राजदूत रुपाखेतीद्वारा चेक गणतन्त्रका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

चेक गणतन्त्रका लागि नेपालका गैरआवासीय राजदूत डा. शैल रुपाखेतीले त्यहाँका राष्ट्रपति पेत्र पाभेल समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।

डा. रुपाखेती जर्मनीका लागि नेपालका आवासीय राजदूत हुन्। चेक गणतन्त्र जर्मनीस्थित नेपाली राजदूतावासले हेर्दै आएको छ।

चेक गणतन्त्रको राजधानी प्रागस्थित राष्ट्रपति भवन (प्राग कासल) को ‘थ्रोन हल’ मा आयोजित विशेष समारोहमा राजदूत रुपाखेतीले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्।

ओहोदाको प्रमाणपत्र बुझाउनुअघि राष्ट्रपति भवनमा नेपालको राष्ट्रिय गान बजाइएको थियो र राजदूत रुपाखेतीको सम्मानमा ‘गार्ड अफ अनर’ दिइएको थियो।

ओहोदाको प्रमाणपत्र पेश गरेपछि राजदूत रुपाखेतीले नेपाली राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट चेक गणतन्त्रका राष्ट्रपति पाभेलको व्यक्तिगत स्वास्थ्य र खुशीका साथै चेक गणतन्त्रका जनताको निरन्तर प्रगति र समृद्धिको शुभकामना व्यक्त गरेका थिए।

त्यसक्रममा रुपाखेतीले नेपाल र चेक गणतन्त्रबीचका विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यका सम्भावनाबारे प्रकाश पारेका थिए र दुई देशबीचको सम्बन्ध अझ विविधतापूर्ण र दीगो हुने विश्वास व्यक्त गरेका थिए।

चेक गणतन्त्रका राष्ट्रपति पाभेलले राजदूत रुपाखेतीलाई बधाई ज्ञापन गर्दै नेपालका राष्ट्रपति रामचन्द्र पौडेलप्रति व्यक्तिगत रुपमा शुभकामना प्रकट गरेका थिए।

नेपाली जनताको शान्ति, प्रगति र समृद्धिको कामना गर्दै राष्ट्रपति पाभेलले आफ्नो कार्यकालमा दुई देशबीचको मित्रतापूर्ण सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरेका थिए।

चेक गणतन्त्रका उप–विदेशमन्त्री, राष्ट्रपति कार्यालयका वरिष्ठ अधिकारीहरू र विदेश मन्त्रालयका अधिकारीहरूको सो समारोहमा उपस्थिति रहेको बर्लिनस्थित नेपाली राजदूतावासले जारी गरेको विज्ञप्तीमा जनाइएको छ।

ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रममा राजदूत डा. रुपाखेतीका साथ श्रीमति डा. इन्दिरा पौड्याल र बर्लिनस्थित नेपाली दूतावासका उपनियोग सागर प्रसाद फुयाँलपनि सहभागी थिए।

प्रागको चेर्निन महलमा आयोजित छुट्टै भेटमा राजदूत रुपाखेतीले चेक गणतन्त्रका प्रोटोकल निर्देशक मार्केटा सार्बोकोभा र गैर-युरोपेली मुलुकहरूसम्बन्धी मामिला हेर्ने उपमहानिर्देशक मारेक लिब्रिक्कीसँग पनि भेट गरेका थिए। ती भेटहरुमा आपसी चासोका विषयबारे छलफल भएको दूतावासले जनाएको छ।