सन् २०२६ मा प्रवेश गर्दा विश्व गहिरो अनिश्चितताले थिचिएको अवस्थामा छ। युद्धहरू निरन्तर जारी छन्। प्रमुख शक्तिहरूबीचको आपसी विश्वास कमजोर बनेको छ, बहुपक्षीय संस्थाहरू दबाबमा परेका छन् र आर्थिक खण्डीकरणले विश्वव्यापी विकासलाई खतरामा पारेको छ।
मानवजाति पुनः एक चौबाटोमा उभिएको छ, एउटा बाटो टकराव, बहिष्कार र शून्य-योग (जीरो सम) प्रतिस्पर्धातर्फ जान्छ भने अर्को बाटो संवाद, सहकार्य र साझा सुरक्षातर्फ अग्रसर हुन्छ। यही निर्णायक घडीमा शताब्दीयौंदेखिको सभ्यतागत बुद्धिमत्तामा आधारित र समकालीन दूरदर्शी नेतृत्वद्वारा निर्देशित चीनको कूटनीति विश्व शान्ति, सन्तुलन र विकासप्रति प्रतिबद्ध स्थिरतावादी शक्तिका रूपमा उदाएको छ।
२०२६ का प्रारम्भिक हप्ताहरूमा चिनियाँ राष्ट्रपति सी चिनफिङले छिमेकी क्षेत्रहरू युरोप, उत्तर अमेरिका तथा ग्लोबल साउथसँग गरेका सघन द्विपक्षीय र बहुपक्षीय कूटनीतिक सम्पर्कहरूले अन्तर्राष्ट्रिय स्तरमा व्यापक ध्यान खिचेका छन्।
यी सम्पर्कहरू केवल पृथक कूटनीतिक गतिविधि मात्र होइनन् बरु चीनको इतिहास, दर्शन र दीर्घकालीन रणनीतिक सोचबाट निर्देशित एक सुसंगत विश्वदृष्टिको प्रतिबिम्ब हुन्। राष्ट्रपतिको नेतृत्वमा चीनको कूटनीति नयाँ अध्यायतर्फ अघि बढिरहेको छ, जहाँ प्रभुत्व होइन सामञ्जस्य, टकराव होइन, सहअस्तित्व र बहिष्कार होइन, मानवजातिको साझा भविष्यको समुदाय निर्माणलाई लक्ष्य बनाइएको छ।
कूटनीतिमा सभ्यतागत दृष्टिकोण
चिनियाँ कूटनीति देशको सभ्यतागत सम्पदाबाट गहिरो रूपमा प्रभावित छ। हजारौँ वर्षदेखि चिनियाँ राजनीतिक चिन्तनले ‘एकरूपता बिनाको सामञ्जस्य’, आपसी सम्मान, नैतिक उत्तरदायित्व र शान्तिपूर्ण सहअस्तित्वमा जोड दिँदै आएको छ। हे एर बु थोङ (विविधताभित्र सामञ्जस्य) र थ्यान स्या (सबैको साझा संसार) जस्ता अवधारणाहरूले आज पनि चीनको आधुनिक परराष्ट्र नीतिको सोचलाई आकार दिइरहेका छन्।
अन्तर्राष्ट्रिय सम्बन्धलाई अपरिहार्य द्वन्द्वको रणभूमिका रूपमा हेर्नुको साटो चीनले कूटनीतिलाई आपसी हितहरूको सन्तुलन, मतभेदको व्यवस्थापन र साझा आधारको विस्तारको प्रक्रियाका रूपमा लिने गरेको छ।
राष्ट्रपति सीले यस दार्शनिक उत्तराधिकारलाई व्यवहारिक कूटनीतिमा निरन्तर रूपान्तरण गर्दै आएका छन्। मानवजातिका लागि साझा भविष्यको समुदाय निर्माण गर्ने उनको दृष्टिकोण केवल भाषणात्मक आदर्शवाद होइन, बरु यो विखण्डित विश्व व्यवस्थाप्रति संरचनात्मक उत्तर हो। यसले प्रभुत्ववादी राजनीतिलाई चुनौती दिँदै समानता, सार्वभौमिकताको सम्मान र साझा विकासमा आधारित सहकार्यको प्रस्ताव राखेको छ।
नजिकका विश्वव्यापी साझेदारीहरूको निर्माण
सन् २०२६ को प्रारम्भमा चीनको कूटनीतिक कार्यतालिकाले यही समावेशी दृष्टिकोणलाई प्रतिबिम्बित गर्छ। नयाँ वर्षको पूर्वसन्ध्यामा राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शुभकामना आदान–प्रदान गरेका थिए। त्यसक्रममा नयाँ युगका लागि चीन–रुस व्यापक रणनीतिक समन्वय साझेदारीमा वर्षभरि भएको ठोस प्रगतिको समीक्षा गरे। आपसी सम्मान र गैर–गठबन्धनमा आधारित यो सम्बन्धले रणनीतिक स्थायित्वमा योगदान पुर्याउँदै अन्तर्राष्ट्रिय राजनीतिमा गुटगत टकरावको प्रतिरोध गर्दछ।
जनवरी ५ मा सीले कोरियाली गणतन्त्र (दक्षिण कोरिया० का राष्ट्रपति ली जे म्युङलाई स्वागत गरे, जो सन् २०२६ मा चीन भ्रमण गर्ने पहिलो विदेशी राष्ट्रप्रमुख थिए। दुई राष्ट्रपतिबीचको भेटबाट छिमेक सम्बन्धलाई दुबै पक्षले दिएको महत्त्व स्पष्ट हुन्छ।
नजिकका छिमेकी र आर्थिक साझेदारका रूपमा चीन र कोरियाली गणतन्त्रले नियमित संवाद, जनस्तरीय आदान–प्रदान र व्यवहारिक सहकार्य आवश्यक रहेको कुरामा पुनः प्रतिबद्धता जनाए। यस्तो कुराले क्षेत्रीय शान्ति प्रतिरोधबाट होइन, संवादमार्फत् निर्माण हुन्छ भन्ने चीनको विश्वासलाई देखाउँछ।
त्यही दिन सीले आयरल्याण्डका ताओइसेख (प्रधानमन्त्री) माइकल मार्टिनसँग भेट गरेका थिए। यो भेट १४ वर्षपछि कुनै आयरिश प्रधानमन्त्रीको पहिलो चीन भ्रमण थियो। छलफलमा चीनले युरोपसँग रणनीतिक संवाद, राजनीतिक विश्वास र पारस्परिक लाभमा आधारित सहकार्यका आधारमा सम्बन्ध विकास गर्ने दृष्टिकोण प्रस्तुत गर्यो। आयरल्याण्डको चीनसँग सम्बन्ध अझ गहिरो बनाउने प्रतिबद्धताबाट युरोपले रणनीतिक स्वायत्तता र सन्तुलित विश्व संलग्नता खोजिरहेको प्रष्ट हुन्छ। यसले चीन–ईयू सम्बन्धलाई नयाँ गति दिएको छ।
चीनको पहुँच एटलान्टिक पारि र आर्कटिक वृत्तसम्म फैलिएको छ। जनवरी १६ मा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीको भ्रमण—आठ वर्षपछि भएको पहिलो क्यानाडाली प्रधानमन्त्रीस्तरीय भ्रमणले द्विपक्षीय सम्बन्धलाई स्थिर र दीगो विकासको मार्गमा अघि बढाउने रचनात्मक काम गर्यो।
यसैबीच, फिनल्यान्डका प्रधानमन्त्री पेटेरी ओर्पोको भ्रमणले चीनलाई अपरिहार्य आर्थिक तथा कूटनीतिक साझेदारका रूपमा हेर्ने युरोपेली चासो बढ्दो रहेको संकेत गर्दछ।
ग्लोबल साउथप्रति चीनको अटल ऐक्यबद्धता पनि उत्तिकै महत्त्वपूर्ण छ। चीन र अफ्रिकाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठ मनाइँदै गर्दा राष्ट्रपति सीले चीन–अफ्रिका जनस्तरीय आदान–प्रदान वर्षलाई पठाएको बधाई सन्देशले समानता, सम्मान र साझा आधुनिकीकरणमा आधारित साझेदारीलाई पुनः पुष्टि गर्यो। चिनियाँ विदेशमन्त्री वाङ यीको वर्षको पहिलो विदेश भ्रमण अफ्रिकाबाटै हुनु, ३६ वर्षदेखि निरन्तर जारी परम्पराले चीनको निरन्तरता र इमान्दारिताको प्रतीकात्मक महत्वलाई झल्काउँछ।
ल्याटिन अमेरिकाप्रतिको चीनको संलग्नता पनि यही सिद्धान्तमा आधारित छ। ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँगको सम्वादमा सीले चीन–ल्याटिन अमेरिका तथा क्यारिबियन (एलएसी–ल्याक) का देशहरूका लागि राम्रो मित्र र साझेदार बन्ने तथा चीन––ल्याकले साझा भविष्यको समुदायलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए। यी भेटघाटहरुले विकासशील देशहरूको आवाज सशक्त बनाउने र सन्तुलित विश्व व्यवस्था प्रवर्द्धन गर्ने चीनको प्रयास प्रष्ट पार्छन्।
खुलापन र साझा विकासप्रतिको प्रतिबद्धता
संरक्षणवाद र आर्थिक दबाबले भरिएको युगमा चीनको कूटनीतिले यो स्पष्ट सन्देश दिएको छ, खुलापन र सहकार्य नै दीर्घकालीन रूपमा दिगो बाटो हो। सन् २०२६ को प्रारम्भमा सीका कूटनीतिक सहभागिताहरुले उच्चस्तरीय खुलापन र दुबै पक्षको जीत हुने अवधारणाप्रतिको चिनियाँ प्रतिबद्धतालाई बलियो रूपमा पुनः पुष्टि गरेको छ।
चीन आफ्नो १५ औँ पञ्चवर्षीय योजनाको कार्यान्वयन चरणमा प्रवेश गर्दा चीनले सिर्जना गरेको अवसरप्रति विश्वव्यापी आकर्षण स्पष्ट देखिन्छ। नवप्रवर्तन, हरित विकास र साझा समृद्धिमा आधारित चिनियाँ आधुनिकीकरणले विश्वभरिका साझेदारहरूलाई ठोस रुपमा लाभ प्रदान गरिरहेको छ।
चीन अझ फराकिलो गरी खुला हुने राष्ट्रपति सीको आश्वासनले रणनीतिक आत्मविश्वास र विश्व विकासप्रतिको उत्तरदायित्व झल्काउँछ।
जनस्तरीय सम्बन्धको सुदृढीकरण
राज्य–राज्य सम्बन्धभन्दा चिनियाँ कूटनीतिले जनतालाई केन्द्रमा राख्ने गरेको छ। सीले बारम्बार जोड दिने गरेका छन् कि राष्ट्रहरूबीचको मित्रता जनताबीचको आपसी समझदारीमा आधारित हुने गर्छ। त्यसैले सांस्कृतिक आदान–प्रदान, युवा सहभागिता र शैक्षिक सहकार्य चीनको परराष्ट्र नीतिका प्रमुख आधारस्तम्भ हुन्।
सन् २०२६–२७ लाई ‘चीन र रुस शिक्षा वर्ष’ का रूपमा घोषणा गरिएको छ, जुन आपसी समझदारीमा गरिएको दीर्घकालीन लगानी हो। कोरियाली गणतन्त्रसँग सीले युवा, सञ्चारमाध्यम, खेलकुद, थिंकट्यांक र स्थानीय सरकारहरूजस्ता क्षेत्रमा जनस्तरीय आदान–प्रदान बढाउन आह्वान गरेका थिए।
मार्टिनसँगको भेटमा सीले थप आयरिश युवाहरूलाई अध्ययन र सांस्कृतिक आदान–प्रदानका लागि चीन आउन हार्दिक स्वागत गरे।
यो भन्दापनि प्रतीकात्मक कुरा त यो छ कि, अमेरिकी युवा प्रतिनिधिमण्डलको पत्रको जवाफमा राष्ट्रपति सीले भविष्यको स्थायी विश्व युवा पुस्तामाथि निर्भर रहेको विश्वास प्रकट गरे। अमेरिकी युवाहरुलाई मित्रताका दूत बन्न प्रोत्साहन गरे। यसटबाट प्रष्ट हुन्छ, चीनले छोटो राजनीतिक चक्रभन्दा दीर्घकालीन शान्तिमा लगानी गरिरहेको छ।
मानव सम्बन्धमा आधारित यो दृष्टिकोणले चिनियाँ सभ्यताको समावेशी स्वभावलाई प्रतिबिम्बित गर्छ, जहाँ विविधता, सिकाइ र सहअस्तित्वलाई महत्व प्रदान गरिन्छ। गलत सूचना र सांस्कृतिक दूरीले भरिएको आजको विश्वमा संवाद र पारस्परिक सिकाइका लागि चीनको आग्रह समयोचित र आवश्यक दुबै छ।
साझा भविष्यका लागि बहुपक्षीयताको प्रवर्द्धन
आजको विश्व व्यवस्था गम्भीर विखण्डनको सामना गरिरहेको छ। तर चीनले निरन्तर रूपमा आफूलाई साँचो बहुपक्षीयताको रक्षकका रूपमा प्रस्तुत गर्दै आएको छ। सन् २०२६ को नयाँ वर्ष सन्देशमा सीले विश्वव्यापी रुपमा अशान्ति रहेको स्वीकार गरे र शान्ति र विकासका लागि सबै देशसँग सहकार्य गर्न चीनको प्रतिबद्दता पुनः दोहोर्याए।
चीनको दृष्टिकोण स्पष्ट छ, सार्वभौमिकताको सम्मान, अन्तर्राष्ट्रिय कानुनको पालना र संयुक्त राष्ट्रसंघको घोषणापत्रका उद्देश्य तथा सिद्धान्तहरूप्रति प्रतिबद्धता। राष्ट्रपति सीले बारम्बार जोड दिएका छन् कि प्रमुख शक्तिहरूले एकपक्षीय रुपमा एजेन्डा थोपर्नु होइन, बरु सकारात्मक उदाहरण प्रस्तुत गर्ने विशेष जिम्मेवारी वहन गर्नुपर्छ।
सम्बद्ध विच्छेद (डिकप्लिङ), टकराव र शून्य–योग खेलको वकालत भइरहेका बेला चीनले फरक तर्क प्रस्तुत गरेको सहकार्य र साझा सुरक्षा। सीले भनेझैँ विभाजनको कुनै भविष्य छैन। अनि, ‘‘जंगलको नियम’ तर्फ फर्किनु न स्वीकार्य छ, न त यो दीगो नै हुन्छ।
सनु २०२६ को प्रारम्भसँगै चिनियाँ विशेषतासहितको प्रमुख देशसम्बद्ध कूटनीतिले स्थिर र आत्मविश्वासी मार्ग तय गरेको छ। शताब्दी–पुरानो बुद्धिमत्ता र समकालीन रणनीतिक दृष्टिकोणमा आधारित चीनले अशान्त विश्वमा स्थायित्व भर्ने कार्यको थालनी गरेको छ। चिनियाँ कूटनीतिले आशा मात्र होइन, सहकार्य, विकास र शान्तिका लागि व्यवहारिक मार्गहरू पनि प्रस्तुत गरेको छ।
(पूर्व पाकिस्तानी कूटनीतिज्ञ जामिर अहमद अवान एक चीनविज्ञ पूर्व पाकिस्तानी कूटनीतिज्ञ हुनु। उनी इस्लामाबाद (पाकिस्तान) स्थित ग्लोबल सिल्क रुट एलाइन्सका संस्थापक अध्यक्षपनि हुन्। यो सामाग्री हामीले पिपुल्स डेलीको अनलाइन संस्करणबाट लिएका हौँ।– सम्पादक)