हङकङ र मकाउ विशेष प्रशासनिक क्षेत्र (एसएआर) का लागि नेपालका महावाणिज्यदूत डा. बिन्देश्वर प्रसाद लेखकले मकाउमा ‘मकाउ एसएआर’ का अर्थ तथा वित्तसचिव ताई किन इपसँग भेट गरेका छन्।
विहीबार (२९ साउन) भेटका क्रममा महावाणिज्यदूत डा. लेखकले मकाउ एसएआरका प्रमुख कार्यकारी श्री साम होउ फाईलाई पदबहालीको उपलक्ष्यमा बधाई ज्ञापन गरेका थिए।
‘मकाउ एसएआर’ लाई नेपाली कामदारहरूको लागि उत्पादनशील गन्तव्यको रूपमा रहेको उल्लेख गरेका थिए। डा. लेखकले नेपाली कामदारहरुको हितका विषयमा पनि छलफल गरेका थिए।
त्यस क्रममा नेपाली कामदारका परिवारका सदस्यका लागि लामो अवधिको भीसा सुविधा, व्यापार, लगानी र पर्यटनका विषयमा पनि छलफल भएको थियो।
सचिव ताईले स्थानीय अर्थतन्त्रमा नेपाली कामदारको योगदान महत्वपूर्ण रहेको बताउँदै प्रशंसा गरेका थिए। साथै नेपाल–मकाउ एसएआरबीच व्यापार तथा जनस्तरको आदान–प्रदान विस्तार गर्ने विषयमा इच्छासमेत व्यक्त गरेका थिए।
भेटवार्ताका क्रममा ताइका साथमा वाणिज्य तथा लगानी प्रवर्द्धन संस्थानका अध्यक्ष चे वेङ केओङ र लाओ मान तङ समेतउपस्थित रहेको हङकङस्थित नेपाली महावाणिज्य दूतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
विहीबार नै महावाणिज्यदूत डा. लेखकले मकाउ एसएआरस्थित चिनियाँ परराष्ट्र मन्त्रालयका आयुक्त लिउ स्यान्फासँगसमेत भेट गरेका थिए।
यसवर्ष नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव भएकाले यस विषयमा दुबैबीच शुभकामना सन्देश आदान–प्रदानसमेत भएको थियो।
महावाणिज्यदूत डा. लेखकले नेपालको ‘एक चीन सिद्धान्त’ प्रति प्रतिबद्धता व्यक्त गरेका थिए। चीनसँग नेपालको लामो सम्बन्ध रहेको बताउँदै यो सम्बन्धलाई विश्वासिलो सम्बन्धलाई उच्च मूल्याङ्कन गरिएको जानकारीपनि दिए।
डा लेखकलाई आयुक्त लिउले महावाणिज्यदूतको जिम्मेवारी प्राप्त गरेकोमा बधाई प्रदान गर्दै श्रम कूटनीति, व्यापार, लगानी तथा विद्यार्थी आदान–प्रदानमा सहकार्य गर्ने इच्छा व्यक्त गरेका थिए।
विज्ञप्तीमा उल्लेख भएअनुसार भेटमा आयुक्त लिउसँग कन्सुलर मामिला विभागका निर्देशक लिन रुहाई र सहचारी लिन हुआङ्बी सहभागी थिए।
नेपालको तर्फबाट महावाणिज्यदूत डा. लेखकसँग वाणिज्यदूत श्री सतीश गुरुङ सहभागी रहेको बताइएको छ।