आठौँ चरणको चिनियाँ भाषा कक्षा सुरु, पर्यटन सचिव र चिनियाँ राजदूतद्वारा उद्घाटन

नेपाली पर्यटन तथा अन्यक्षेत्रमा संलग्न व्यवसायीहरुका लागि चिनियाँ भाषा कक्षा शुक्रबारदेखि काठमाडौँमा सुरु भएको छ। यो भाषा कक्षा ६ महिनासम्म सन्चालन हुनेछ।

पर्यटन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला र नेपालका लागि चिनियाँ राजदूत चांग माओमिंगले नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा भाषा कक्षाको संयुक्तरुपमा गरेको उद्घाटन गरे।

काठमाडौँस्थित चिनियाँ राजदूतावास, नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद (एनसीसीइसी) र नेपाल पर्यटन बोर्डको संयुक्त व्यवस्थापनमा चिनियाँ भाषा कक्षा सुरु गरिएको हो।

परिषदका अध्यक्ष डा. हरिश्चन्द्र शाहका अनुसार शुक्रबारदेखि सुरु भएको भाषा कक्षा आठौँ चरणको हो र यसअघि सातौँ चरणका भाषा कक्षा सफलतापूर्वक सम्पन्न भइसकेका छन्।

कार्यक्रममा उद्घाटन मन्तव्य व्यक्त गर्दै पर्यटन तथा संस्कृति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले चिनियाँ भाषा कक्षाले नेपालको पर्यटन विकास र रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।

‘भाषा कक्षाको भूमिका भाषा सिकाउने कुरामा मात्र सीमित छैन, यसले नेपाल–चीन सम्बन्धमा पुलको काम समेत गर्छ’ सचिव निरौलाले भने, ‘यसले नेपाली जनशक्तिलाई विश्व पर्यटनसँग प्रतिस्पर्धा गर्नसक्ने स्थितिमा समेत पुर्याउनेछ।’

नेपालका लागि चिनियाँ राजदूत चांग माओमिंगले पनि चिनिया भाषा कक्षाले नेपालको पर्यटन विकास र दुई मुलुकबीचको सम्बन्धलाई अझ उचाईमा पुर्याउने विश्वास व्यक्त गरे।

नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी निर्देशक हिक्मतसिँह ऐरले शुक्रबारको कार्यक्रम भाषा कक्षाको उद्घाटनमात्र नभई नेपाल–चीनबीच महत्वपूर्ण साझेदारीको निरन्तरता भएको उल्लेख गरे।

‘नेपालको विकासमा चीनको भूमिका महत्वपूर्ण रहेको छ’ ऐरले भने, ‘पर्यटन–व्यापारका लागि चीनलाई महत्वपूर्ण ‘पावर हाउस’ का रुपमा रहेको छ। त्यसैले यस्ता किसिमका भाषा कक्षाहरु निकै महत्वपूर्ण छन्।’

शुक्रबार (मे ८ २०२६) देखि सुरु भएको चिनियाँ भाषा कक्षा ६ महिनासम्म सन्चालन भई ८ नोभेम्बरमा सम्पन्न हुनेछ।

अध्यक्ष डा. शाहका अनुसार, यसअघिका ७ वटा भाषा कक्षाबाट २ सय ८० भन्दा बढी विद्यार्थीले चिनियाँ भाषा सिक्ने अवसर प्राप्त गरेका छन्।

भाषा कक्षा आइतबारदेखि शुक्रबार साँझ ५ बजेदेखि ७ बजेसम्म हुनेछ। व्यावसायिक व्यक्तिहरुको समय मध्यनजर गर्दै यो समय तय गरिएको आयोजकहरुले बताएका छन्।