यसपटक हुन लागेको ट्रम्प–पुटिन भेटवार्ता ऐतिहासिक महत्वको हुनेछ।

खरिद गरेको करिव एक सयवर्षपछि सन् १९५९ मा अलास्काले अमेरिकी राज्यको दर्जा प्राप्त गरेको थियो।

रूसी राष्ट्रपति पुटिनका सहयोगी युरी उशाकोभका भनाईमा, खासमा अमेरिका र रूस छिमेकी नै हुन्। उनीहरुलाई ‘बेरिङ स्ट्रेट’ (जलडमरु) ले मात्र छुट्याएको छ।

उशाकोभ भन्छन्, ‘हाम्रो लागि बेरिङ स्ट्रेट पार गरेर उडान भर्नु र दुबै देशका नेताहरूको यति महत्वपूर्ण र लामो समयदेखि प्रतीक्षित शिखर बैठक अलास्कामा हुनु पूर्ण रूपमा उपयुक्त हो।’

अलास्का पछिल्लो समय मार्च २०२१ मा कुटनीतिक भेटवार्ताका क्रममा चर्चामा आएको थियो। तत्कालिन अमेरिकी राष्ट्रपति जो बाइडेनको कूटनीतिक र राष्ट्रिय सुरक्षा टोलीको चिनियाँ समकक्षीसँगको भेटवार्ता तनावपूर्ण भएकाले त्यसले चर्चापाएको थियो।

त्यो बैठकमा तत्कालिन चिनियाँ परराष्ट्र याङ जेइचीले अमेरिकामाथि ‘अहंकारी’ र ‘पाखण्डी’ को आरोप लगाएका थिए।

ट्रम्प-पुटिन भेटघाटस्थल
ह्वाइट हाउसले मंगलबार उल्लेख गरेअनुसार दुई राष्ट्रपतिबीचको बैठक अलास्काको सबैभन्दा ठूलो शहर एंकोरेजमा हुनेछ।

‘यो ठाउँ धेरै कारणले निकै लोकप्रिय छ’ भेटघाटस्थलबारे उल्लेख गर्दै ट्रम्पले भनेका थिए।
द्विपक्षीय बैठकको घोषणा गर्दा ट्रम्पले भनेका थिए। उनले उनले भेटघाटस्थल एंकोरेज हो भन्ने कुरा भने उल्लेख गरेका थिएनन्।

दुबै नेताहरूबीच ‘ज्वाइन्ट बेस एलमेंडोर्फ–रिचार्डसन’ मा हुनेछ, जुन अलास्कास्थित सबैभन्दा ठूलो अमेरिकी सैनिक सैनिक आधार शिविर हो। ६४ हजार एकडमा फैलिएको यो अधार शिविर आर्कटिक क्षेत्रमा रहेको अमेरिकी सेनाको महत्वपूर्ण केन्द्र पनि हो।

जेलेन्स्कीविनाको युक्रेन-वार्ता
युक्रेन युद्धका विषयमा हुने यो वार्तामा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको सहभागी हुने छैनन्। तर, बैठकपछि आफूले सबैभन्दा पहिले जेलेन्स्कीलाई फोन गर्ने ट्रम्पले बताएका छन्।

खासमा पुटिनले जेलेन्स्कीलाई यो वार्तामा सहभागी नगराउन आग्रह गरेका थिए। जेलेन्स्कीले भने ‘युक्रेनको सहमतिविना हुने कुनै पनि सम्झौता निरर्थक हुने चेतावनी दिइसकेका छन्।रूस र युक्रेन दुबै आफूहरुले युद्ध अन्त्य गर्न चाहेको दाबी गर्छन्। तर उनीहरूलाई अर्काे पक्षको सर्त भने स्वीकार्य छैन।

ट्रम्पले भनेका छन् कि उनी युक्रेनका लागि रूसको कब्जामा रहेका केही भूभाग फिर्ता गराउने प्रयासमा छन्। तर, युक्रेनले पनि भूभागमा केही अदलाबदल गर्नुपर्ने आवस्यकता उनले औँल्याएका छन्।

अर्थात् युद्ध अन्त्यका लागि युक्रेनले केही भूभाग त्याग्न तयार हुनुपर्नेमा ट्रम्पको जोड छ।

तर, युक्रेनले भने सन् २०१४ मा रुसी भूमिमा गाभिएको क्रिमिया लगायत कुनै पनि भूभागलाई आफूले मान्यता नदिने प्रष्ट पारेको छ।

आफूले रुसले गरेको कुनैपनि कामलाई इनाम नदिने अडान युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सार्वजनिक गरिसकेका छन्। पुटिन चाहिँ रुसले कब्जा गरेका युक्रेनी भूभाग नछाड्ने, युक्रेनी सेनाको आकार घटाउनुपर्ने अडानमा कायमै छन्।

सम्झौताको सम्भावना
राष्ट्रपति निर्वाचनका बेला ट्रम्पले आफू निर्वाचित भए पद सम्हालेको २४ घण्टाभित्रै युद्ध अन्त्य गर्ने रसन् २०२२ ताका आफू राष्ट्रपति रहेको भए रूस–युक्रेन युद्ध नहुने दावीपनि गरेका थिए।

तर पछिल्लो समय भने आफू पुटिनसँग निराश रहेको बताउँदै आएका छन्। कतिसम्म भने उनले ८ अगस्टसम्मको समयसीमासहित पुटिन तत्काल युद्धविराममा सहमत नभए रुसविरुद्ध कडा अमेरिकी प्रतिबन्ध लाग्ने चेतावनीसमेत दिए।

तर आफूले दिएको समयसीमा पूरा नहुँदै उनी आफैले १५ अगस्टमा पुटिनसँग प्रत्यक्ष भेट हुने घोषणा गरे। अर्थात् रुसविरुद्ध प्रतिबन्धको साटो पुटिनसँग भेटवार्ता घोषणा गरे।

पुटिनसँगको बैठक अमेरिकी विशेष दूत स्टीभ विट्कफको मास्कोमा अघिल्लो साता पुटिनसँग भएको अत्यन्त सार्थ भेटवार्तापछि तय भएको ट्रम्पले बताएका छन्।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले भेटवार्ता राष्ट्रपति ट्रम्पका लागि पुटिनलाई सुन्ने अवसर हो भनेकी छन्। साथै उनले अलास्का यात्रापछि ट्रम्प रूस पनि जान सक्ने सम्भावनापनि प्रकट गरेकी छन्।

ट्रम्पले पनि सोमबार (११ अगष्ट, २६ साउन) मा पत्रकारहरुसँग भनेका थिए कि, पुटिनसँगको बैठक माहोल बुझ्ने भेट हुनेछ, त्यसको उद्देश्य पुटिनलाई युद्ध अन्त्य गर्न मनाउनु हो।

सम्भावित प्रस्ताव
युक्रेनलाई साथ दिँदै आएका युरोपेली मुलुकहरुलाई ट्रम्प प्रशासनले एक यस्तो युद्धविराम सम्झौतामा राजी गराउने प्रयास गरिरहेको छ, जसमा युक्रेनको ठूलो भूभागको नियन्त्रण रूसलाई दिने प्रस्ताव ।

यस अन्तर्गत सन् २०१४ देखि नै आफ्नो कब्जामा रहेको क्रिमिया र युक्रेनमाथि हमलापछि कब्जा गरेका डोनेत्स्क र लुहान्स्कलाई आफूसँग राख्नेछ।

यसको बदलामा रुस आफूले आंशिक कब्जा गरेका खेरसान र जापोरिज्जिया क्षेत्रबाट हट्नेछ।

अमेरिकी उपराष्ट्रपति जे.डी. भेन्सले फक्स न्युजसँग भनेका छन् कि, सम्झौता यस्तो हुनेछ कि ,जसले कसैलाई पनि धेरै खुसी पार्ने खालको हुनेछैन, बरु शान्ति कायम गर्ने खालको हुनेछ।