मासु स्वादिलो बनाउन भालेको ‘अप्रेसन’, वर्षेनी मनग्गे आम्दानी

घोराही उपमहानरपालिका-१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन हो। भालेको स्याहार र हेरचाहमा बित्ने गर्छ, उनको दैनिकी। बधिया भाले बिक्रीबाट उनले राम्रै आम्दानी गरेकी छन्।

‘स्थानीय कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर उसको अण्डकोष निकालेपछि भाले बधिया बन्छ’, उनले भनिन्, ‘यो सीप सिकेपछि मैले आफँै यो विधिको सुरवात गरेर भाले बधिया बनाउने काम सुरु गर्न थालेँ।’

उनका अनुसार बधिया भालेको मासु बढी स्वादिलो हुने भएकाले पनि यसको खोजी व्यापक बन्दै गएको छ।

आठ वर्षदेखि व्यावसायिक रूपमा बधिया भलेपालन गर्दै आएका किसान चौधरीले आगामी दिनमा यसलाई बढाउँदै लैजाने योजना बनाएका छन्। अहिले आफ्नो फार्ममा ६० भन्दा बढी भाले रहेको उनी बताउँछनु।

एउटा भालेलाई रु तीन हजार भन्दा बढीमा बिक्री गर्छन्। बधिया भाले सामान्यतया दुई, साढे दुई किलोको हुने गर्छ।

यो व्यवसायबाट वार्षिक रूपमा चारदेखि छ लाख रुपियाँको कारोबार गर्ने र घरखर्च चलाएर आधा रकम बचत हुँदै आएको उनी बताउँछन्।

यो व्यवसायका लागि उनी साना भाले चल्ला ल्याउँछन्। तिनै भालेको स्याहार र हेरचाहमा उनको दिन बित्ने गर्छ। चल्ला किन्न उनले कुखुरा पाल्ने स्थानीय किसानसँग सम्पर्क गर्ने गरेका छन्। यसरी किनेका भाले चार महिनापछि बधिया बनाउने गर्छन्।

खुला ठाउँ भएका गाउँघरमा थोरै जमिन भए पनि बधिया भाले पाल्न सहज हुने गरेको छ। सजिलो र कम लगानीमा गर्न सकिने भएकाले यो आकर्षक व्यवसाय बनेको छ।

जानकीले ‘दङ्गाली पोल्टी फार्म’ नै दर्ता गरेकी छन्, जसमा उनलाई श्रीमानको पनि सहयोग मिलेको छ।

‘बधिया भालेको व्यावसायिक पालनबाट राम्रो आम्दानी पनि हुँदै आइरहेको छ, त्यसकारण विगत लामो सयमदेखि निरन्तरता दिँदै आइरहेका छौँ’ जानकी भन्छिन्, ‘सबै काम आफैँले जानेपछि पछिल्लो समय झन् सहज भएको छ, बिक्रीका लागि पनि कुनै समस्या छैन।’

अघिपछिभन्दा चाडपर्वको समयमा बधिया भालेको माग अझ धेरै हुने गरेको उनी बताउँछिन्।

‘साना चल्ला हुर्काएर, बधिया बनाएर बेच्दा दोब्बर मूल्य पाउन सकिन्छ’, उनी थप्छिन्, ‘यो व्यवसाय गरेदेखि आयआर्जनका लागि अन्य काम खोज्नुपरेको छैन।’ उनले उत्पादन गरेका बधिया भाले काठमाडौँ, पोखरालगायतका ठाउँसम्म पुग्ने गरेको छ।

जानकीमात्र होइन, जिल्लाका अधिकांश किसान बधिया भालेपालनमा सक्रिय छन्। बजारमा माग उच्च र पर्याप्त मूल्य पाउने भएका कारण पछिल्लो केही वर्षयता बधिया भाले दाङको प्रमुख पहिचान नै बन्दैछ। रासस