सूचना र सञ्चार प्रविधि, आइसिटी अथवा आइटी सुशासनका लागि मात्र होइन, विकास र मानिसको दिनचर्याका लागि अपरिहार्य भइसकेको छ। हामी आइटीविना चल्नै नसक्ने अवस्थामा पुगिसकेका छौँ। पहिलो कुरा, आइटीको प्रयोग देशलाई सुव्यवस्थित बनाउन, समाजलाई सुव्यवस्थित बनाउन, मानव समाजलाई अझ सभ्य, अझ परिष्कृत, अझ उन्नत बनाउन र देशमा सुशासन अझ सुदृढ गर्नका लागि हो।
हामी आइटीको प्रयोग सुशासनको सहयोगीको रूपमा, समाजको सुप्रबन्धका लागि सहयोगीको रूपमा, भ्रष्टाचार नियन्त्रणका लागि सहयोगीको रूपमा र जनतालाई सेवा सुविधा पुर्याउने कुरामा सहयोगीको रूपमा गर्न चाहन्छौँ।
आइटी एउटा सोख मात्रै होइन, अनिवार्य आवश्यकता बनेको छ। आइटीले हाम्रो विकासलाई तीव्रता दिनुपर्दछ । टेक्नोलोजी भनेकै त्यै हो, जसले विकासलाई व्यापकता र तीव्रता दिन्छ। नवीनता त्यसको लागि आवश्यकता छ। यसले समाजमा पारस्परिक रूपमा मानवीय भावना, पारस्परिक प्रेम, सद्भाव, सहिष्णुताको विकासका निम्ति सहयोग गर्नुपर्दछ। हामीले सूचना प्रविधिलाई त्यसै हिसाबले प्रयोग गर्नुपर्दछ।
यही कुरालाई ध्यानमा राखेर हामीले आइटीलाई डिजिटल नेपालको नाराका साथ अगाडि बढाएका छौँ। सिङ्गै देशलाई डिजिटलाइज्ड गर्ने र त्यसको अधिकतम सदुपयोग गर्ने हो। त्यसैअनुसार अघिल्लोपल्ट प्रधानमन्त्री हुँदा नै डिजिटल नेपाल फ्रेमवर्क बनाएका थियौँ।
अहिलेसम्मका अनुभव र प्रगतिहरूलाई हेरेर हामीले ‘फ्रेमवर्क टु जिरो’ अर्को चरणमा प्रवेश गरेका छौँ र त्यस फ्रेमवर्कलाई अगाडि बढाउँदैछौँ। प्रविधिको यस प्रयोगलाई शिक्षा, स्वास्थ्यको क्षेत्रमा र अरु विभिन्न क्षेत्रहरूमा पनिसदुपयोग गरेर समाजलाई लाभान्वित गराउने पक्षमा म आफैँ पनि क्रियाशील छु। यसका लागि सरकार पनि क्रियाशील छ। हामी हरेकले यसकालागि प्रयास गर्नुपर्दछ।
गत वर्ष नेपालको एसइईको परीक्षाको नतिजामा पास हुनेको संख्या ४८ प्रतिशतभन्दा कम थियो। गत वर्षबाट हामीले सुरुदेखि नै यस प्रतिशतलाई वा ४८ भन्दा कम रहेको प्रतिशतलाई ७० प्रतिशत पुर्याउने भनेका थियौँ। यसमा पछि केही संशोधन गर्नुपर्यो। हामी ६० देखि ६५ प्रतिशतसम्म पुर्याउने लक्ष्यका साथ केही युवा साथीहरूले अनलाइन कक्षाको सुरुवात गर्नुभयो, त्यसका लागि अभियान नै चलाउनुभयो।
यसको उद्देश्य देशव्यापी रूपमा विभिन्न ठाउँका विद्यालयहरुमा गएर, त्यहाँका प्रिन्सिपल, शिक्षक, विद्यार्थी र अभिभावकहरूलाई प्रेरित गर्नु हो। देशभरि दुई सयभन्दा बढी मेन्टर र केही दर्जन शिक्षकहरू राखेर एकैठाउँ काठमाडौँबाट कक्षाहरू सञ्चालन गर्नुभयो। पछि हामीले ‘६० देखि ६५ प्रतिशतको बीचमा नतिजा निकाल्छौँ’ भन्यौँ। यो युवाहरुको नितान्त निजी प्रयास हो। त्यसमा सरकारी सहयोग भनेको सञ्चार मन्त्रालयले उपलब्ध गराएको सहयोग हो। युवाहरूले जहाँ सेवा पुर्याउँछौँ भनेका थिए, मन्त्रालयले त्यहाँ इन्टरनेट सेवा उपलब्ध गराइदियो।
यस किसिमको प्रयासले ६२ प्रतिशत उत्तीर्ण भए। ४८ बाट ६२ प्रतिशत अथवा १४ प्रतिशतका दरले एसइईको नतिजामा उन्नति भयो। यो प्रगति हामीले देखेका छौँ। सानो खर्चबाट देशभरिको लाखौँ विद्यार्थीहरूको संख्यामध्ये १४ प्रतिशतले उत्तीर्ण हुनेको ठूलो उपलब्धि हो। यसरी नै साना अस्पतालहरुले ठूला अस्पतालबाट अनलाइन स्वास्थ्य, अनलाइन स्वास्थ्य परीक्षण, अनलाइन उपचारजस्ता विशेषज्ञ सेवाहरू लिन थालेका छन्। हामी आफैँले प्रत्यक्ष यी केही वर्षयता यस्तो कुराको प्रत्यक्ष अनुभव गरेका छौँ।
म प्रधानमन्त्री बनेपछि यो एक वर्षको अवधिमा हामीले असाधारण ढङ्गले आइटीको क्षेत्रमा प्रगति गरेका छौँ। हामीसँग ‘डेमोग्राफिक डिभिडेन्ड’ सबल छ। त्यसलाई हामी यस क्षेत्रमा प्रयोग गर्न सक्छौँ। हाम्रा युवाहरू ‘डिजिटल फ्रेन्डली’ छन्। डिजिटल क्षेत्रमा, आइटी सेक्टरमा उनीहरू शिक्षित छन्। विभिन्न ढङ्गले उनीहरु नलेज (ज्ञान) लिन र सम्प्रेषण गर्न सक्छन्।
त्यसकारण नवप्रवर्तन, अनुसन्धानका सम्बन्धमा आइटीको प्रयोगले हामीलाई धेरै ठूलो मद्दत गरेको छ। हामी समाज परिवर्तन, मानव विकास अर्थतन्त्र विकास, शिक्षा, स्वास्थ्य र सबै समाजिक क्षेत्रको विकासका लागि र समाजमा जनतालाई सेवा सुविधा पुर्याउन यी कुराहरूमा काम गरिराखेका छौँ।
आइटीको प्रयोग हामीले जनतालाई सेवा पुर्याउन गरिरहेका छौँ। यसबाट अनेक पक्षहरूमा सहयोग पुगेको छ। यससँगसँगै यसमा केही कमजोरी, विकृतिपनि होलान्। विज्ञान–प्रविधिको प्रयोग ठीक ढङ्गले हुन सकेन भने त्यसबाट हानीपनि हुनसक्छ। जस्तो, ठीक ढंगले मेसिन चलाउन जानिएन भने त्यसले हात काटिदिन्छ। आइटीको प्रयोग पनि मेसिनजस्तै हो। ठीक ढङ्गले चलाउन नजान्दा त्यसबाट क्षतिपनि हुनसक्छ।
अहिलेको दुनियाँमा सूचना प्रविधिको राम्ररी सदुपयोग मात्रै भएको छ भन्न सकिँदैन। खासगरी सूचनाको क्षेत्रमा ‘मिस इन्फर्मेशन’, ‘डिस इन्फर्मेशन’ जस्ता कुराले केही क्षति गरेको छ। समाजमा अलिक विकृति बढाउने कामपनि भइरहेका छन्। यस्ता कुराहरूप्रति हामी सजग छौँ। स्वतन्त्र प्रेस,सूचनाको स्वतन्त्रता जस्ता कुरा आवस्यक छन्। तर अनियन्त्रित र समाजलाई हानी गर्ने गरी होइन। समाजलाई फाइदा पुग्ने गरी यी कुराहरू हुनुपर्दछ।
समाजका लागि आइटी, विकासका लागि आइटी, राष्ट्रिय एकताका लागि आइटी, विश्व शान्तिको पक्षमा आइटी, सूचना मनोरञ्जनका लागि आइटी, शिक्षाका लागि आइटी, स्वास्थ्यको लागि आइटीको आवस्यकता छ। त्यसैले, आइटीको सदुपयोग पनि राम्रोसँग हुनुपर्छ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ लाई हामीले हाम्रो राष्ट्रिय आकांक्षा हो भनेका छौँ। यो आकांक्षा परिपूर्ति गर्नेगरी गन्तव्य तय गरेर हिँडेका छौँ। त्यसको प्राप्तिका लागि सुशासन र विकास, तीव्रता, सुदृढता र तीव्रताका साथ अगाडि बढाउन जरुरी छ। त्यसमा आइटीको भरपूर मद्दत लिन जरुरी छ। यो अत्यन्तै उपयोगी छ।
देश, जनता, समाज र मानव जातिका लागि यसको सदुपयोग गर्ने दिशामा हामी छौँ।
(१ भदौ २०८२ मा राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको विश्व आइटी सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गरिएको सम्बोधनका आधारमा यो लेख तयार पारिएको हो– सम्पादक)