१२ औं खेलाडीका कप्तान र स्ट्राइकरलाई राप्रपाको ‘रेडकार्ड’

‘बाह्रौं खेलाडी’ पुस्तकका कारण नेपाली राजनीतिमा पनि ‘बाह्रौँ खेलाडी’ भनेर चिनिनु भएका पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र राप्रपा नेपालका अध्यक्ष कमल थार्पा हेरेर नै म सुरुमा राप्रपासँग नजिकिएको थिएँ। तर, अहिले उहाँहरुको स्थिति देखेर मलाई नै अचम्म र विरक्त लाग्छ।

राप्रपाको वर्तमान विधान जीवित रहेसम्म दुबै जना सम्मानित व्यक्तित्वका रुपमा त रहनुहुन्छ नै। विधानअनुसार राप्रपाका आजीवन केन्द्रीय सदस्य, संसदीय समिति तथा निर्देशन समितिका पनि आजीवन पदेन सदस्यपनि हुनुहुन्छ ।

राप्रपाका नयाँ पुस्ताले आफैं नै कसरी राप्रपाको कुन विधानको कुन धाराबाट केन्द्रीय सदस्य नियुक्त भए भन्ने थाहा राखेका छैनन्। यस्तो अवस्थामा उनीहरूलाई लेकेन्द्रबहादुर चन्द र कमल थापाको राप्रपामा स्थानबारे थाहा नहुनु अस्वाभाविक छैन। तथापि, राप्रपाका पुराना नेता, पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई चन्द र थापा बारे हेक्का नहुनु क्षम्य हुन सक्तैन।

यदि लोकेन्द्रबहादुर चन्द र कमल थापा राप्रपाका कुनै पनि कार्यक्रम, केन्द्रीय कार्य समिति, संसदीय समिति र निर्देशन समितिका बैठकहरूमा विधानसम्मत रूपमा सहभागी हुनआएमा उहाँहरूलाई कुनै पनि माइकालालले सहभागी हुनबाट रोक्न सक्तैन। यो कुरा राप्रपाका सबैलाई हेक्का हुनु जरुरी छ।

शालिनताका प्रतिक चन्दजी र ‘स्पोर्टी’ कमल थापालाई राप्रपाको सचिवालयले पार्टीका कार्यक्रमहरू, केन्द्रीय समिति, संसदीय समिति र निर्देशन समितिका बैठकहरूमा सहभागी हुन किन निम्ता नगरेको हो, मैले बुझेको छैन।

स्मरणीय छ, राप्रपामा कमल थापा अध्यक्ष रहुन्जेलसम्म पूर्व अध्यक्ष र पूर्व प्रधानमन्त्री चन्दलाई पनि पार्टी बैठकहरूमा आमन्त्रण गरी निर्णय प्रक्रियाहरूमा सामेल गर्ने गरिएको थियो।

यी दुबै व्यक्तित्व राप्रपाको चालु संशोधित विधान बमोजिम पार्टीको पूर्व केन्द्रीय अध्यक्षको हैसियतमा पार्टीमा आजीवन रूपमा अनुबन्धित हुनुहुन्छ।

राप्रपाको वर्तमान विधान कायम रहेसम्म उहाँहरूलाई चाहेर पनि पार्टी छोड्न, निस्काशन गर्न, पदमुक्त गर्न वा उहाँहरूले नै राजीनामा दिनसमेत विधानतः मिल्दैन। उहाँहरू पार्टीको आजीवन केन्द्रीय सदस्यबाट पृथक हुने भनेको मृत्युउपरान्त मात्रै हो, जून कल्पनासम्म गर्नु पनि अधर्म र अमानवीय हुन्छ।

राप्रपाको संस्थापना गरी हुर्काउने उहाँहरूको राप्रपा सँगको वैधानिक सम्बन्ध यथावत छ, जसलाई ‘अवैधानिक रूपमा’ कसैले पनि रद्द गर्न मिल्दैन। त्यो अधिकार राप्रपाका अध्यक्ष वा कार्य संपादन समिति वा पार्टी सचिवालय प्रमुखलाई समेत छैन।

वर्तमान विधान त्रुटीपूर्ण त छँदैछ, यसलाई विशेष महाधिवेशन वा महाधिवेशनले संशोधन नगरेसम्म कार्य संपादन समिति अथवा केन्द्रीय कार्य समितिले विधान प्रभावित हुने जुनसुकै निर्णय गरे पनि त्यो अवैधानिक हुन्छ। निर्वाचन आयोगले अवैधानिक कुरालाई वैधानिक भनी निर्णय गरेपनि त्यसलाई अन्ततः न्यायालयले अवैधानिक नै ठहर गर्नेछ।

लोकेन्द्रबहादुर चन्द र कमल थापाले पार्टीलाई एकताबद्ध गराएर लैजान कुनै भूमिका नखेल्नुको कारण के हो, उहाँहरूले स्पष्टिकरण दिनुपर्छ।

चन्द र थापा विधानसम्मत रूपमा राप्रपाको विधानको धारा २९ (२) को ‘च’ अनुसार आजीवन केन्द्रीय सदस्य, धारा ४१ ‘१’ को ‘ग’ र ‘घ’ अनुसार निर्देशन समितिको सदस्य एवं धारा ४२ (१) को ‘ड’ अनुसार संसदीय समितिको सदस्य अकाट्य रूपमा कायमै हुनुहुन्छ भन्ने कुरा प्रष्ट छ। उहाँहरूलाई राप्रपाबाट बहिर्गमन हुने वा अवकाश लिने धाराको विधानमा प्रावधान नै छैन।

राप्रपाको विधानमा त्रुटी हुनु र त्रुटीमाथि त्रुटी थप्दै लैजाँदा त्यसको प्रत्यक्ष असर पार्टी जीवनमा परिरहेको छ। निर्वाचन आयोगमा कमल थापालाई अध्यक्षमा ूफेरबदल मात्र गरिएको भन्ने अभिलेखीकरणले विधिवत् थापा राप्रपा मै रहेको समेत जनाउँछ। यो विषयलाई सर्वसम्मत रूपमा निर्क्योल गर्न पार्टीले किन ढिलाई गरेको हो?

एक सय ९९ जना निर्वाचित वा मनोति केन्द्रीय सदस्य बाहेक थप मनोनित गरिएका रवीन्द्र मिश्र्, म लगायत नयाँ पुस्ताका भनिएका (निर्वाचन आयोगमा विधिवत् अभिलिखित नगरिएका) कुनैपनि केन्द्रीय सदस्य सहभागी हुने कार्य संपादन समिति वा केन्द्रीय समितिका बैठकहरूको वैधानिकता रहने कि नरहने भन्ने विवाद आउन सक्छ।