उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालको तीनदिने औपचारिक भ्रमणमा आएकी भियतनामका उपराष्ट्रपति भो थी आन सुआनबीच प्रतिमण्डलस्तरीय भेटवार्ता भएको छ।
आइतबार (८ भदौ) मा उनीहरुबीच भएको छलफलमा दुबै मुलुकमा धार्मिक समानता रहेको र धार्मिक तथा सांस्कृतिक पर्यटनका प्रचुर सम्भावनालगायतका विषय परेका थिए।
परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश अधिकारीका अनुसार, दुई उपराष्ट्रबीच मित्रवत्, न्यानो र सौहार्द रुपमा भेटवार्ता सम्पन्न भएको थियो।
यादव र सुआनले द्विपक्षीय, क्षेत्रीय र अन्तरराष्ट्रिय विषयका बारेमा विचार आदानप्रदान गरेका थिए।
दुई मुलुकबीचको सम्बन्ध मित्रता, सद्भावना र सार्वभौमिकताको सम्मानमा आधारित रहेको बताएका उनीहरुले अन्तरराष्ट्रिय मञ्चमा साझा धारणाका साथ अघि बढ्ने विषयमा कुराकानी गरेका थिए।
मन्त्रालयगत र विभिन्न तहमा भ्रमण आदानप्रदान गर्ने सहमति दुई उपराष्ट्रबीच भएको छ। यसबाहेक दुई मुलुकबीच हवाई उडान सम्बन्ध विस्तारका लागि आपसी छलफल गर्ने विषयमा कुराकानी भएको सहसचिव अधिकारीले बताएका छन्।
‘भियतनाम उच्च आर्थिक बृद्धिदर भएको मुलुक रहेकाले नेपालले त्यहाँबाट सिक्नसक्ने र लगानीको सम्भावनाका विषयमा उहाँहरुबीच छलफल भएको छ’ सहसचिव अधिकारीले भने, ‘यसबाहेक द्विपक्षीय व्यापार, लगानी, डिजिटल प्रविधिलगायत विषयमा र जनस्तरको सम्बन्ध अघि बढाउने विषयमा उहाँहरुबीच कुराकानी भयो।’
उपराष्ट्रपति सुआनको यो भ्रमण भियतनामका तर्फबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो।
यो वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठपनि हो। त्यहीकारण यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ।
उपराष्ट्रपति भो थी आन सुआन उपराष्ट्रपति यादवको मैत्रिपूर्ण निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि शनिबार काठमाडौँ आइपुगेकी हुन्।
उपराष्ट्रपति सुआन भ्रमण सम्पन्न गरी भदौ ९ गते स्वदेश फिर्ता हुनुहुने तालिका छ।