भियतनामकी उपराष्ट्रपतिसँग परराष्ट्रमन्त्री डा. राणाका तीन अपेक्षा

भियतनामकी उपराष्ट्रपति भो थी आन सुआनसँगको पहिलो औपचारिक शिष्टाचार भेटवार्ता परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले गरेकी छन्।

उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आएकी उपराष्ट्रपति सुआनसँग भेटका क्रममा परराष्ट्रमन्त्री डा. राणाले भियतनामसँग नेपालले गरेका तीन अपेक्षा सुनाएकी छन्।

उपराष्ट्रपति सुआनसँग मन्त्री डा राणाले सुनाएको नेपालको पहिलो अपेक्षा थियो, भियतनामबाट भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलमा उडानको वातावरण निर्माण।

यस्तो उडानको वातावरण निर्माणका लागि उनले उपराष्ट्रपति सुआनसँग आग्रह गरेकी छन्।

दोस्रो हो, सन् २०२६ पछि अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिको तयारीमा रहेको नेपाललाई त्यसपछिको अवस्थामा आवश्यक सहयोगको आग्रह।

उपराष्ट्रपति सुआनमार्फत् परराष्ट्रमन्त्री डा. राणाले सुनाएको तेस्रो आग्रह संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्य र आर्थिक तथा सामाजिक परिषदको सदस्यमा सहयोग सम्बन्धी थियो।

नेपालले सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषदको सदस्य र २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद सदस्यमा उम्मेदवारी दिएकोक छ। मन्त्री राणाले त्यसमा सफलताका लागि उपराष्ट्रपतिमार्फत् सहयोगको आग्रह गरेकी हुन्।

परराष्ट्रमन्त्री डा. राणाको सचिवालयले बताए अनुसार उपराष्ट्रपति सुआनले दुबै परिषदको सदस्यमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

उपराष्ट्रपति सुआनसँग परराष्ट्रमन्त्री डा. को भेटमा नेपाल भियतनाम सम्बन्धका विविध आयामहरुका साथै द्विपक्षीय हित र आपसी चासोका विषयहरुमा कुराकानी भएको थियो।

त्यस क्रममा मन्त्री डा. राणाले पछिल्लो समय तीव्र आर्थिक विकासका लागि भियतनामलाई बधाई दिँदै यो आर्थिक विकासबाट अन्य देशले पनि सिक्नसक्ने बताएकी थिइन्।

नेपाल र भियतनामबीचको सांस्कृतिक सम्बन्धलाई उजागर गर्नुपर्ने र बौद्ध धर्म दुबै देश र जनताका बीचको सम्बन्ध विस्तारको एक सबल कडी रहेको डा. राणाको कथन थियो।

उनले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणमा धेरै भियतनामी नागरिकहरू आउने गरेको उल्लेख गरिन्। सांस्कृतिक पर्यटन प्रवर्धनका क्षेत्रमा दुवै देश मिलेर काम गर्न सकिने पनि बताइन्।

पछिल्ला बर्षहरुमा नेपाल र भियतनामका पर्यटकहरुको सङ्ख्या उल्लेखनीय रुपमा बृद्धि भएको जानकारी पनि उनले भियतनामी उपराष्ट्रपति सुआनलाई गराइन्।

यो अवसरको उपयोग गर्दै दुवै देश पर्यटन क्षेत्रको प्रवर्धनमा सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणापनि उनको थियो।

मन्त्री डा. राणाले नेपाल र भियतनाम द्विपक्षीय र बहुपक्षीय तहमा एकअर्कालाई सहयोग र समर्थन गर्दै आएका मुलुक भएको उल्लेख गरेकी थिइन्। दक्षिण–दक्षिण सहयोग, जलवायु परिवर्तनजस्ता विश्वव्यापी एजेण्डाहरूमा पनि आगामी दिनमा सहकार्यका साथ अघि बढ्नुपर्ने विषयमा समेत छलफल भएको मन्त्री डा. राणाको सचिवालये उल्लेख गरेको छ।

उपराष्ट्रपति सुआन र मन्त्री डा. राणाले जी–७७ र असंलग्न आन्दोलन, सदस्य राष्ट्रका रुपमा नेपाल र भियतनाम विकासशील देशहरुको हित रक्षाका लागि एकमत भएर काम गरिरहेकोसमेत उल्लेख गरेका थिए।